१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वैकल्पिक माध्यमबाट पठनपाठन

‘एक शिक्षकले कम्तीमा १५ विद्यार्थीलाई जुम वा म्यासेन्जरमार्फत पढाइरहेका छन्’
विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकाले वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय खोल्न समस्या हुने भन्दै वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरिएको हो । 

वैकल्पिक माध्यमबाट पठनपाठन

विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराएको ‘पाठशाला सिम’ मार्फत पठनपाठन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । मोबाइलमा डाटा प्याक लिन लगाएर विद्यार्थीलाई पढाउन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर ओलीले बताए ।

‘तेस्रो लहरको संक्रमणको जोखिम पनि बढेको देखियो, जसका कारण अहिले नै विद्यालय खोल्न सम्भव भएन,’ उनले भने, ‘अहिले सामुदायिक विद्यालयका बालबालिकाले वैकल्पिक माध्यमबाट नियमित अध्ययन गरिरहेका छन् ।’ उनका अनुसार गाउँपालिकाले १५ विद्यालयमा अध्ययनरत ४ देखि १० सम्मका विद्यार्थीका लागि झन्डै १ हजार सिम वितरण गरेको छ । गाउँपालिकाका अनुसार टेलिकमले उपलब्ध गराएको उक्त सिम बिहान ५ देखि बेलुकी ५ बजेसम्म मात्र सक्रिय हुन्छ ।

‘शिक्षकले दैनिक कार्ययोजना बनाएर विद्यार्थीलाई भिडियोमार्फत सिकाइरहेका छन्,’ शिक्षा शाखा प्रमुख ओलीले भने, ‘एक शिक्षकले कम्तीमा १५ विद्यार्थीलाई जुम वा म्यासेन्जरमार्फत कुराकानी र अन्तर्क्रिया गरी पढाइरहेका छन् ।’ उनले गाउँपालिकाका अधिकांश ठाउँमा इन्टरनेट सुविधा नभएपछि पठनपाठनका लागि सिमको व्यवस्था मिलाइएको बताए । अनलाइन सम्भव नभए शिक्षकले फोन गरेरै भए पनि विद्यार्थीलाई सिकाउने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । भ्वाइस तथा डाटा प्याक किन्नका लागि गाउँपालिकाले ४० विद्यालयलाई १५ लाख ५८ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अझै केही समय लाग्ने भएपछि वैकल्पिक पठनपाठन सुरु गरिएको जनता मावि गुराँसेका प्रधानाध्यापक लालसिं ओलीले बताए । ‘लामो समयदेखि पढ्न नपाएका विद्यार्थीले फरक तरिकाले सिकिरहेका छन्,’ उनले भने, ‘विद्यार्थीको सिकाइ स्तर पनि बढ्दै गएको छ ।’ उनका अनुसार विद्यालय नखुल्दा अधिकांश बालबालिका घरायसी कामकाजमा व्यस्त भएका थिए ।

टेलिकमले उपलब्ध गराएका सबै सिम एक्टिभ हुन करिब एक साता लाग्ने गाउँपालिकाले जनाएको छ । सबै सिम एक्टिभ भए ४० वटै विद्यालयमा अनलाइन कक्षा सञ्चालन गरिने शिक्षा शाखा प्रमुख ओलीले बताए । उनका अनुसार २ निजी विद्यालयले पनि वैकल्पिक कक्षा सञ्चालनको तयारी गरेका छन् । गाउँपालिकामा झन्डै ५ हजार बालबालिकाले विद्यालय तह अध्ययन गरिरहेको उनले जानकारी दिए ।

पाठशाला सिममा ९ जीबी इन्टरनेट डाटाको सुविधा रहेको सरस्वती आधारभूत विद्यालयका प्रअ कालीबहादुर ओलीले बताए । उनका अनुसार विद्यालयले दुई सातादेखि फरक तरिकाले पठनपाठन गराइरहेको छ । ‘बिहान एउटै कक्षाका विद्यार्थीलाई फोन गरेर एकै ठाउँमा जम्मा हुन लगाउँछौं,’ उनले भने ।

प्रकाशित : श्रावण ११, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?