कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्यायिक समितिमा हिंसाका उजुरी धेरै

ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकामा ४ वर्षमा २ सय ६० वटा उजुरी दर्ता भए । न्यायिक समितिमा दर्ता उजुरीमध्ये झन्डै ६० प्रतिशत महिला हिंसाका मुद्दा छन् । आठबीस नगरपालिकामा पनि समिति गठन भएयता ३९ वटा हिंसाका उजुरी परेका छन् । 

न्यायिक समितिमा हिंसाका उजुरी धेरै

दैलेखका सबै स्थानीय तहका न्यायिक समितिमा अरूभन्दा महिला हिंसाका उजुरी बढी आउने गरेका छन् । अधिकांश मुद्दा मेलमिलापमा टुंगिएको दुल्लु नगरपालिका उपप्रमुख विष्णु थापाले बताइन् । उनका अनुसार हिंसाका मुद्दा धेरै आउन थालेपछि सजिलोका लागि वडास्तरमा मेलमिलापकर्ता र पालिकास्तरीय टोली गठन गरिएको छ । नगरपालिकाले समितिमा नमिलेका मुद्दा जिल्ला अदालतमा पठाउन पीडितलाई ५ हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ ।

हिंसाका कारण ग्रामीण क्षेत्रका महिला ठूलो समस्यामा परेको आठबीस नगर उपप्रमुख दीपा बोहोराले बताइन् । ‘सुरुमा पीडित महिलाहरू उजुरी दिन आउँछन्, तर छलफलमा आउन डराउँछन्,’ उनले भनिन्, ‘अहिले त घरको झगडा बाहिर लिएको भन्दै उनीहरूलाई समाजले नै थप पीडित बनाउन थालेको छ ।’ जिल्लाका ११ वटै स्थानीय तहमा उजुरी बढे पनि अधिकांश हिंसाका घटना मेलमिलापमा टुंगिन थालेका छन् । केही न्यायिक समितिमा कार्यकक्ष र कानुनी सल्लाहकारको व्यवस्था नहुँदा पनि मुद्दा फर्स्योट गर्न समस्या भएको छ ।

छुट्टै कार्यकक्ष नहुँदा पीडितहरूले खुलेर आफ्नो पीडा बताउन नसकेको ठाटीकाध गाउँपालिका उपाध्यक्ष सुमिता सिंहले बताइन् । ‘न्यायिक प्रणालीबारे विषयगत जानकारी नहुँदा पनि पीडितलाई न्याय दिन समस्या छ,’ उनले भनिन्, ‘तर आए जति मुद्दा विभिन्न माध्यमबाट टुंग्याइरहेका छौं ।’ चामुण्डाविन्द्रसैनी नगरपालिकामा पनि मदिरा सेवनका कारण महिला हिंसा बढेको उपप्रमुख तारा शाहीले बताइन् । उनका अनुसार चार वर्षमा समितिमा एकै प्रकारका उजुरी धेरै आएका छन् । ‘महिला हिंसाका मुद्दा नआएको दिनै छैन,’ उनले भनिन्, ‘हिंसाका घटना न्यून गर्न सके मात्रै पनि ग्रामीण क्षेत्रमा अमन चयन कायम हुन्छ ।’ संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्र विवाद निरूपण गर्न न्यायिक समिति गठन गर्ने प्रावधान छ ।

प्रकाशित : असार ३०, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?