१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यार्चा टिप्न प्रतिबन्ध

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–६, रिउसका ४९ वर्षीय कार्मा लामाले यो वर्ष यार्चा टिप्न पाएनन् । न उनी भोटमा लाग्ने अस्थायी हाटबजार नै गए । उनी मात्र होइन, मुगमकार्मारोङका अधिकांश बासिन्दाले यस वर्ष यार्चा टिप्न पाएनन् । 

यार्चा टिप्न प्रतिबन्ध

स्थानीयले नेपाल–तिब्बत सीमामा लाग्ने अस्थायी हाटबजारमा गई यार्चालगायत जडीबुटी बिक्री गरेर वर्षभरि चाहिने खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने गरेका थिए । तिब्बत सरकारले बर्सेनि नेपाल–चीन सीमाको हयाजिमारमा १५ दिने अस्थायी हाटबजार लगाउने गरेको थियो । तर कोरोना कारण अस्थायी हाटबजार अनिश्चित बनेको छ । यार्चा टिप्न नपाउँदा परिवार पाल्न समस्या भएको लामाले बताए । ‘गाउँपालिकाले यार्चा टिप्न प्रतिबन्ध लगायो,’ उनले भने, ‘चीनमा पनि हाटबजार नलाग्ने भएछ ।’ उनका अनुसार हरेक वर्ष साउन १५ पछि अस्थायी हाट लाग्ने गरेको थियो ।

महामारीका कारण हाटबजार अनिश्चित बनेपछि मुगु, चितै, दाउरा, पुलु, माग्री, मह, कार्तिक, किम्री, डोल्फु, पुलु, रिउसलगायत गाउँबस्तीका बासिन्दा चिन्तित छन् । सन् १९८५ नेपाल–चीन सीमामा हाटबजार लाग्दै आएको महगाउँका छिरिङतोर्चे लामाले बताए । ‘पाटनको यार्चा पाटनमै कुहियो,’ उनले भने, ‘चौंरी लिएर सामान किन्न भोट जाने आशा थियो, त्यो पनि तुहियो ।’ उनका अनुसार २०५८ देखि मुगुका बासिन्दाले उक्त हाटबजारमा यार्चा बिक्री गरिरहेका थिए । भोटतिर बिक्री गर्नका लागि घरमा तयार गरेको जौ, सातु, उवा र केही जडीबुटी खेर गएको उनको गुनासो छ ।

भौगोलिक विकटता, भिरालो जमिन र सिँचाइ सुविधाको कमीका कारण मुगमकार्मारोङमा खाद्य उत्पादन न्यून हुन्छ । स्थानीयले पाटनको यार्चा र भोटको व्यापारले वर्षभरिको जीवन निर्वाह गर्दै आएको माग्रीगाउँका टाँसी लामाले बताए । ‘आफ्नै जिल्लाभित्रको खाद्यवस्तु लत्ताकपडा महँगो हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षौंदेखि तिब्बती बजारको भर पर्दै आएका छौं ।’ कोरोनाका कारण गाउँपालिकाका झन्डै १३ सय परिवारलाई जीविकोपार्जनमा समस्या भएको मुगुमकार्मारोङ–२ का वडाध्यक्ष कार्मा लामा बताए । ‘विगत वर्षमा साउन १५ पछि तिब्बतमा सामान किन्न जानेको लर्को हुन्थ्यो,’ उनले भने, ‘अहिले सबैतिर सुनसान छ ।’ कोरोनाका कारण यस वर्ष हाटबजार नलाग्ने जानकारी आएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पाटन र तिब्बत जान नपाएपछि स्थानीयवासी निराश छन्,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?