खेल पूर्वाधारका लागि ५९ करोड

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फका पूर्वाधार निर्माण गर्न ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्णालीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न आगामी आवमा विगत वर्षभन्दा बढी बजेट छुट्याएको हो ।

खेल पूर्वाधारका लागि ५९ करोड

दुई वर्षदेखि नै कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरी बजेट विनियोजन गरिए पनि कार्यान्वयन सुस्त छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला, चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार एवम् कभर्डहल निर्माण गर्ने घोषणा गरेको छ । तर खेलाडी तथा सरोकारवालाले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारले छुट्याएको ५९ करोड रुपैयाँ कम हुने बताएका छन् । ‘राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना गर्ने भनिसकेपछि पर्याप्त रकम छुट्याउनुपर्थ्यो,’ कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले भने, ‘छुट्याइएको रकमले सामान्य पूर्वाधार बनाउन पनि सकिँदैन ।’

आगामी आवमा प्रदेश सरकारले विभिन्न खेलकुद पूर्वाधारका लागि ४ करोड ६ लाख, प्रादेशिक रंगशालाका लागि १ करोड ७९ लाख, हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि १२ लाख, १० औं राष्ट्रियको तयारीका लागि २ करोड र कालीकोटको नरहरिनाथ गाउँपालिकामा खेलमैदानका लागि १५ लाख विनियोजन गरेको छ । ‘रकमका हिसाबले विगतभन्दा बढी बजेट छ,’ कार्कीले भने, ‘तर विगत वर्षको बजेट फ्रिज हुँदा कार्यान्वयन हुनेमा आशंका देखियो ।’

१० जिल्लामा रंगशाला

कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा रंगशाला निर्माण गर्न ४५ करोड बजेट छुट्याएको छ । प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड रकम विनियोजन गरिएको हो । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८’ कर्णालीमा आयोजना गर्नका लागि खेलकुद पूर्वाधार निर्माणलाई तीव्रता दिइने कर्णाली खेलकुद परिषद्ले जनाएको छ । ३५ करोड रुपैयाँको लागतमा बन्ने प्रदेश रंगशालालाई प्रदेश गौरवको आयोजना रूपमा लिइएको परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले बताए । प्रदेश रंगशालामा १० हजार दर्शक अट्ने स्टेडियम, फुटबल मैदान, एथलेक्टिस ट्र्याक, स्विमिङ पुल, १५ सय दर्शक अट्ने कवर्ड हललगायतका संरचना हुनेछन् । खेलका आउटडोर व्यावसायिक प्रयोजनका लागि १ सय २० वटा सटरहरू निकालिने उनले बताए । परिषद्का अनुसार २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रदेश रंगशालामा आगामी वर्ष ३५ करोड रुपैयाँबाट पूर्वाधारको काम सुरु हुनेछन् । ‘जसका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएमा साउन महिनाभित्रै काम अघि बढ्नेछ ।’

प्रकाशित : श्रावण २, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?