उपल्लो डोल्पाका सम्पर्क कार्यालय दुनैमा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपल्लो डोल्पाका सम्पर्क कार्यालय दुनैमा

‘गाउँमा सरकार आयो भन्नुमात्र भयो, हाम्रा दुःख झन् बढेका छन्’
हरि गौतम

रुकुम पश्चिम — डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–७ का छेन्दु लामा २०७७ भदौमा उपचार छुटका लागि सिफारिस लिन गाउँपालिकाको केन्द्र साल्दाङ पुगे । तर, त्यहाँ कार्यालय सुनसान थियो । कर्मचारी खोज्दै उनी दुई दिन पैदल हिँडेर दुनै पुगे । ‘गाउँमै एकछिनमा हुने कामका लागि दुनैसम्म पुग्नुपर्‍यो,’ उनले गुनासो गरे, ‘गाउँमा सरकार आयो भन्नुमात्र भयो, हाम्रा दुःख झन् बढेका छन् ।’

फाइल तस्बिर

संघीयताले गाउँमा अधिकार पुर्‍याए पनि सामान्य सिफारिसका लागि दुनै धाउनुपर्ने बाध्यता भोग्ने छेन्दु एक्लो होइनन् । उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्कातान्साङ र डोल्पोबुद्ध तथा दक्षिणी भेगमा पर्ने काइके गाउँपालिकाका कर्मचारी दुनैमै बस्दा सर्वसाधारणले ठूलो सास्ती खेपिरहेका छन् । तीनवटै गाउँपालिकाको केन्द्र गाउँमै रहे पनि सम्पर्क कार्यालय भने दुनैमा छन् । कर्मचारीहरू विभिन्न बहाना बनाएर दुनैमा बस्ने गरेका छन् ।

काइके गाउँपालिका–३ का बलबहादुर बुढा एक साताअघि गत आर्थिक वर्षको निर्माण व्यवसायको नवीकरणका लागि दुनैस्थित सम्पर्क कार्यालयमा पुगे । २ नम्बर वडामा रहेको गाउँ कार्यपालिकाको कार्यालयबाट १५ मिनेटमै हुने कामका लागि उनी एक दिन हिँडेर दुनै पुगेका हुन् । ‘कर्मचारी गाउँमै बसिदिएको भए जनतालाई यति सास्ती हुने थिएन,’ उनी भन्छन्, ‘तर कर्मचारीले सुविधा खोज्दा जनतालाई सास्ती भएको छ ।’

उपल्लो डोल्पाका डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिका पुग्न २ दिन र शे–फोक्सुन्डो गाउँपालिका पुग्न ४ दिन हिँड्नुपर्छ । तीनवटै गाउँपालिकाका सम्पर्क कार्यालय दुनैमा छन् । स्थानीय तह सञ्चालनमा आएदेखि नै कार्यालय प्रमुखसहित अन्य कर्मचारी कहिलेकाहीँ गाउँमा जाने गरे पनि अधिकांश समय दुनैमै बस्छन् । जनप्रतिनिधिसमेत प्रायः दुनैमै भेटिन्छन् । करिब ६ घण्टा दूरीको काइके गाउँपालिकाको पनि दुनैमा सम्पर्क कार्यालय छ । ‘गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू कहिलेकसो मात्र केन्द्रमा पुग्छन्, नत्र काम यतैबाट हुन्छ,’ छार्काताङसोङका सोनाम गुरुङले भने, ‘भन्दाखेरि स्थानीय सरकार भनिन्छ, जनतालाई भने सरकार खोज्दै दुनै पुग्नुपर्ने बाध्यता छ ।’

कतिपय गाउँपालिकाका वडा कार्यालयसमेत गाउँमा सञ्चालनमा छैनन् । कर्मचारीहरू दुनैमा बस्दा जन्म, मृत्यु, विवाहजस्ता पन्जीकरणका कामका लागि दुनैमा पुग्नुपर्ने बाध्यता रहेको गुरुङले बताए । उनका अनुसार वडाका सम्पर्क कार्यालय नरहे पनि गाउँपालिकाको सम्पर्क कार्यालयबाटै वडा सचिवले काम गर्ने गरेका छन् ।

