सडकमा जताततै पहिरो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा जताततै पहिरो

बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता
विप्लव महर्जन

सल्यान — वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा जताततै पहिरो खसेर सडक हिलाम्मे भएपछि यात्रुलाई सास्ती भएको छ । भत्किएका सडकको मर्मत नहुँदा यात्रुहरू हिँडेरै गन्तव्यमा जान बाध्य छन् । 

हिलाम्य बनेको सल्यानको सल्लीबजार–चौरजहारी सडक । तस्बिर : विप्लव/कान्तिपुर

कच्ची सडकको स्तरोन्नतिमा स्थानीय तहले बेवास्ता गर्दा यात्रुलाई हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता भएको हो । जिल्लाका कुनै पनि ग्रामीण सडक कालोपत्रे नहुँदा वर्षौंदेखि सास्ती भोग्दै आइरहेको स्थानीय कमल केसीले बताए ।

‘जहिले पनि नयाँ सडक मात्र खुल्छन्,’ उनले भने, ‘पुराना सडक कहिल्यै स्तरोन्नति हुँदैनन् ।’ उनले वर्षामा भत्किएका सडक मर्मतका नाममा करोडौं रकम खर्च हुने गरे पनि दिगो समाधान नखोजिएको बताए । उनका अनुसार वर्षा र पहिरोका कारण यहाँको मुख्य राप्ती लोकमार्गमा पनि दैनिकजसो यातायात सेवा अवरुद्ध हुने गरेको छ । १८ वर्षअघि सल्लीबजारबाट चौरजहारीसम्मको ४१ किलोमिटर सडक निर्माण गरिए पनि स्तरोन्नति नहुँदा यात्रा असहज बनेको बन्गाडकुपिण्डे नगरपालिका–५ नाथेखोलाका रिमबहादुर बुढाले बताए । ‘सधैं हिलाम्मे सडकमा यात्रा गर्नुपर्छ,’ उनले भने, ‘धेरै वर्षा भए यात्रु आफैंले फसेका गाडी निकालेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ सडककै कारण कोही बिरामी भए समयमै अस्पताल पुर्‍याउन समस्या हुने उनले बताए ।

वर्षाका कारण अहिले बन्गाडकुपिण्डे नगरपालिकाको बाँमे, निगालचुला, घाँजरीपिपलको मैदु, माझकाँडा मूलखोलालगायत ठाउँमा जाने कच्ची सडकको अवस्था पनि दयनीय भएको स्थानीय हिमबहादुर घर्तीले बताए । संघ, प्रदेश र स्थानीय सरकारले प्रत्येक वर्ष मर्मत गरे पनि सधैं सडकमा खाल्डाखुल्डी हुने गरेको उनको भनाइ छ । ‘प्रत्येक वर्ष वर्षामा भोग्नुपर्ने सास्तीको कुरै नगरौं,’ उनले भने, ‘सडकमा साना सवारीसाधन धकेलेर गुडाउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार दम्दबालीबाट सल्यान सदरमुकाम आउन ३ घण्टाको पैदल बाटो भए पनि गाडीबाट आउँदा ६ घण्टा लाग्ने गरेको छ । ठाउँठाउँमा फसेका गाडीलाई धकेलेर निकाल्नुपर्ने बाध्यता भएको उनले बताए ।

सदरमुकाम खलंगाबाट बाग्चौर नगरपालिका–१२ बाफुखोला जाने सडक पनि हिलाम्मे हुँदा दुई महिनादेखि बन्द भएको स्थानीय दीपेन्द्र ओलीले बताए । उनले सडक बन्द हुँदा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ । ‘सडक बन्द भएपछि कृषिजन्य उत्पादनले बजार पाएको छैन,’ उनले भने, ‘दैनिक उपभोग्य सामान पिठ्युँमा बोकेर ओसार्नुपर्ने बाध्यता छ ।’ उनले सडककै कारण आफूले उत्पादन गरेको झन्डै १५ क्विन्टल आलु कुहिन थालेको गुनासो गरे ।

अधिकांश ग्रामीण सडकमा नाली नहुँदा गाडी चलाउन समस्या भएको चालक नवीन रोकाले बताए । ‘हिलोमा गाडी चिप्लिएर दुर्घटना हुने खतरा धेरै हुन्छ,’ उनले भने, ‘गाडी बिग्रिँदा खर्च बढेको छ, हामीले पनि ठूलो दुःख पाइरहेका छौं ।’ स्थानीय तहले सडक खन्न मात्र जोड दिँदा समस्या भएको उनको भनाइ छ ।

पर्याप्त बजेट नहुँदा सडक स्तरोन्नतिमा समस्या भएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘बजेटले भ्याएसम्म सडक मर्मत र स्तरोन्नतिमा जोड दिइरहेका छौं, तर मर्मत गरेको बजेटले अर्को बर्खा धान्न नसक्ने अवस्था छ,’ उनले भने, ‘सडकहरू कालोपत्रे गर्न बारम्बार प्रदेश र संघीय सरकारसँग आग्रह गरे पनि बेवास्ता भइरहेको छ ।’

प्रकाशित : श्रावण १०, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

हेलिकप्टरबाट सुत्केरीको उद्धार 

विप्लव महर्जन

सल्यान — दुई दिनअघिमात्रै जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गरेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शारदा नगरपालिका २ डाँडागाउँ बस्दै आएकी २० वर्षीया अर्चनाकुमारी यादवको शरीरमा एक्कासी अक्सिजनको कमी देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार कार्यविधि २०७५ अनुसार यादवलाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डा. भीमकान्त जैसीले बताए । कोरोना परीक्षण गर्दा नेगेटिभ आएकाले उनलाई फोक्सोसम्बन्धी रोग हुनसक्ने उनले जानकारी गराए ।

चोन्ना गाउँपालिका १ महोत्तरीकी यादवका श्रीमान् त्रिजमावि लुहापिङ्गमा पढाउँदै आएकाले उनी श्रीमानसँग सल्यान बस्दै आएकी थिइन् । जिल्ला अस्पतालमा आईसीयु र भेन्टिलेटरसमेत नभएकाले बाहिर पठाउनु परेको अस्पतालका ईन्चार्ज डा. जैसीले जानकारी गराए । सुत्केरी महिला यादवको अवस्था जटिल भएको र पर्याप्त स्रोत साधन नभएकाले सबैको सहकार्यमा कार्यविधि नुसार नै हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन् ।

प्रकाशित : श्रावण ७, २०७८ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×