कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुस्तक पुग्यो, पढाइ भएन

वैकल्पिक कक्षा सञ्चालनबारे समयमै निर्णय नगर्दा सल्यानका झन्डै ६० हजार विद्यार्थी प्रभावित
विप्लव महर्जन

सल्यान — जिल्लाका १० स्थानीय तहले सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेका छन् । तर पठनपाठनको वैकल्पिक व्यवस्था नहुँदा करिब ५ सय विद्यालयका झन्डै ६० हजार बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् ।

पुस्तक पुग्यो, पढाइ भएन

वैशाख पहिलो सातायता यहाँका विद्यालय खुलेका छैनन् । सल्यान सदरमुकामका झन्डै एक दर्जन विद्यालयले अनलाइनमार्फत पठनपाठनको व्यवस्था मिलाए पनि अन्य ठाउँमा इन्टरनेट सुविधा नहुँदा समस्या भएको हो । विद्यालय गई पठनपाठनमा व्यस्त हुनुपर्ने विद्यार्थीहरू घरायसी कामकाजमै व्यस्त हुनुपर्ने बाध्यता छ । विद्यालय नखुल्दा घरको कामकाज, घाँसदाउरा र मजदुरीमा व्यस्त हुनुपरेको बिमैचास्थित सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत कमल विकले बताए ।

जिल्लाका सबै स्थानीय तहले असारको पहिलो साता भर्ना अभियान चलाएका थिए । तर विद्यालय खुल्ने निश्चित नहुँदा शैक्षिक क्रियाकलाप ठप्पप्रायः छन् । ‘गत वर्ष त टोलटोलमा गएर पढाउने व्यवस्था मिलाएका थियौं, तर यो वर्ष केही गर्न सकिएको छैन,’ सल्लीचौरस्थित भगवती आधारभूत विद्यालयका शिक्षक दीपेन्द्र भण्डारीले भने, ‘कोरोनाको तेस्रो लहर फैलिने आशंकाले अन्योल बनाएको हो ।’ उनले स्थानीय तहले विद्यालय सञ्चालनबारे कुनै निर्णय नगर्दा समस्या भएको बताए । गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकेको उनको गुनासो छ । कोरोना संक्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न समस्या भएको प्रभात माविका शिक्षक कमल शर्माले बताए । उनका अनुसार भौतिक रूपमा विद्यालय गएर पढाउने अवस्था अझै छैन । ‘अनलाइन कक्षा सञ्चालन गर्न पनि ठूलो रकम खर्च गर्नुपर्छ,’ उनले भने, ‘विद्यालयको आफ्नै स्रोत छैन, स्थानीय तहले सहयोग गरेन ।’ सामुदायिक विद्यालयमा अधिकांश विपन्न बालबालिकाले अध्ययन गर्ने गरेकाले अनलाइन कक्षा सञ्चालनमा समस्या रहेको उनी बताउँछन् ।

अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि टेलिफोन टावरले काम नगर्दा समस्या भएको शारदा नगरपालिकाको च्युरास्थित नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक गुमानसिं विष्टले बताए । उनका अनुसार विद्यालय नखुल्दा भर्ना भएका करिब १ हजार विद्यार्थी घरायसी कामकाजमा व्यस्त छन् । ‘यो वर्ष पनि विद्यार्थीको पठनपाठन चौपट हुने देखियो,’ उनले भने, ‘अनलाइन कक्षाका लागि न विद्यालय सक्षम छ न अभिभावक नै ।’

शारदा नगरपालिकाको सितलपार्टीस्थित शिवजन माविले भने अनलाइन कक्षा सञ्चालन भइरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले प्रावि तहमा वैकल्पिक कक्षा सम्भव नभएपछि कक्षा ६ देखि १२ सम्मको पढाइ मात्र अनलाइन माध्यमबाट सञ्चालनमा ल्याइएको बताए । ‘साना बालबालिकालाई अनलाइनबाट पढाउन मुस्किल छ,’ उनले भने, ‘अवस्था सहज भए टोल शिक्षा सञ्चालन गर्ने योजनामा छौं ।’ जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले वैकल्पिक कक्षा सञ्चालन गर्न आवश्यक पहल भइरहेको बताए ।

प्रकाशित : श्रावण ५, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?