कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सानैमा घरमूलीको बोझ

नगरपालिकाद्वारा ६ सय ३५ बालबालिकालाई प्रतिव्यक्ति ३ हजार रूपैयाँका दरले खाद्यान्न सहयोग
तुलाराम पाण्डे

कालीकोट — खाडाचक्र–२ धैनेडीकी १६ वर्षीया आरती दमाईलाई अपांगता भएका तीन भाइबहिनी स्याहारसुसार र लालनपालनको बोझ छ । दमका बिरामी ४३ वर्षीय उनका बाबु हरसिंगे चार वर्ष पहिले बिते । आमा जसुको दुई वर्षअघि निधन भयो । उनीहरूका चार छोराछोरीमध्ये माहिली छोरी आरतीबाहेक एक छोरी र दुई छोरा अपांगता छ ।

सानैमा घरमूलीको बोझ

खेतपाखोको उब्जनीले एक महिना पनि खान नपुग्ने आरतीले मागेरै भाइबहिनी पाल्नुपर्ने बाध्यता छ । उनकी १७ वर्षीया दिदी आम्पुरा सुस्त मनस्थितिकी छन् । उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । उनका १३ वर्षीय भाइ गज दमाई र ७ वर्षीय भरिका पनि हातखुट्टा चल्दैनन् । ‘बुबाआमा बितेपछि मैले साह्रै दुःख पाए,’ आरतीले भनिन्, ‘तीन जना अपांग भाइबहिनीको स्याहार गर्नुपर्छ ।’ उनले घरमा खाना नहुँदा कैयौं छाक भोकै सुतेको सुनाइन् । उनका अनुसार दिदी आम्पुरा र जेठो भाइ गजको अपांग परिचयपत्र बनाए पनि कान्छो भाइको परिचयपत्र बनेको छैन । दिदी २ वर्ष पहिले दुर्व्यवहारमा पनि परेकी थिइन् ।

शुभकालिका–४ की १७ वर्षीया अनिता शाहीलाई एक बहिनी र एक भाइको लालनपालन गर्ने जिम्मेवारी छ । उनकी आमा मनकलालाई गाउँकै मनोज सुनारले दुई वर्षअघि भगाएर भारत लगेपछि बुबा तिलबहादुर शाहीले पनि दोस्रो विवाह गरे । आमाबुबा दुवै भागेपछि अनितालाई १० वर्षीया बहिनी मीना र ७ वर्षीय भाइ सुनिलको रेखदेख र लालनपालनसहितको सम्पूर्ण जिम्मेवारी छ । उनी महादेव माविमा कक्षा १० मा अध्ययनरत छिन् ।

खेतपाखो पनि बुबाले मात बन्धकीमा बेचेकाले छाक टार्न अरूको काम गरेर भाइबहिनी पाल्नुपर्ने बाध्यता भएको उनले बताइन् । बहिनी मीना ४ कक्षा र भाइ सुनिललाई स्थानीय भवानी आधारभूत विद्यालय ठानाचौथामा १ कक्षामा भर्ना गरेर जसोतसो पढाइरहेको उनले बताइन् ।

गाउँमा हुने विकास निर्माणका काममा मजदुरी गरेर उनले भाइबहिनीको लालनपालन गरिरहेको सुनाइन् । ‘आमाबुबा दुवैले मति (बुद्धि) बिगारे,’ उनले भनिन्, ‘हाम्रो त बिचल्ली छ, घरमूलीको सबै बोझ मकन (मलाई) छ ।’ उनले घरमा भाइबहिनीको स्याहार सुसार गर्ने, अन्नको जोहो गर्ने, भाइबहिनीलाई लत्ताकपडा जुटाउनुपर्ने बाध्यता भएको गुनासो गरिन् ।

तिलागुफा–८ ओखरभित्ताका १७ वर्षीया धर्मराज न्यौपाने पनि १४ वर्षीय भाइ खेमराजको अभिभाभावक हुनु परेको छ । १३ वर्षको उमेरमा बुबाआमा गुमाएका धर्मराजले भाइको स्याहार गर्दै आफूले पनि एसईई पास गरेका छन् । उनका भाइ खेमराज पनि नैनेलदेव मावि ओखरभित्तामा ७ कक्षामा पढ्छन् ।

आरती, अनिता र धर्मराज मात्र होइन, कालीकोटका करिब २ सय बालबालिकालाई घरमूलीको बोझ छ । सशस्त्र द्वन्द्व र अन्य कारण आमाबाबु गुमाएका बालबालिकालाई शिक्षा र संरक्षणको खाँचो रहेको अधिकारकर्मी बाले विश्वकर्माले बताए । कालीकोटको तिलागुफा नगरपालिकामा २३ र शुभकालिका गाउँपालिकामा २१ गरी ४४ बालबालिकाका आमाबाबु दुवै छैनन् । आमा वा बाबुमध्ये एक नभएका बालबालिकाको संख्या तिलागुफामा ९२ र शुभकालिकामा ७० जना छ । जिल्लाभरि ५ सय ७० बालिका र ६ सय १३ बालक गरी जम्मा १ हजार १ सय ८३ बालबालिका जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्यांक छ ।

यस्तै, शुभकालिका–४ का मनोज सुनारले स्थानीय तिलबहादुर शाहीकी पत्नी भगाएपछि ३ परिवार छिन्नभिन्न भएको छ । उनले आमा भगाएपछि शाहीका छोराछोरीको बिचल्ली भयो । तिलबहादुर भर्ताका जोगीराम अधिकारीकी २ छोराछोरीकी आमा भगाएर भारत पसेका हुन् ।

बाबुले सौतेनी आमा लगेपछि मनोजका ३ छोराछोरीको पनि बिचल्ली छ । एक जनाको गल्तीले ८ जना बालबालिका पीडित बनेको शुभकालिकास्थित महिला तथा बालबालिका शाखाकी प्रमुख अमृता अधिकारीले बताइन् । उनका अनुसार मनोजकी पत्नी पनि पीडित छिन् । उनलाई पतिले गरेको अपराधमा गाउँलेले पनि हेला गर्छन् । उनकी पत्नी ममितालाई तीन नाबालक छोराछोरी हुर्काउन पनि कम्ती सकस छैन । ‘ज्याला मजदुरी गरेर छोरा पाल्नुपरेको छ,’ ३५ वर्षीया ममिताले भनिन्, ‘लोग्ने (पति) भएर पनि एक्ली हुनु परेको छ ।’ उनकी ११ वर्षीया छोरी सिर्जना ६ कक्षा, ९ वर्षीय नवीन ४ कक्षा र ५ वर्षीया गोरी १ कक्षामा अध्ययनरत छन् । छोरोछोरीलाई पाल्न र पढाउन समस्या भएको उनले गुनासो गरिन् ।

यसैबीच, आमाबाबु नभएका, अपांगता भएका र अति विपन्न परिवारका बालबालिकालाई खाद्यान्न सहयोगमा खाद्यान्न सहयोग गरिएको छ । शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकाले ६ सय ३५ बालबालिकालाई प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले खाद्यान्न सहयोग गरेको हो । पालिकाका अनुसार प्रतिव्यक्ति ३० किलो चामल, ३ किलो दाल, ३ लिटर तेल र २ किलो नुन वितरण गरिएको हो ।

प्रकाशित : श्रावण ९, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?