२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मुगुमा खाद्यान्नको माग बढ्यो, आपूर्ति घट्यो

राजबहादुर शाही

मुगु — जिल्लामा खाद्यान्नको माग बढे पनि आपूर्ति घटेको छ । खाद्य व्यवस्था व्यापार कम्पनीबाट दैनिक १ सय क्विन्टल बढी खाद्यान्न बिक्री हुने गरे पनि सोहीअनुसार आपूर्ति नहुँदा समस्या भएको द्ध । आपूर्ति दैनिक घट्न थालेपछि उपभोक्ता चिन्तित भएका छन् ।

गत आर्थिक वर्षको खाद्यको स्वीकृत कोटा सकिएको र चालु आर्थिक वर्षको कोटा नआउँदा समस्या भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वर्ष कोटा नै स्वीकृत नहुँदा टेन्डर प्रक्रियामा ढिलाइ भएको हो । कम्पनीको गोदाममा सस्तो र गुणस्तरीय चामल पाइने भएकाले विपन्न उपभोक्ताले खाद्य गोदामबाटै खाद्यान्न लिने गरेका छन् । कोटा निर्धारणमा ढिलाइ भएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार अहिले समगढीस्थित खाद्य गोदाममा २ हजार क्विन्टल चामल मात्र बाँकी छ । ‘दैनिक एक सय क्विन्टल बढी चामल बिक्री हुन्छ,’ उनले भने, ‘तत्काल ढुवानी नभए १५/२० दिनमै गोदाम रित्तिन्छ ।’ गोदाममा छायानाथ राराका १४ वटै वडाका बासिन्दाको भीड बढेपछि वितरणमा समस्या भएको उनले बताए ।

अहिले खाद्यमा १० किलोको बोरा चामल सकिएको छ । नयाँ खाद्य कोटा स्वीकृत हुन कम्तीमा दुई साता लाग्ने कम्पनीले जनाएको छ । ‘वर्षा सुरु हुनुअघि एक सातामा सुर्खेत, नेपालगन्ज र राजापुरबाट दैनिक एक/एकवटा ट्रक आउँथे,’ भामले भने, ‘कोटा सकिएपछि ढुवानी ठप्प छ, बिक्री रोकिएको छैन ।

वर्षाका कारण सडक र हवाई सेवा अवरुद्ध हुँदा बजारमा पनि खाद्यान्न मौज्दात सकिन थालेको स्थानीय व्यापारीले जनाएका छन् । उनीहरूका अनुसार असार तेस्रो सातादेखि नै बजारमा खाद्यान्न अभाव देखिन थालेको थियो । कम्पनीका सोरुकोट, श्रीकोट, पुलु, कालै र रातापानी डिपोमा गोदाम रित्तिएको भामले बताए । उनका अनुसार चामल नभएपछि सदरमुकाम बाहिरका सबै डिपोमा ताला लागेको छ ।

गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुका छेवाङछेजुङ लामाले बताए । ‘घण्टौं हिँडेर डिपोमा चामल लिन गयो, कहिल्यै पाइँदैन,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल लिनुपरेको छ ।’ उनका अनुसार सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा खडेरीका कारण यो वर्ष गहुँ बालीको उत्पादन न्यून भयो । अहिले बजारको चामलको भरमा गुजारा चलाउनुपर्ने बाध्यता भएको उनले बताए ।

खाद्य गोदाममा चामल नभएपछि सोरु गाउँपालिकाको कालै, जिमा, पुरुमुरु, सोरुकोट, नार्थपु भिई र मुगुमकार्मारोङ गाउँपालिकाका १२ वटै बस्तीमा खाद्यान्न अभाव देखिएको छ । सरकारले छिटो नयाँ खाद्य कोटा स्वीकृत गरी चाँडो चामल ढुवानीको व्यवस्था मिलाउनुपर्ने मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?