२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

स्वास्थ्य केन्द्र चार वर्षदेखि डाक्टरविहीन

एलपी देवकोटा

जुम्ला — हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि डाक्टरविहीन बनेको छ । जुम्लामा डाक्टर दरबन्दी भएको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सरकारले डाक्टर पठाउन नसकेको हो । 

स्वास्थ्य केन्द्र चार वर्षदेखि डाक्टरविहीन

दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । केन्द्रमा डाक्टर नहुँदा उपचारमा समस्या भएको स्थानीय कमल केसीले बताए । ‘गाउँमै उपचार नहुँदा सानो स्वास्थ्य समस्याका लागि सास्ती भोग्नुपरेको छ,’ उनले भने, ‘सामान्य अवस्थाका बिरामी पनि खलंगाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान बाध्य छौं ।’

मेडिकल अधिकृतको दरबन्दीका डाक्टर पठाइदिन सरकारसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको कालिकाखेतु स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारीले बताए । उनका अनुसार सिञ्जा क्षेत्रका बिरामीले लामो समयदेखि केन्द्रमा डाक्टर देख्न पाएका छैनन् । ‘डाक्टर भएको भए जटिल खालका बिरामीलाई पनि यहीँ उपचार गर्न सकिन्थ्यो,’ उनले भने, ‘अहिले सामान्य अवस्थाका बिरामीलाई पनि सदरमुकाम खलंगामा पठाउनुपर्ने बाध्यता छ ।’

यसअघि ठूलो शल्यक्रिया गर्ने बिरामी मात्रै सदरमुकाम जानुपरेको उनले जानकारी दिए । स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भइरहेको स्थानीय कृष्ण अधिकारीले बताए । ‘गाउँमा डाक्टर नहुँदा एक दिन हिँडेर उपचारका लागि खलंगा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘केन्द्रमा न औषधि हुन्छ न स्वास्थ्यकर्मी, नाम मात्रैको अस्पताल छ ।’ पहिले डाक्टर हुँदा उदाहरणीय बनेको प्राथमिक स्वास्थ्य केन्द्र अहिले अस्तव्यस्त बनेको उनले बताए ।

स्वास्थ्य केन्द्रमा कार्यरत डा. रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि चिकित्सक दरबन्दी रिक्त छ । दरबन्दीअनुसारको डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको केन्द्रका इन्चार्ज गोविन्द भण्डारीले बताए । ‘डाक्टर हुँदासम्म औषधि पर्याप्त हुन्थ्यो,’ उनले भने, ‘आकस्मिक सेवा २४ सैं घण्टा प्रवाह हुने गरे पनि नाम मात्रैको छ ।’ डाक्टर नहुँदा सेवा प्रवाहमा पनि समस्या भएको उनले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पठाउन संघीय सरकारसँग हारगुहार गर्दा पनि बेवास्ता भएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । ‘कोरोना भाइरसको महामारीका बेला पनि सरकारले डाक्टर पठाएन,’ उनले भने, ‘अझै पनि हामीले पहल गरिरहेका छौं, तर तत्काल डाक्टर आउने छाँटकाँट छैन ।’

प्रकाशित : श्रावण ८, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?