१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अस्पतालको सौर्य ऊर्जा प्रयोगविहीन

मुगु — जिल्ला अस्पताल ठिनीमा दुई वर्षदेखि सौर्य ऊर्जा प्रयोगविहीन बनेको छ । कोरिया सरकारको सहयोगमा अस्पतालमा जडान गरिएको ३ किलोवाटको सौर्य ऊर्जा अलपत्र परेको हो । उक्त सौर्य उर्जा प्रणाली ३ वर्षअघि बिग्रिएको थियो ।

अस्पतालको सौर्य ऊर्जा प्रयोगविहीन

अस्पतालमा मर्मतका लागि बजेट नहुँदा सौर्य ऊर्जा मर्मत गर्न नसकिएको अस्पतालका डा. डबल मल्लले बताए । ‘चार्ज कन्ट्रोल जलेपछि सौर्य ऊर्जाबाट बत्ती बल्न छोडेको दुई वर्ष भयो,’ उनले भने, ‘हामीसँग मर्मतका लागि बजेट छैन, दातृ निकायले दिएन ।’ उनका अनुसार गमगाढ जलविद्युत् आयोजनाको बिजुली पटकपटक अवरुद्ध हुने गरेकाले ३ वर्षअघि सौर्य ऊर्जा जडान गरिएको थियो ।

सौर्य ऊर्जा मर्मत भए उपचार र अस्पतालको सेवा प्रवाह सहज हुने उनी बताउँछन् । ‘स्थानीयस्तरमा उत्पादित बिजुली भरपर्दो छैन,’ उनले भने, ‘वैकल्पिक व्यवस्था नहुँदा उपचारमा समस्या भयो ।’ सौर्य ऊर्जा प्रयोगविहीन हुँदा भिडियो एक्सरे, एक्सरे र प्रगोगशालाको काम प्रभावित भएको उनको भनाइ छ ।

कोरिया सरकारको सहयोगमा अस्पतालमा आपत्कालीन रूपमा विद्युत् सेवा प्रवाह गर्न जडान गरिएको ६३ केबी क्षमताको जेनेरेटर पनि प्रयोगविहीन छ । इन्धन खर्च नहुँदा जेनेरेटर मेसिन पनि अलपत्र परेको अस्पतालले जनाएको छ । दैनिक जेनेरेटर सञ्चालन गर्न ८ लिटर डिजेल आवश्यक पर्ने अस्पतालका सुरक्षा गार्ड गगन शाहीले बताए ।

अस्पतालमा जडान गरिएका दुईवटै वैकल्पिक विद्युतीय साधन प्रयोगविहीन बनेपछि बिरामी र स्वास्थ्यकर्मी सास्ती भोग्न बाध्य छन् । सदरमुकामस्थित गमगाढ विद्युत् आयोजनामा पनि पटकपटक बिग्रिँदा उपचारमा समस्या भएको स्थानीय कमल शाहीले बताए । ‘अस्पतालजस्तो ठाउँमा लामो समयदेखि लापरबाही भइरहेको छ,’ उनले भने, ‘विद्युत् समस्याकै कारण बिरामी लामो समयदेखि सास्ती भोग्न बाध्य छन् ।’ अस्पतालमा भर्ना भएका बिरामीले अँध्यारोमा रात गुजार्नुपरेको उनले बताए ।

विद्युत्कै समस्याले अस्पतालमा रात्रिकालीन सेवा प्रवाह प्रभावित भएको डा. मल्लले गुनासो गरे । उनका अनुसार पटकपटक सौर्य ऊर्जा मर्मत गर्न आग्रह गरिए पनि जिल्ला स्वास्थ्य सेवा कार्यालयले बेवास्ता गरिरहेको छ । ‘कार्यालयले पनि कोरिया सरकारकै मुख ताकेको छ,’ उनले भने, ‘विद्युत् नभएको दिन अस्पताल नै सुनसान हुन्छ ।’ दातृ निकायलाई नै सौर्य ऊर्जा मर्मत गर्न आग्रह गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराईले बताइन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?