ग्रामीण भेगमा पढाइ भएन- कर्णाली - कान्तिपुर समाचार

ग्रामीण भेगमा पढाइ भएन

इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी पढ्नबाट वञ्चित
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४, भादगाउँका शिवराज बुढा घरबाट अनलाइन कक्षा पढ्न गमगढी आएका छन् । नेपालगन्जमा फार्मेसी प्रथम वर्षमा अध्ययनरत उनी गाउँमा इन्टरनेट सुविधा नभएपछि अनलाइन कक्षाकै लागि बजरामा डेरा लिन बाध्य भएका हुन् ।

मुगुको सोरु गाउँपालिकास्थित फोतु गाउँका बालबालिका पढाइ नभएपछि खेल्दै। तस्बिर : राजबहादुर/कान्तिपुर

‘उता कलेजमा अनलाइनबाट पढाइ भइरहेको छ, हाम्रो गाउँमा नेट लाग्दैन,’ उनले भने, ‘त्यही भएर बजारमा आएर पढ्नु परेको हो ।’ कोरोनाको डरले एक महिनाअघि घर आएर पनि घरमा बस्न नपाएको उनले बताए ।

अहिले कोरोना महामारीको कारण विभिन्न विद्यालय र कलेजले वैकल्पिक शिक्षाका रूपमा अनलाइन कक्षा चलाइरहेका छन् । तर मुगुका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी पढ्नबाट वञ्चित भइरहेका छन् । त्यस्तैमध्येका अर्का एक विद्यार्थी खत्याड गाउँपालिका–८ का निराजन भण्डारीले कोरोना महामारीमा वैकल्पिक शिक्षाको थालनी भए पनि आफूहरूलाई झन् सास्ती हुने गरेको बताए । काठमाडौंको एक निजी विद्यालयमा ८ कक्षामा अध्ययनरत उनले घरमा इन्टरनेट नभए पनि गमगढीमा डेरा लिएर बस्नुपरेको बताए । ‘उता पढाइ सुरु भइहाल्यो, पढिएन भने पछाडि परिन्छ, कोर्स अघि बढिसक्छ,’ उनले भने, ‘त्यही भएर दोहोरो खर्च भए पनि पढ्नुपरेको छ ।’

इन्टरनेटको पहुँच भएका सहरतिरका विद्यालय र कलेजले अहिले अनलाइन कक्षा सुरु गरेका छन् । ती ठाउँमा अध्ययनरत दुर्गमका विद्यार्थी भने सास्तीमा छन् । विद्यालय बन्द भएको मौकामा घर आएको र त्यही बेला अनलाइनबाट पढाइ सुरु हुँदा समस्या भएको बुढाले बताए । उनका अनुसार सहरमा कोरोको दोस्रो लहर सुरु भएपछि त्यसबाट जोगिन धेरै विद्यार्थी घर आएका थिए । अहिले कोरोना लहर कम नभए पनि विद्यालय र कलेजले भने अनलाइनबाट पढाइ सुरु गरिसकेका छन् । ‘उता (सहर) तिर जाउँ भने कोरोनाको डर छ, घरमा नेटको सुविधा छैन,’ उनले भने, ‘अब महँगै भए पनि सदरमुकाम बसेर पढ्नुको विकल्प छैन ।’ नेपालगन्जतिर जाने तयारी भए पनि कोरोनाको कहर झन् बढ्ने त्रासले यतै रोकिएको उनले बताए ।

सहरतिर पढ्न गएका अधिकांश विद्यार्थी कोरोनाको डरले गाउँ फर्केका छन् । तीमध्ये केही विद्यार्थी सदरमुकाममा आएर पढे पनि धेरैजसो विद्यार्थी गाउँमै बसिरहेका छन् । घरको काम गर्ने, गाईभैंसी चराउने काममै दैनिकी बितिरहेको छ । मुगुमकार्मारोङ गाउँपालिका माग्रीगाँका छिरिङ तामाङले गमगढीमा आफन्त नहुँदा पढाइ छुटे पनि गाउँमै बसिरहेको बताए । ‘अरु साथीहरूले कोर्स धेरै अघि बढिसक्यो भन्छन्, आफू त गाउँमै खाली हात बस्नुपरेको छ,’ उनले भने, ‘कोरोना कम भयो भने जानुपर्ला, नत्र पढाइ यस्तै भयो ।’

