कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

न विमानस्थल विस्तार, न जग्गा फुकुवा

प्रदेश सरकारको ५० करोड र संघीय सरकारको ५१ करोड रूपैयाँ फ्रिज
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको काम अझै सुरु हुन सकेको छैन् । विमानस्थल विस्तारको काम अघि नभएपछि रोक्का गरिएको जग्गा फुकुवा गरिदिन स्थानीयले माग गरेका छन् । 

न विमानस्थल विस्तार, न जग्गा फुकुवा

प्रशासनले गत वर्ष पुस ९ गतेदेखि विमानस्थल विस्तारका लागि अधिग्रहण गर्न स्थानीयको जग्गा रोक्का गरी राखेको थियो । गत वर्ष पुसमा नागरिक उड्डयन प्राधिकरण कार्यालयले विमानस्थल विस्तारका लागि लगत संकलन गर्न भन्दै प्रभावित क्षेत्रका स्थानीयको घर, जग्गालगायत संरचना १५ दिनका लागि रोक्का गर्न नगरपालिका, मालपोत र नापी कार्यालयलाई पत्र पठाएको थियो । तर जग्गा रोक्का भएको ८ महिना बित्दासमेत स्थानीयको जग्गा फुकुवा नभएको भन्दै सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिले आपत्ति जनाएको छ । प्राधिकरणले ६ सय मिटर उत्तर, ४ सय मिटर दक्षिण, २५ मिटर पूर्व र २ सय मिटर पश्चिम क्षेत्रमा लगत संकलनको काम हुने भएकाले नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न, हक हस्तान्तरण गर्न, धितो बन्धक लगायतका कुनै पनि कार्य सिफारिस नगर्न पत्राचार गरेको थियो ।

नागरिक सरोकार समितिले आइतबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भेटेर यथाशीघ्र जग्गा फुकुवा गर्न माग गरेको छ । समितिका संयोजक टीकाराम आचार्यले जग्गा फुकुवा नभए कानुनी बाटो खोज्ने बताए । ‘जग्गा बिनासित्ती नै रोक्का गरेर राखिएको छ,’ उनले भने, ‘अहिलेसम्म विस्तारका लागि न कुनै पहल गरिएको छ न त हाम्रो मागको सुनुवाइ भएको छ ।’ उनले विमानस्थलका लागि अहिलेको ठाउँ नै उपयुक्त नभएको भन्दै अर्को विकल्प खोज्न आफूहरूले बारम्बार माग गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले मुख्यमन्त्री, विमानस्थल प्रमुखसँग यसबारे परामर्श गरिने बताए । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिकाको १०, ११ र १२ वडाका २ सय ७६ घर, ३/३ वटा सरकारी र निजी विद्यालय, स्वास्थ्य चौकीलगायत संरचना मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

गत वर्ष फागुन २८ गते बसेको बैठकले विमानस्थलको उत्तर र पश्चिमतर्फ मात्रै विमानस्थल विस्तार गर्ने र एक महिनाभित्र लगत संकलनको लागि सूचना निकालेर काम अघि बढाउने निर्णय गरेको थियो । तर काम नहुँदा यो वर्ष प्रदेश सरकारको ५० करोड र संघीय सरकारको ५१ करोड रुपैयाँ बजेट पनि फ्रिज भएको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा सुर्खेत र भरतपुर विमानस्थल विस्तारका लागि डेढ अर्ब रुपैयाँ छुट्याएको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीका अनुसार अन्तिम नक्सामा उत्तरतर्फ ५ सय १० मिटर विस्तार गर्ने गरी अन्तिम नक्सा तयार भएको छ । ‘अलिअलि दुई/चार मिटर दायाँ–बायाँ हुन सक्छ,’ उनले भने, ‘एयरपोर्टको पश्चिमतर्फको बाटोभन्दा पश्चिम नजाने गरी उत्तरतर्फ विस्तार गर्ने निर्णय भएको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७६ भदौदेखि विमानस्थल विस्तारको प्रक्रिया सुरु गरे पनि स्थानीयले विरोध गरेपछि अँझै काम सुरु हुन नसकेको हो । २०२२ मा १ हजार ४० मिटर क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको थियो । उक्त विमानस्थललाई करिब ७ वर्षअघि पहिलोपटक विस्तार गरी १ हजार २ सय ५५ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइएको थियो । अहिले विमानस्थलमा एटीआर–४२ तथा साना सिट क्षमता भएका जहाजले मात्रै उडान भर्न सक्छन् । अहिले ठूला जहाज पनि अवतरण गर्न मिल्ने गरी दोस्रोपटक विस्तारको तयारी थालिएको हो ।

प्रकाशित : श्रावण १३, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?