१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

यातायातमा मनपरी भाडा

हरि गौतम

रुकुम पश्चिम — सदरमुकाम खलंगादेखि सल्यानको श्रीनगरसम्मको भाडा ३ सय रुपैयाँ हो । तर केही दिनदेखि यात्रुले त्यसको तेब्बर भाडा तिर्दै आएका छन् । खलंगादेखि श्रीनगरसम्म जाने यात्रुले अहिले १ हजार रुपैयाँसम्म भाडा तिरेका हुन् । मुसीकोटदेखि झन्डै ३७ किमिको दूरीको रुकुम पूर्वको रुकुमकोट जाने यात्रुलाई पनि ७ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ । 

यातायातमा मनपरी भाडा

कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा लागेको छ । तर सवारीसाधन चलिरहेका छन् । जिल्लाभित्र चल्ने सवारीसाधनलाई बिनाअनुमति चलाउन भनिएको छ भने बाहिर जाने गाडीले अनुमति लिएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । कोरोना महामारी र निषेधाज्ञाको बहानामा यात्रुबाट चर्को भाडा असुल्न थालिएको हो । लागेको र तोकिएको भाडाभन्दा बढी भाडा तिर्नुपर्दा विपन्न यात्रु समस्यामा छन् । ‘धेरै दिन घर बस्न सकिन्न रोजीरोटीका लागि पनि बाहिर हिँड्नै पर्‍यो,’ स्थानीय संजोक केसीले भने, ‘तर कोरोना र निषेधाज्ञाको निहुँमा भाडादर निकै महँगो बनाइएको छ ।’ नियमन र अनुगमन नहुँदा यातायात व्यवसायीको मनपरी बढेको उनले बताए ।

स्थानीय प्रशासनको बेवास्ताले यात्रुहरू मर्कामा परेको अर्की यात्रु देउसरा पुनले बताइन् । ‘गाडी चलाउन भनियो तर त्यो कसरी चलिरहेको छ भन्नेबारे कतैबाट अनुगमन भइरहेको छैन,’ उनले भनिन्, ‘लकडाउनले मारमा परेका हामीलाई गाडीघोडाको मार पनि थपिएको छ ।’ धेरै गाडी नचल्ने भएकाले चर्को भाडा तिर्नुपर्ने बाध्यता भएको उनले बताइन् ।

चार महिनाअघि मात्रै जिल्ला यातायात व्यवस्था समितिले नयाँ भाडादर कायम गरेको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भाडा चर्को लिएकोबारे गुनासो आएको बताए । ‘हामीकहाँ पनि त्यो गुनासो छ, प्रहरीमार्फत त्यसको निवारण गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘नियमभन्दा बाहिर गएर काम गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’ गुनासो आएपछि केही सवारीसाधनलाई कारबाही गरिएको उनले बताए । उनका अनुसार प्रहरीले केही सवारीसाधनबाट जरिवाना लिएको छ भने र केहीलाई यात्रा गर्न नै रोक लगाएको छ ।

यसैबीच, सल्यान प्रहरीले बढी भाडा असुल्ने १० यात्रुबाहक गाडीलाई नियन्त्रणमा लिएको छ । सरकारले तोकेको भन्दा बढी भाडा लिएको र क्षमताभन्दा बढी यात्रु राखेको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको हो । कोरोना महामारीको फाइदा उठाउँदै यातायात व्यवसायीले बढी भाडा लिएपछि जिल्ला प्रहरीले अनुगमन थालेको थियो । बिहीबार ३ बस, २ जिप, १ भ्यान र ४ अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

प्रकाशित : श्रावण १, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?