कर्णाली प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरुद्ध गरेको छ । यसअघिका बैठकमा जस्तै आज पनि एमालेले बैठकको कार्यसूचीमा प्रवेश गर्न नदिएरै उभिएर बैठक अवरुद्ध गरेको हो ।

कर्णाली प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै

बैठकको सुरुमा बोल्दै एमालेका सांसद पदमबहादुर रोकायाले आफूहरु रहरले भन्दा पनि बाध्यताले बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुने बैठक अवरुद्ध गरिरहनु परेको बताए । ‘हामी यहाँ संसद अवरुद्ध गरिरहेका छौँ,’ उनले भने, ‘प्रदेश सरकार भने हेलिकप्टर चढेर संघीय सरकारले नदिएको अधिकार प्रयोग गरी सीमा क्षेत्र अनुगमन गर्दैछ ।’

उनले एमालेको संसदीय दलले उठाएका माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान राखे । यसअघिका बैठकमा जस्तै सभामुख राजबहादुर शाहीले बस्न आग्रह गरेपनि सांसदहरुले उभिएर बैठक चल्न दिएनन् । एमालेले बैठकमा अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले आगामी शुक्रबारसम्म बैठक स्थगित भएको जानकारी गराए ।

असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता एमालेले नियमित अवरोध गरेपनि संसदमा बजेटमाथि सैद्धान्तिक तथा दफाबार छलफल हुन सकेको छैन । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर ‘फ्लोर क्रस’ गरेपछि कारबाहीमा परेका चार सांसदहरुलाई सर्वोच्चले पुनर्वहाली गराउने भनी गरेको अन्तरिम आदेशपछि प्रतिपक्षीको सिटमा बस्नुपर्ने उनीहरुको माग छ ।

‘फ्लोर क्रस’ गरी विश्वासको मत दिएका सांसद्हरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पार्टीले निलम्बन गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गर्नुपर्ने फैसलासहित अन्तरिम आदेश दिएका थियो । त्यसयता ‘फ्लोर क्रस’ गरी मन्त्री बनेकाहरुलाई राजीनामा दिएर प्रतिपक्षीको सिटमा बस्न संसदीय दलले निर्देशन दिएको थियो । तर माधव नेपाल पक्षका ती सांसदहरुले मानिरहेका छैनन् ।

आफ्ना मुद्दाहरु पूरा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने एमालले बताएको छ ।

प्रकाशित : असार २७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?