चारवटै गाउँपालिका सडक सञ्जालमा जोडिएका छैनन् । त्यहाँ हिउँदमा अधिक चिसो हुन्छ । इन्टरनेटको पहुँच पनि कमजोर छ । यसैलाई कारण देखाएर कर्माचारी र जनप्रतिनिधिहरू दुनैमा बस्ने गरेका हुन् । कर्मचारीले इन्टरनेटको गति सुस्त भएकाले काम गर्न असहज हुने गरेको बताउने गरेका छन् । यद्यपि करिब २ वर्षअघि नेपाल सरकारले सबै स्थानीय तह, वडा कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरेको छ । पत्रकार गुरुङका अनुसार गाउँमा पनि इन्टरनेटको गति सामान्य हुने गरेको छ ।

कतिपय उपल्लो डोल्पावासी हिउँदमा दुनै, नेपालगन्ज, सुर्खेत, काठमाडौंसम्म पुग्छन् । कमजोर आर्थिक अवस्था भएका स्थानीयवासी भने गाउँमै बस्छन् । स्थानीयवासीसमेत रहेका पत्रकार बबिकिशोर गुरुङ निमुखा जनताको सोझोपनको फाइदा उठाएर दुनैमा हुनुपर्ने कार्यालयहरू दुनैबाट चलिरहेका बताउँछन् । ‘सम्पर्क कार्यालयजति दुनैमा छन्, वर्षको आधा समय त जनताले कर्मचारी र जनप्रतिनिधि देख्नै पाउँदैनन्,’ उनी भन्छन्, ‘केही काम पर्‍यो भने दुई–तीन दिन हिँडेर दुनैमै पुग्नुपर्छ ।’ योजना अनुगमन र फिल्डमा पुग्नैपर्ने कामका लागि मात्र कर्मचारीहरू गाउँमा जाने गरेका उनले बताए ।

असार पहिलो साता गाउँमा पुगेको कर्मचारीको टोली अहिले दुनै फर्किसकेको छ । कर्मचारी गाउँमा नबस्नुमा जनप्रतिनिधि पनि उत्तिकै जिम्मेवार छन् । कार्यकारी भूमिका भएका कतिपय जनप्रतिनिधिसमेत व्यापार व्यवसायको सिलसिलामा काठमाडौंमा बस्ने गर्छन् । यसले गर्दा कर्मचारीलाई दुनैमा बस्न सहज हुने गरेको शे–फोक्सुन्डो गाउँपालिकाकी पेमा लामा बताउँछिन् । ‘हामीले चुनाव जिताएर पठाएका नेता नै गाउँमा देखिँदैनन्, अनि कर्मचारी कसरी बसुन्,’ उनले भनिन्, ‘जनप्रतिनिधि कडा भइदिएको भए त यस्तो अवस्था आउँथेन कि ?’

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ चिसो मौसममा कर्मचारी दुनैमा बस्ने गरे पनि अन्य समयमा गाउँमा आउजाउ गर्ने गरेका बताउँछन् । ‘जाडोमा गाउँमा बस्न सक्ने अवस्था भएन, अरू बेला त आवश्यकताका आधारमा कामकाज भइरहेको छ,’ उनले भने, ‘जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखेर पनि जनताको सेवा दिइरहेका छौं ।’ काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना भने जनताको सजिलोका लागि जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखिएको बताउँछन् । नागरिकता, पासपोर्टजस्ता सिफारिसका लागि सदरमुकाममा सम्पर्क कार्यालय राखिएको उनले बताए । ‘कतिपय गाउँपालिकाका जनता दुनैमा बस्छन्, तिनीहरूका लागि पनि सम्पर्क कार्यालय खोल्नु परेको हो,’ उनले भने, ‘पालिकाको भौगोलिक विकटता र चिसोका कारण पनि दुनैमा कार्यालय राख्नु परेको हो ।’

