कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रगति गरेका छौं : प्रदेश सरकार

६५.५२ प्रतिशत बजेट खर्च
५० करोड राजस्व संकलन
 २१ किमि सडक कालोपत्रे
कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा कोभिड–१९ को महामारीका बाबजुदसमेत विगतभन्दा राम्रो प्रगति गरेको जनाएको छ । बजेट कार्यान्वयन, राजस्व संकलन, पूर्वाधार निर्माण आदिमा सन्तोषजनक प्रगति भएको सरकारको भनाइ छ ।

प्रगति गरेका छौं : प्रदेश सरकार

प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा करिब ५० करोड रुपैयाँ संकलन भएको छ । बजेट खर्च पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ दशमलब ३३ प्रतिशतले बढी भएको सरकारको भनाइ छ ।

गत आर्थिक वर्षको कुल ३३ अर्ब ७४ करोड बजेटमध्ये चालुतर्फ ८ अर्ब ५१ करोड र पुँजीगततर्फ १३ अर्ब ५९ करोड गरी २२ अर्ब १० करोड (६५ दशमलब ५२ प्रतिशत) खर्च भएको छ । ‘प्रतिकुल अवस्थाको बाबजुदसमेत कार्यसम्पादनको प्रभावकारिता र बजेट कार्यान्वयनको प्रगति क्रमशः बढिरहेको छ,’ प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्रदेश सरकारका जिम्मेवार सबै निकायको सक्रियताले हामीले राम्रो उपलब्धि हासिल गर्न सकेका हौं ।’

प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे र १ सय १३ किलोमिटर सडक ग्राभेल गरेको छ । त्यस्तै, ७ सय ५८ किलोमिटर कच्ची सडक निर्माण, ११ वटा झोलुङ्गे पुल र ७ वटा सडक पुल निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७ सय ६७ घर निर्माण भएका छन् ।

२ हजार १ सय ४५ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध हुनुका साथै ५ हजार ७ सय १० घरधुरीमा स्वच्छ खानेपानी सुविधा पुर्‍याइएको सरकारको भनाइ छ ।

कारोना प्रतिकार्यमा पनि राम्रो काम गरेको सरकारको भनाइ छ । प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै विशेषज्ञ चिकित्सकलगायत स्वास्थ्यकर्मी भर्ना गरी परिचालन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । कृषितर्फ प्रांगारिक खेतीका लागि ४० गाउँपालिकामा नक्सांकन गरिएको, कर्णालीको दूध काठमाडौं निर्यात गर्ने व्यवस्था मिलाइएको, एक लाख ओखरका बिरुवा आयात गरी किसानलाई वितरण गरिएको सरकारले जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न प्रदेश सरकारका मन्त्री र कर्मचारीलाई निर्देशन दिएका थिए ।

प्रकाशित : श्रावण १३, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?