१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बिरामीलाई सास्ती

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पतालको आइसोलेसन खाली छ । सबै संक्रमित निको भएर डिस्चार्ज भइसके । तर जिल्ला अस्पतालमा आउने बिरामीले भने सास्ती भोगिरहेका छन् ।

टिकट काट्ने, स्वास्थ्य परीक्षण गर्ने, बिल काट्ने, ल्याब परीक्षणलगायत काममा बिरामीले सास्ती भोगिरहेका हुन् । कोरोना संक्रमण उच्च रहेको बेला अस्पतालले भाडामा लिएको अर्को भवनबाट नियमित सेवा दिइरहेको थियो । जिल्ला अस्पताललाई कोरोना अस्पताल बनाएर राप्ती समाज अस्पताललाई भाडामा लिएर अन्य सेवा दिइरहेको थियो ।

अहिले पनि भाडाकै भवनबाट नियमित सेवा दिइरहेको भए पनि बिरामीले सास्ती भोगिरहेको गुनासो गरेका छन् । ‘एक ठाउँमा गएर टिकट काट्यो, अर्को ठाउँमा गएर डाक्टरलाई देखायो, फेरि बिल काट्नुपर्ने बाध्यता छ,’ एक बिरामीका आफन्त रमेश गिरीले भने, ‘यसले बिरामीलाई थप समस्या बनाइरहेको छ ।’ उनले समस्या भएर आएका बिरामी तलमाथि गर्नुपर्दा थप बिरामी बन्नुपरेको बताए । कोरोनाका बिरामी नभएकाले जिल्ला अस्पतालबाटै सेवा प्रवाह सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

यसबाट बिरामीलाई त असजिलो भएको छ नै उपचारमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीले पनि समस्या भोगिरहेका छन् । ‘तलमाथि गर्नुपर्दा केके नपुगेको जस्तो लाग्छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘कोरोना संक्रमणको अवस्था सामान्य भएकाले अब जिल्ला अस्पतालबाटै सेवा दिए राम्रो हुन्थ्यो ।’

मुसीकोट नगरपालिकाले कोरोना संक्रमणको उपचार सजिलो बनाउने राप्ती समाज अस्पताललाई भाडामा लिएर अन्य उपचार त्यहीबाट दिने व्यवस्था मिलाएको थियो । महिनाको २ लाख २५ हजार रुपैयाँ भाडा तिर्ने गरी उक्त अस्पताल भाडामा लिइएको हो ।एक साताअघि उक्त अस्पताललाई भाडामा नलिने गरी चिठी लेखे पनि अस्पताल व्यवस्थापनले निर्णय नदिएको नगरप्रमुख देवीलाल गौतमले बताए । उनका अनुसार अस्पताल व्यवस्थापनले निर्णय नदिँदा जिल्ला अस्पतालबाटै उपचार सेवा सञ्चालन गर्न समस्या भएको छ ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले साउन महिनाभरि कोभिड–१९ र ननकोभिडको उपचार छुट्टाछुट्टै हुने बताए । उनका अनुसार कोभिड फेरि बढ्ने सक्ने भएकाले पनि तत्काले एउटै अस्पतालबाट सेवा प्रवाह गर्न नसकिने अवस्था छ । ‘कोरोना संक्रमण फेरि बढेपछि समस्या होला भनेर तत्कालै बनेको संरचना नहटाउने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ११, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?