नागरिक समाज डोल्पाका संयोजक शेरबहादुर बुढा स्थानीय जनप्रतिनिधि र कर्मचारीको कारण सर्वसाधारणले दुःख पाइरहेका बताउँछन् ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

महँगियो यार्चा

विगतमा बढीमा ५ सय पर्ने एउटा यार्चाले पायो ११ सयसम्म मूल्य
हरि गौतम

रुकुम पूर्व — बहुमूल्य जडीबुटी यार्चा यस वर्ष विगतका वर्षभन्दा दोब्बर मूल्यमा बिक्री भएको पाइएको छ । विगतमा बढी मूल्य हुँदा पनि ५ सय रुपैयाँमा एउटा यार्चा पाइन्थ्यो ।

यसपालि भने राम्रो गुणस्तरको एउटा यार्चाले १ हजार १ सय रुपैयाँसम्म मूल्य पाएको छ । कमसल यार्चा पनि डेढ सय रुपैयाँसम्ममा बिक्री भएको मैकोटका विकास पुन मगरले बताए ।

‘विगतका वर्षको तुलनामा यस वर्ष झन्डै दुई गुणा बढी नै मूल्य पाइयो,’ उनले भने, ‘यार्चाको गुणस्तरअनुसारको मूल्य पाइएपछि संकलनकर्ता पनि खुसी छौं ।’ पुथाउत्तरगंगा गाउँपालिका–१ र २ का विभिन्न लेकाली क्षेत्रमा यार्चा पाइन्छ । हरेक वर्षको जेठ दोस्रो सातादेखि असार पहिलो सातासम्म यार्चा संकलन हुन्छ । यस वर्ष झन्डै एक महिना यार्चा संकलन भएको थियो । सुरुमा कोरोना महामारीका कारण यार्चा संकलनका लागि बुकी र पाटन खुला नगर्ने निर्णय भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा पुथाउत्तरगंगा गाउँपालिका दुवैले यार्चा संकलन गर्दा संक्रमण फैलने भन्दै यार्चा टिप्नका लागि बुकी खुला नगर्ने निर्णय गरेका थिए । पछि स्थानीयको दबाबपछि बुकी खुलाइएको थियो । र, स्थानीयले यार्चा संकलन गरेका थिए । यस वर्ष यार्चा संकलन गरेका प्राय:ले संकलन गरेकै बेला बिक्री गरेका छन् ।

मध्यम खालको यार्चा ४ सय ५० देखि ६ सय रुपैयाँमा बिक्री भएको अर्का स्थानीय रजिन बुढा मगरले जानकारी दिए । ‘यस वर्ष मात्रात्मक रूपमा यार्चा कम पाइयो भने मूल्य खोजे जस्तै पाइयो,’ बुढाले भने । गाउँमा किलोका हिसाबमा भन्दा गोटाकै रूपमा बिक्री भयो । तर किलोका रूपमा बिक्री हुँदा ९ देखि १८ लाख रुपैयाँमा बिक्री हुने अनुमान छ ।

कोरोनाकै कारण यार्चा संकलनका लागि यस वर्ष गाउँबाहिरका मान्छे आएनन् । स्थानीयले मात्रै यार्चा संकलन गरे । हरेक घरबाट यार्चा संकलन गर्नेहरू बुकी पुगेका थिए । यार्चाबाट कम आम्दानी गर्नेले पनि ५० हजार रुपैयाँसम्म र धेरै गर्नेले ५ लाख रुपैयाँभन्दा बढी कमाएको बताइएको छ । कोरोना महामारीबाट बचाउन भन्दै यो सिजनमा पहिल्यैदेखि गर्दै आएको भन्दा फरक तरिका अपनाएर यार्चा संकलन गरिएको थियो ।

प्रकाशित : श्रावण १३, २०७८ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×