३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सडक जताततै, गाडी चल्न मुस्किल

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा ७३ वडामध्ये ६० भन्दा बढी वडामा सडक पुगेको छ । हिउँदमा सडक पुगेका सबैतिर सवारीसाधन चल्छन् । तर वर्षामा अधिकांश गाउँका बासिन्दालाई पैदल हिँड्नुपर्ने बाध्यता छ ।

सडक जताततै, गाडी चल्न मुस्किल

छिटो गरी सुरु भएको वर्षाले मुख्यबाहेकका सबै सडक बिगारेपछि स्थानीयवासी पैदल हिँड्न बाध्य भएका छन् । पानी परेपछि कतै खोलाले सडक काटेको छ भने कतै पहिरोले सडक बगाएको छ । कतै तलबाट खसेको पहिरोले सडक बगाएको छ । अधिकांश सडक सडकमै बग्ने पानीका कारण भत्किएको स्थानीय कमल केसीले बताए । उनका अनुसार झन्डै एक महिनायता दैनिकजसो पानी पर्दा सडकहरू बिग्रिएका हुन् । ‘अब त सडक भन्ने मात्रै भयो,’ उनले भने, ‘घर अगाडि सडक पुगे पनि हामीलाई घण्टौं हिँड्नुपर्ने बाध्यता छ, दैनिक उपभोग्य सामान पिठ्युँमै बोक्नुपर्छ ।’

अर्का यात्रु लालबहादुर विकले ठाउँठाउँमा सडक भत्किँदा एक घण्टाको यात्रा पनि चार घण्टासम्म लम्बिएको बताए । ‘सडक दिगो रूपमा सञ्चालन गर्ने गरी नबनाइँदा दुःख पाइरहेका छौं,’ उनले भने, ‘कतिपय सडक निर्माणकै क्रममा लापरबाही हुँदा पनि हाम्रो यात्रा असहज भएको हो ।’ उनले गाउँभन्दा माथि र तलका सडकले पनि समस्या बनाएको बताए ।

सडकमा नाली नबनाउनु, नाली नबनाए पनि सडकमा बग्ने पानी नतर्काउनुले पनि यात्रुले सास्ती भोगिरहेको मग्माका खड्गबहादुर पुनले बताए । ‘सडक छन्, हिउँदमा त राम्रै हुन्छ,’ उनले भने, ‘तर हरेक वर्षामा सडक बिग्रिएर सडक हुन् कि नाला भन्नुपर्ने अवस्था छ ।’

हरेक वर्ष सडक बिग्रिए पनि मर्मत र स्तरोन्नतिमा स्थानीय तहको ध्यान नगएको यात्रुको गुनासो छ । ‘एक वर्ष बिग्रेको सडक अर्को वर्ष नबिग्रियोस भनेर काम गर्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन,’ उनले भने, ‘वर्षा सकिएपछि मर्मतको नाममा करोडौं रुपैयाँ खर्च हुन्छ, तर फेरि अर्को वर्ष उस्तै हुन्छ ।’ सडक निर्माण, मर्मत र सफाइमा दिगोपना नखोजी ट्य्राक मात्र खोलिँदा समस्या आएको उनले बताए ।

यो वर्ष कति खोलामा पानीको बहाव बढेका कारण पनि सवारी चल्न सकेको छैन । खोलामा सवारी तार्ने व्यवस्था नभएपछि हरेक दिन आधा यात्रा गर्नुपर्ने बाध्यतामा रहेको केसीले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?