कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन महिनापछि अस्पताल संक्रमितमुक्त

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पताल ९७ दिनपछि कोरोना संक्रमितमुक्त बनेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्ला अस्पतालमा गत वैशाख ४ गतेदेखि संक्रमितलाई भर्ना गरिएको थियो । 

अहिलेसम्म अस्पतालमा २ सय ३२ जना कोरोना संक्रमितको उपचार भएको छ । जसमध्ये २७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार केहीलाई जिल्लाबाहिर रेफर गरिएकामा अधिकांश निको भई घर फर्किएका छन् । जिल्लाभरिमा ३३ जनाको मृत्यु भएको उनले बताए ।

अस्पतालमा कुनै समय एक दिनमै १२ जना बढी कोभिडका बिरामीहरू भर्ना हुने गरेका थिए । कोरोना फैलिन थालेपछि रोकथाम र उपचारका लागि यसलाई कोभिड विशेष अस्पताल बनाइएको थियो । कुनै बेला एकै पटकमा अस्पतालमा ४७ संक्रमितको उपचार गर्नुपर्ने अवस्था रहेकामा अहिले भने शून्यमा झरेको रावलले बताए । तेस्रो लहरलाई लक्षित गरी केही समय अस्पताललाई कोभिड विशेष अस्पताल नै रहन दिइनेछ ।

अस्पतालले राप्ती समाज अस्पताललाई भाडामा लिएर अन्य सेवा प्रवाह सञ्चालन गरिरहेको हो । स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिले जिल्लामा ७८ जना सक्रिय संक्रमित छन् । ‘अझै पनि संक्रमणको जोखिम छ,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले भने, ‘त्यसैले साउनसम्मै कोभिड अस्पताल राखिनेछ ।’ अरू बिरामी थपिन पनि सक्ने सम्भावना बढ्दै गएकाले कोभिड अस्पताललाई अहिल्यै नहटाइने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १२, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?