कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विवादले भएन गाउँसभा

राजबहादुर शाही

मुगु — जनप्रतिनिधिबीच विवाद हुँदा सोरु गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । जनप्रतिनिधिको विवादले आठौं अधिवेशन तथा बजेट सभा प्रभावित भएको हो ।

विवादले भएन गाउँसभा

यसअघि असार २० गतेका लागि गाउँसभा तोकिएको थियो । तर एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथिको टुंगो नलाग्दा गाउँसभा हुन नसकेको हो ।

एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपालबहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको हो । प्रमुख अतिथिको विषयमा दुवै दलका जनप्रतिनिधिबीच विवाद हुँदा २० गते गाउँसभा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले बताए ।

असार १० गतेभित्रै गाउँसभा सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल भएको कर्मचारीको भनाइ छ । जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिकाले मात्र बजेट अधिवेशन गर्न सकेको छैन । छायानाथरारा नगरपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले असार १० गते नै गाउँसभा सञ्चालन गरेका छन् । ती पालिकामा बजेटसमेत पारित भइसकेको छ ।

यसअघि तोकिएको मितिमा गाउँसभा बस्न नसकेपछि शुक्रबार बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘फेरि पनि प्रमुख अतिथिका रूपमा विवाद भए बन्द सत्र मात्र गरी बजेट पारित गरिनेछ,’ उनले भने, ‘असार मसान्तभित्र नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि समस्या भयो ।’

सोरुमा विभिन्न बहानामा विवाद हुने गरेको स्थानीय कमल शाहीले बताए । ‘कहिले प्रमुख प्रशासकीय अधिकृत आफ्नो पक्षका राख्न विवाद हुन्छ त कहिले प्रमुख अतिथि बनाउन,’ उनले भने, ‘जनप्रतिनिधिकै विवादका कारण हामीले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनौं ।’ उनका अनुसार विवादकै कारण गाउँपालिकाले अहिलेसम्म प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । सबै वडा भवनविहीन छन् । गत वर्ष पालिकामा करिब ४० करोड रुपैयाँ विनियोजन भएको थियो ।

प्रकाशित : असार २८, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?