१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एक वर्षपछि सुरक्षा भत्ता

हुम्ला — समकोट गाउँपालिकाले झण्डै एक वर्षदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । लक्षित वर्गले खोलेको बैंक खातामा साउनदेखिको सुरक्षा भत्ता जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।

एक वर्षपछि सुरक्षा भत्ता

यसअघि गाउँपालिकाले टोलटोलमा कर्मचारी पठाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको थियो । तर संघीय सरकारले बैंकमार्फत सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेपछि गत साउनदेखि नै लक्षित वर्गले भत्ता पाउन सकेका थिएनन् । यो वर्ष सबैभन्दा पहिले सिमकोट गाउँपालिकाले स्थानीयलाई भत्ता वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । उनका अनुसार खाता नखोलेका झण्डै २ प्रतिशत स्थानीयलाई मात्र भत्ता वितरण गर्न बाँकी छ । करिब ९८ प्रतिशत नागरिकको खातामा भत्ता जम्मा गरिसकिएको उनले जानकारी दिए । ‘आर्थिक वर्षको सुरुमा निकासा आउन ढिलो भयो, पछि स्थानीयले खाता खोल्न ढिलो गरे,’ उनले भने, ‘अहिले वर्षभरिको भत्ता एकैपल्ट जम्मा गरेका छौं ।’

सुरक्षा भत्तामार्फत विपन्न नागरिक बैंकिङ सेवा प्रवाहमा जोडिएको रोकायाले बताए । उनका अनुसार यो वर्ष २ हजार ७ सय सेवाग्राहीले बैंकमा खाता खोलेका छन् । सरकारले हुम्लाका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई ३/३ हजार, एकल महिलालाई १ हजार ६ सय र बालबालिकालाई ४ सय रुपैयाँ दरले मासिक भत्ता उपलव्ध गराइरहेको छ । यो वर्ष ५ करोड २२ लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा गएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

०४७ सालपछि सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न भन्दै कांग्रेस सांसद्हरूले प्रतिनिधिसभामा दर्ता गराएको सार्वजनिक प्रस्ताव कस्तो लाग्यो ?