२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सदरमुकाममै बसे पालिकाका कर्मचारी

रकम भुक्तानी नहुँदा मजदुरले ज्याला पाएका छैनन्
हरि गौतम

रुकुम पश्चिम — डोल्पाका डोल्पोबुद्ध गाउँपालिकामा गत आर्थिक वर्षमा झन्डै ४ करोड रुपैयाँ फ्रिज भयो । समयमै कर्मचारी गाउँपालिकामा नपुगेका कारण सम्पन्न भइसकेका योजनामा पनि झन्डै १ करोड रुपैयाँ भुक्तानी हुन सकेन । रकम भुक्तानी नहुँदा विभिन्न योजनामा काम गरेका मजदुरले ज्याला पाउन सकेका छैनन् ।

सदरमुकाममै बसे पालिकाका कर्मचारी

सधैंजसो जिल्ला सदरमुकाम दुनै बस्ने कर्मचारी असार १० गतेपछि नै गाउँपालिका कार्यालय उक्लेका थिए । केही दिन कार्यालयको काम गरेका उनीहरू फेरि सदरमुकाम फर्किसकेका छन् । समयमै काम नगर्दा र हतारमा काम गर्दा प्रदेश सरकारबाट आएको ठूलो रकम फ्रिज गएको स्थानीय क्यामेर लामाले बताए । ‘बर्सेनि ठूलो रकम फ्रिज जान्छ,’ उनले भने, ‘कर्मचारी गाउँमा नबस्दा हामीले विकासको अनुभूति गर्न पाएका छैनौं ।’ उनले केही जनप्रतिनिधि गाउँ बसे पनि कर्मचारी नबस्दा समस्या भएको बताए ।

अहिले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी सदरमुकाम फर्किसकेका छन् । ‘कार्यालय बन्द छ, वडा कार्यालय पनि खाली छन्,’ एक उपभोक्ता समितिका अध्यक्ष थिन्ले पाल्जोरले भने, ‘गाउँमा केही जनप्रतिनिधि मात्रै छन्, कर्मचारीको मुख त कहिले कहिले मात्र देख्ने हो ।’ उनका अनुसार गाउँ बसेका जनप्रतिनिधिले भुक्तानी हुन नसकेको बजेट भुक्तानी गर्ने उपायबारे छलफल गरिरहेका छन् ।

काम गरेकालाई ज्याला दिन नसकेपछि आफूहरू समस्यामा परेको अर्को एक उपभोक्ता समितिका अध्यक्ष फुर्वा सनमले बताए । उनका अनुसार एक साताअघि कर्मचारी सदरमुकाममा सञ्चालन गरिएको सम्पर्क कार्यालयमा फर्किसकेका छन् । ‘कति कर्मचारी त बिदामा घर गइसके,’ उनले भने, ‘कर्मचारी नहुँदा सानो कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।’

माथिल्लो डोल्पाका छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाको अवस्था पनि उस्तै हो । सबैले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन् । ३ वटै स्थानीय तहले अधिकांश समय दुनैबाटै कार्यालय चलाउँछन् । केही समय मात्रै गाउँपालिका पुगेका कर्मचारीले सेवा प्रवाह सञ्चालन गर्ने गरेको स्थानीयको गुनासो छ । ‘हाम्रा गाउँका सिंहदरबारहरू जिल्लाबाटै चल्छन्,’ छार्काताङसोङ गाउँपालिकाका ग्याल्जेन लामाले भने, ‘हल्ला गाउँमा सिंहदरबार भन्ने छ, तर वास्तविक रूपमा सिंहदरबार सदरमुकामै छ ।’

कर्मचारी गाउँ नबस्दा अधिकांश विकास निर्माणका कामको अनुगमनसमेत नहुने उनले बताए । ‘सबैले गाउँमा सिंहदरबार आयो भन्छन्,’ लामाले भने, ‘हाम्रा दुःख भने अझै उस्तै छन् ।’ जनप्रतिनिधिले नै कर्मचारीलाई सदरमुकाम बस्न छुट दिँदा मनपरी बढेको उनको भनाइ छ । उनका अनुसार कर्मचारी अभावमा गाउँमा बसेका जनप्रतिनिधि पनि कामविहीन बनेका छन् ।

हिउँदमा अत्यधिक हिमपात हुने गरेकाले चिसोका कारण सदरमुकाम बस्नुपरेको कर्मचारीको दाबी छ । स्थानीय तह कार्यान्वयनमा गएदेखि नै कर्मचारी उपल्लो डोल्पामा लामो समय बसेका छैनन् । डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले भौगोलिक विकटताका कारण गाउँमा बस्न समस्या भएको बताए । उनका अनुसार खाता प्रणाली बन्द भएपछि गत आर्थिक वर्षका केही योजनामा भुक्तानी हुन नसकेको हो । उनले मुख्यमन्त्री रोजगार कार्यक्रम र ठेक्कातर्फको रुपैयाँ भुक्तानी हुन नसकेको जानकारी दिए ।

गाउँपालिकामा भरपर्दो इन्टरनेट सेवा नहुँदा पनि कर्मचारी बस्न समस्या भएको पंज्ञानीको भनाइ छ । ‘असार ३१ गतेसम्म म्याद छ भन्ने सोचियो, तर ३० गते नै खाता प्रणाली बन्द भयो,’ उनले भने, ‘नेटकै कारण भएको कामको पनि भुक्तानी दिन सकिएन ।’ गत वर्ष भुक्तानी हुन नसकेको रकम चालु आर्थिक वर्षमा भुक्तानी हुने उनको भनाइ छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न केही कर्मचारीलाई प्रदेश राजधानी सुर्खेत पठाउन थालिएको उनले जानकारी दिए ।

छार्काताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले भने आफूहरू गाउँपालिकामै रहेको बताए । उनका अनुसार काम नभएको एउटा योजनाबाहेक सबै योजनाको रकम भुक्तानी भइसकेको छ ।

डोल्पोबुद्ध गाउँपालिकाले भने बजेट कार्यान्वयनका लागि चालु आवदेखि कर्मचारीलाई गाउँमै बस्न निर्देशन दिइएको जनाएको छ । कार्यपालिका बैठकबाटै उक्त निर्णय पारित गरिएको अध्यक्ष तेम्बा गुरुङले बताए । ‘कर्मचारी गाउँमा नबस्ने समस्याले हामी पनि पीडित छौं,’ उनले भने, ‘कार्यपालिका बैठकबाटै निर्देशन दिइएपछि केहीबाहेक अन्य कर्मचारी गाउँकै कार्यालयमा छन् ।

प्रकाशित : श्रावण ६, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?