कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपको प्राथमिकतामा शिक्षक

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले खोपको पहिलो प्राथमिकतामा शिक्षकलाई राखेको छ । अरू उमेर समूह र जोखिम समूहमा रहेकाहरूसँगै नगरपालिकाले शिक्षकलाई पनि खोप लगाइरहेको हो । 

खोपको प्राथमिकतामा शिक्षक

छिट्टै विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले शिक्षकलाई पनि पहिलो प्राथमिकतामै राखेर खोप लगाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा रहेका झन्डै ४ सय शिक्षकमध्ये आधाले खोप लगाइसकेको स्वास्थ्य संयोजक मणिराज शाहले बताए । उनका अनुसार केहीले दोस्रो मात्राको खोप लगाइसकेका छन् । ‘ज्येष्ठ नागरिकलाई खोपको मात्रा लगभग पूरा भएकाले शिक्षकलाई प्राथमिकतामा राखेका हौं,’ उनले भने, ‘पछिल्लोपटक खोप लगाउनेमा शिक्षककै संख्या बढी छ ।’

नगरपालिकाका अनुसार अहिलेसम्म २ हजार ४ सय ७२ जनाले खोप लाएका छन् । जसमध्ये २ सय ३७ जना शिक्षक छन् । त्यस्तै ६२ उमेर माथिका १ हजार ६ सय ६९ र २ सय ९६ जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीलाई खोप दिइएको छ । २ सय ७० जना व्यवसायी र पत्रकारलाई पनि खोप दिइएको शाहले बताए । उनका अनुसार १ देखि ६ नम्बर वडामा सबै विद्यालयका

सबै शिक्षकले खोप लगाइसकेका छन् । ७ देखि १३ नम्बर वडाका शिक्षकलाई खोप लगाउन अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए ।

एक सातायता शिक्षकहरूलाई खोप लगाउन विभिन्न वडामा अभियान सञ्चालन गरेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘हरेक दिन भीडभाड र धेरैको सम्पर्कमा जाने शिक्षकहरू नै हुन्,’ उनले भने, ‘यसैले शिक्षकलाई प्राथमिकतामा राखेर खोप दिइरहेका हौं ।’ अवस्था सहज हुनबित्तिकै विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले शिक्षकलाई प्राथमिकतामा राखिएको उनले बताए 

जिल्लाका अन्य ५ स्थानीय तहका शिक्षकले पनि खोपको माग गरिरहेका छन् । नेपाल शिक्षक महासंघ र अन्य संघसंगठनका तर्फबाट शिक्षकलाई खोप नभएसम्मका लागि विद्यालय खोल्न नसकिने भन्दै सरोकारवालालाई ज्ञापनपत्र बुझाइएको छ । विद्यालय खोल्नुपूर्व खोपको विकल्प नभएको बाल कल्याण माविका शिक्षक टोपबहादुर हमालले बताए । ‘भीडभाड भएकै कक्षामा जानुपर्ने भएकाले विद्यार्थी र शिक्षक दुवैबाट एकअर्कालाई कोरोना संक्रमणको जोखिम छ,’ उनले भने, ‘खोपका लागि ध्यान दिनुपर्नेमध्येको एउटा मुख्य क्षेत्र शिक्षा भए पनि बेवास्ता भइरहेको छ ।’

प्रकाशित : असार ३०, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?