१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

छिचोलियो कर्णाली करिडोर

सडक निर्माणमा १ अर्ब ६५ करोड ५५ लाख रूपैयाँ खर्च
तुलाराम पाण्डे

कालीकोट — सेनाले जिम्मा लिएको कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु– सल्लीसल्ला सडकको ट्र्याक खुलेको छ । सेनाले १ सय २२ किमि सडक निर्माणको काम सकेको हो । 

छिचोलियो कर्णाली करिडोर

कडा चट्टान भएपछि सेनाले झन्डै ७ वर्ष लगाएर सडकको ट्र्याक खोलेको छ । जसका लागि सेनाको सडक निर्माण कार्यदलले ७ ठाउँमा सैनिक क्याम्प राखेर काम गरेको थियो । कार्यदलले कालीकोटको लालीघाट, राताडाँडा, बाजुराको पिलुचौर, धुलाचौर, तिथिचौर, हुम्लाको गल्फागाड र खाचामा क्याम्प राखेर सडक निर्माणको काम थालेको थियो । हाल अन्यत्रका क्याम्प हटाइए पनि कालीकोटको लालीघाट, बाजुराको तिथिचौर र हुम्लाको खाचामा क्याम्प कायमै छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भारतको रुपैडियादेखि चीनको तिब्बत जोड्ने उत्तर दक्षिण करिडोरअन्तर्गत यो सडक निर्माण भएको हो । खुलालुदेखि हिल्सासम्म कुल २ सय ८१ किमि लम्बाइ छ । कार्यदलका अनुसार २०७१ चैत ५ गते सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

६ मिटर चौडाइसहितको सडकको काम सकिएपछि सडक विभागलाई हस्तान्तरण गर्न लागेको कार्यदल प्रमुख मिलन कार्कीले बताए । ‘हामीले जिम्मा लिएको सबै काम सकिएको छ,’ उनले भने, ‘अब कालीकोट, बाजुरा, मुगु र हुम्लाका ग्रामीण बस्तीहरू सडक सञ्जालमा जोडिएका छन् ।’ कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक निर्माणको अनुभवका आधारमा कर्णाली करिडोर ६ मिटर चौडा खनेको उनले बताए ।

कालीकोटको खुलालुस्थित कर्णाली नदी पारिबाट मुगु र हुम्ला कर्णाली हुँदै करिब ३ दर्जन खोला र कडा चट्टान छिचोलेर सडक निर्माण गरिएको हो । पाँच वर्षभित्र ट्र्याक खोल्ने लक्ष्य लिएर निर्माणको काम सुरु गरे पनि बाढीपहिरो र हिउँका कारण अवधि लम्बिएको थियो । पछिल्लो दुई वर्ष कोरोनाका कारण निर्माणको काम प्रभावित भएको प्रमुख सेनानी कार्कीले बताए । उनका अनुसार करिडोरमा पर्ने झन्डै एक दर्जन ठूला खोलामा फलामे पुल (बेलिब्रिज) र १० खोलामा कल्भर्ट निर्माण गरिएको छ । कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९.७५ किलोमिटरमा सडक निर्माणको काम सकिएको हो । असार ३१ गते सडक विभागलाई सडक हस्तान्तरण गर्ने तयारी गरिएको कार्कीले बताए । ‘अहिले करिडोरको ठाउँठाउँमा पहिरो खसेको छ,’ उनले भने, ‘वर्षाको बाढीपहिरोले बिगारेको सडक कात्तिक मसान्तसम्म हामीले नै मर्मत गर्नेछौं ।’ कडा चट्टान, पर्याप्त बजेटको अभाव र निकासामा हुने गरेको ढिलासुस्तीले पनि काम प्रभावित भएको उनले बताए । उनका अनुसार अहिलेसम्म सडक निर्माणमा १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।

सल्लीसल्लादेखि हुम्लाको सदरमुकाम सिमकोटसम्मको ५१ किमि सडकमा भने सडक विभागमार्फत काम भइरहेको छ । अब सल्लीसल्ला–सिमकोट खण्डअन्तर्गत दुलीकुनादेखि बोक्चेगौडासम्म १५ किमि चट्टानी भागमा ट्र्याक खोल्न बाँकी छ । उक्त खण्डमा पनि १५ करोड रुपैयाँ बजेटसहित निर्माणको जिम्मा सेनालाई दिने तयारी गरिएको सडक विभागले जनाएको छ । कर्णाली करिडोर निर्माणको जिम्मा सेनालाई दिएर सरकारले कर्णालीका दूरदराजका बासिन्दाको सडक सपना पूरा गरेको एमाले कालीकोटका अध्यक्ष नगिन्द्र शाहीले बताए । ‘सेनाले सडक निर्माणको जिम्मा नपाएको भए गाडी चढ्न स्थानीयलाई अझै एक दशक कुर्नुपर्थ्यो,’ उनले भने, ‘अब कालीकोट, बाजुरा, मुगु र हुम्लाका दर्जनौं गाउँहरू सडकमय बनेका छन् ।’

घाटपारिचौर–भुक्काखोला ट्र्याक खुल्ने

कर्णाली करिडोरलाई घाटपारिचौरबाट बोलुगाउँ हँदै भुक्काखोला जोड्ने गरी नयाँ ट्र्याक खोल्न थालिएको छ । सडक कर्णाली नदीको तिरैतिर थिर्पु पारिको भीर छिचोलेर निर्माण हुन थालेको हो । कर्णाली करिडोरलाई छोटो बनाउन घाटपारिचौरबाट भुक्का खोलासम्मको बनाउन लागिएको सेनाले जनाएको छ । सडक छोटो बनाउन १५ करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको छ । घुमाउरो सडकलाई १८ किमिबाट घटाएर १३ किमिमा झार्न थालिएको हो ।

यसैबीच, कालीकोटमा निर्माण सुरु भएको फुगाड–कर्णाली जलविद्युत् आयोजनाले कर्णाली करिडोर प्रभावित हुने भएको छ । आयोजनाका कारण अधेरीखोलादेखि भुरा बगरसम्मको करिब २२ किमि सडक डुबानमा पर्ने जोखिम छ । डुबानमा पर्ने सडक सान्नीत्रिवेणीको लुसाबाट सेरिज्युला, रकु, तिकुवा, बड्डाला हुँदै लैजानुपर्ने अवस्था आएको सडक विभागले जनाएको छ ।


प्रकाशित : असार ३०, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?