२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जथाभावी उत्खननले पुल जोखिममा

पालिकाले अव्यवस्थित उत्खनन रोक्नुको साटो अनुमति दिएको स्थानीयको आरोप
ज्योति कटुवाल

दैलेख — अनियन्त्रित दोहनले दैलेखको तल्लो डुगेंश्वरस्थित कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीको पुल जोखिममा परेको छ । नदी आसपासमा अव्यवस्थित रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन हुँदा पुल जोखिममा परेको हो । पुलसँगै आसपासका गाउँ पनि बाढीको जोखिममा परेको स्थानीयको गुनासो छ ।

जथाभावी उत्खननले पुल जोखिममा

पुलको पिलरमुनिबाटै ढुंगा, गिट्टी र बालुवा निकाल्दा जोखिम बढेको स्थानीय विमल क्षत्रीले बताए । उनका अनुसार दैलेख, सुर्खेत र अछाम जोड्न उक्त पुलको विकल्प छैन । ‘स्थानीय सरकारले उत्खनन रोक्नुको साटो खुलमखुला अनुमति दियो,’ उनले भने, ‘भारी वर्षा भएर बाढी आए पुल भत्किने खतरा छ ।’ पुलको एक सय मिटर नजिकबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न नपाउने नियम भए पनि व्यवसायीले नियम मिचेरै उत्खनन गरिरहेको उनले बताए ।

अवैध उत्खननले कर्णाली नदी र लोहोरे खोला आसपासका अधिकांश बस्ती जोखिममा परेको स्थानीय अगुवा माधव सुनारले बताए । उनका अनुसार दुवै नदी र खोलाको किनारी क्षेत्रमा बसोबास गर्ने करिब दुई सय परिवार बाढीको उच्च जोखिममा छन् । छामघाट खोला, चामुन्डाविन्द्रासैनी, चुप्राखोलालगायतमा अवैध उत्खनन हुँदा भर्खर बनाइएको पक्की पुल पनि जोखिममा परेको हो । ‘नदी आसपासका बासिन्दा पानी पर्न थालेपछि जाग्राम बस्न बाध्य छौं,’ उनले भने, ‘ठूलो बाढी आएर परिवारै बगाउने हो कि भन्ने चिन्ता छ ।’ उनले बाढीको जोखिम बढेपछि नदी किनारामा बस्दै आएका बादी समुदाय बढी समस्यामा परेको बताए ।

कर्णाली पुलबाट दैनिक करिब सय गाडीहरू वारपार हुने स्थानीय हिमाल बादीले बताए । कर्णाली राजमार्ग र अछाम जाने गाडीहरूले उक्त पुल तर्नुको विकल्प छैन । उत्खननमा सम्बन्धित निकायले अनुगमन नगर्दा व्यवसायीको मनपरी बढेको उनको आरोप छ । कर्णाली नदी आसपासको क्षेत्रमा ३ वर्षदेखि जथाभावी उत्खनन भइरहेको उनको भनाइ छ । यहाँ सूर्य कन्स्ट्रक्सनले अवैध रूपमा ढुंगा, बालुवा र गिट्टी उत्खनन गरिरहेको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जथाभावी उत्खननबारे प्रहरीलाई जानकारी आएसम्म अनुगमन गरी कारबाही गरिरहेको दाबी गरे । जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले पुल नजिकको क्षेत्रभन्दा अन्यत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न आग्रह गरे पनि ठेकेदारले अटेरी गरेको गुनासो गरे ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?