कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जनप्रतिनिधि र कर्मचारीबीच विवादले नगरसभा भएन

विप्लव महर्जन

सल्यान — जिल्लाका ९ स्थानीय तहले बजेट पारित गरेको दुई साता बित्दासमेत बन्गाडकुपिण्डे नगरपालिकाले अहिलेसम्म नगरसभा गर्न सकेको छैन । जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा नगरसभा अन्योलमा परेको हो ।

जनप्रतिनिधि र कर्मचारीबीच विवादले नगरसभा भएन

अहिलेसम्म विवादको टुंगो नलाग्दा कार्यपालिका बैठक बस्न सकेको छैन । जसका कारण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । वडामा भर्ना गरेका १२ कर्मचारीलाई तलब खुवाउने विषयमा कुरा नमिलेका कारण नगरसभा हुन नसकेको नगर उपप्रमुख मञ्जु ऐरीले बताइन् । उनका अनुसार कर्मचारीलाई गत वर्षदेखि तलब भुक्तानी गर्न सकिएको छैन । ‘अन्य विषयमा पनि विवाद छ, तर मुख्य समस्या कर्मचारीकै तलब हो,’ उनले भनिन्, ‘अहिले त झन् नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरपालिकामा छैनन् ।’ नगरसभाका लागि नीति तथा कार्यक्रम र बजेट तयार गरेर राखे पनि नगर प्रमुख गोविन्दकुमार पुन नगरपालिकामा नहुँदा समस्या भएको उनको भनाइ छ । ‘विवाद नसुल्झिँदासम्म जनप्रतिनिधिले कार्यपालिका बैठकमा सहभागी नहुने अडान लिएका छौं,’ ऐरीले भनिन्, ‘अहिले अवस्था जेजस्तो भए पनि नगरसभाका छिटो गर्न नगरप्रमुखलाई आग्रह गरिए पनि बेवास्ता भइरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले कर्मचारीलाई तलब खुवाउने विषयमा समस्या हुँदा नगरसभा हुन नसकेको बताए । उनका अनुसार विकास योजनामा काम गरेका ठेकेदारलाई भुक्तानी नदिँदा पनि नगरसभा बस्न समस्या भएको हो । ‘नगरसभाका लागि कार्यपालिका बैठक पटकपटक बसे पनि कुनै छलफल नै हुन सकेको छैन,’ उनले भने, ‘कर्मचारी र जनप्रतिनिधिको विवाद भनिए पनि यहाँ जनप्रतिनिधिकै विवाद बढी छ ।’ उनी अहिले परीक्षाका लागि काठमाडौंमा छन् । नगरसभाको टुंगो भए आफू परीक्षा छोडेर आउन पनि तयार रहेको उनले बताए । ‘जनप्रतिनिधिमै विवाद छ,’ उनले भने, ‘तर दोषजति सबै कर्मचारीमा थुपारिएको छ ।’ उनका अनुसार बजेट नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो ।

नगरमा जनप्रतिनिधिको बढ्दो लापरबाहीका कारण नगरसभा हुन नसकेको स्थानीय बेदबहादुर रोकाले बताए । ‘आफ्नो कमजोरी लुकाउन उनीहरूले कर्मचारीको तलब र ठेकेदारलाई भुक्तानी दिन सकेका छैनन्,’ उनले भने, ‘अघिल्लो वर्ष पनि मनमुटावकै कारण तोकेको समयभन्दा ६ महिनापछि नगरसभा भयो, नगरसभा नहुँदा हामीले ३ वर्षदेखि नै स्थानीय सरकारको अनुभूति गर्न सकेका छैनौं ।’

नगरप्रमुख पुनले विवाद मिलाएर छिट्टै नगरसभा गरिने बताए । ‘नीति तथा कार्यक्रम र बजेट तयार छ,’ उनले भने, ‘नगरभित्र देखिएका सामान्य समस्याले तोकिएको समयमै नगरसभा हुन सकेन, अब एक साताभित्रै नगरसभाको बैठक गरी बजेट पारित गरिनेछ ।’

प्रकाशित : श्रावण ७, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?