मुगुका विद्यालयमा भने अनलाइनबाट पढाइसमेत भएको छैन । यसले अभिभावकलाई चिन्तित तुल्याएको छ । सोरु गाउँपालिका–४ का बिर्खबहादुर शाहीले २ वर्षदेखि बालबच्चाको पढाइ बिग्रिएको गुनासो गरे । ‘पढाइ भन्ने कुरा त बिर्सिसके होलान् जस्तो छ, घरमा पनि पढ्ने कुरा भएन,’ उनले भने, ‘यस्तै हो भने त छोराछोरीको भविष्य अँध्यारो हुने भयो ।’ पढाइ नहुँदा छोराछोरीहरू वनमा ऐसुल टिप्ने, गाईभैंसी चराउने काममा व्यस्त हुने गरेका उनले बताए ।

जनज्योति माविका प्राधानाध्यापक सुवास रावलले इन्टरनेटको सहरका विद्यालयमा भर्ना भएका, तर गाउँमा इन्टरनेटको पहुँच नभएका क्षेत्रका विद्यार्थी थप मारमा परेका बताए । जिल्लाका विद्यालयमा अध्ययनरतहरू भने सबैका अवस्था उस्तै भएको भन्दै चित्त बुझाउने गरेका उनको भनाइ छ । ‘सहरका विद्यालयले २–४ जना दुर्गममा बस्ने विद्यार्थीको लागि पढाइ रोक्ने कुरा भएन, सँगैका विद्यार्थी धेरै अघि बढिसकेका हुन्छन्,’ उनले भने ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

३१ वर्षपछि बन्यो सिँचाइ योजना

२०४६ सुरू भएको योजनालाई बजेट नआउँदा अलपत्र परेको थियो
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४ फोतुमा निर्माण सुरु भएको झन्डै ३१ वर्षपछि सिँचाइ योजना पूरा भएको छ । २०४६ मा ५ हजार रुपैयाँ बजेटबाट सुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो ।

मुगुको सोरु गाउँपालिका–४ फोतुमा ३१ वर्षपछि निर्मित सिँचाइ योजना । तस्बिर : राजबहादुर/कान्तिपुर

तत्कालीन जिल्ला पञ्चायतले ५ हजार रुपैयाँ बजेटबाट योजनाको काम सुरु गरेको थियो । त्यसपछि बजेट नआउँदा योजना अलपत्र परेको थियो ।

सिँचाइ सुविधा नहुँका फोतुका बासिन्दा वर्षमा एक बाली लगाउन बाध्य थिए । ‘सिँचाइकै लागि ठूलो दुःख भोगियो,’ स्थानीय लक्ष्मण शाहीले भने, ‘अब आफ्नै बारीको उब्जनीले खान पुग्ने भयो ।’ उनका अनुसार सिँचाइ सुविधा नहुँदा स्थानीय उत्पादनले मुस्किलले ४ महिना मात्र खान पुग्थ्यो । उनले सिँचाइ पुगेपछि वर्षमा ३ बाली लगाउन सकिने बताए ।

३१ वर्षपछि पक्की कुलो बनेपछि स्थानीय किसान खुसी छन् । सिँचाइ योजना सुरु हुँदा ५ रुपैयाँ ज्याला लिएर काम गरेको ७१ वर्षीय गोर्खबहादुर शाहीले बताए । ‘सुरुको वर्ष मात्र बजेट आयो, त्यसपछि आएन,’ उनले भने, ‘योजना सुचारु गर्न विभिन्न निकायमा पटकपटक धाए पनि कसैले वास्ता गरेनन् ।’ उनले वर्षौंपछि गाउँमा सिँचाइ सुविधा पुगेपछि विकासको अनुभूति भएको बताए । उनका अनुसार २०४६ मै स्थानीयले सिँचाइ योजनामा प्रतिघर झन्डै एक महिना श्रमदानसमेत गरेका थिए ।

कर्णाली प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटबाट फोतुमा सिँचाइ सुविधा पुगेको हो । योजनामा विश्व खाद्य कार्यक्रम र आरसीडीले २१ लाख रुपैयाँ थपेका थिए । अहिले ७ सय २० मिटरको कुलोलाई पक्की बनाइएको छ । ‘अब गाउँमै धान फलाउन सकिने भयो,’ स्थानीय कृषक बिर्खबहादुर कार्कीले भने, ‘व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बन्न सक्छौं ।’ उनले सिँचाइ योजनामा काम गर्दा दुई महिनासम्म रोजगारीसमेत पाइएको बताए । उनका अनुसार योजनाबाट २५ घरमा सिँचाइ सुविधा पुगेको छ । यो वर्ष फोतु र हुम्लाको जैर जोड्ने झोलुंगे पुलको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : श्रावण २, २०७८ ११:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×