कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगरपालिकाको केन्द्र सार्ने निर्णय

७२ जनामध्ये ४८ जनाले ५ नम्बर वडाको सेरीगाउँमा केन्द्र राख्ने पक्षमा मतदान
हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाको केन्द्र अब ५ नम्बर वडाको सेरीगाऊँमा बन्ने भएको छ । नवौं नगरसभाले बिहीबार मतदानबाट वडा नं. १ स्थित जिल्ला सदरमुकाममा रहेको केन्द्रलाई सेरीगाउँमा सार्ने निर्णय गरेको हो ।

नगरपालिकाको केन्द्र सार्ने निर्णय

सभामा ७२ जनामध्ये ४८ जनाले ५ नम्बर वडाको सेरीगाउँमा केन्द्र राख्ने पक्षमा मतदान गरेका थिए । २४ जना अनुपस्थित थिए । विपक्षमा मत खसेन । कांग्रेसबाट निर्वाचित सभाका सदस्यले नगरसभा बहिष्कार गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित सबैले पक्षमा मतदान गरे । सभाको संख्या ७५ हो, जसमध्ये २ जना जिल्ला समन्वय समितिमा गइसकेका छन् । एक सदस्यले राजीनामा दिएपछि सभामा ७२ जना छन् ।

स्थानीय तहको पुनर्संरचनाको क्रममा १ नम्बर वडामा नगरपालिकाको केन्द्र तोकिएको थियो । सुरुमा साबिकका खलंगा र साँख गाविस तथा पछि चौखावाङ, छिवाङ र भलाक्चा गाविस मिलाएर नगरपालिका बनाइएको थियो । यो निर्णय अब प्रदेश हुँदै संघीय सरकारमा जानेछ । संघीय सरकारले निर्णय गरेपछि बल्ल यसको कार्यान्वयन हुनेछ । स्थानीय तहको निर्वाचनपछि कार्यालय सञ्चालन भने ५ नम्बर वडाबाटै हुँदै आएको छ । १ नम्बर वडाको कार्यालय साँघुरो भएपछि ५ नम्बर वडास्थित जिल्ला कृषि विकास कार्यालयको भवनबाट नगरपालिकाले सेवा प्रवाह गर्दै आएको छ । नगरप्रमुख देवीलाल गौतमले सबैको केन्द्रबिन्दु पर्ने गरी केन्द्र बनाउने निर्णय गरिएको बताए ।

१ नम्बर वडा र ५ नम्बर वडामा कार्यालय रहेको दूरी डेढ किलोमिटर मात्रै टाढा भएकाले यसले खासै असर नपर्ने उनको भनाइ छ । ‘सबै वडावासीलाई लक्षित गरी नगरसभाबाट यो निर्णय गरिएको छ,’ उनले भने, ‘यसले नगरपालिकालाई आवश्यक संरचना निर्माण गर्न र कार्यसम्पादन गर्न सहज हुनेछ ।’ नगरको केन्द्र फर्ने निर्णयप्रति कांग्रेसले भने आपत्ति जनाएको छ । नगर सभापति महेन्द्र केसीले विज्ञप्तिमार्फत गलत ढंगबाट नगरको केन्द्र सार्ने निर्णय गरिएको बताए । ‘कसैको व्यक्तिगत स्वार्थको कारण सबैलाई पायक पर्ने ठाउँबाट केन्द्र अन्यत्रै सार्नु राम्रो होइन,’ उनले भनेका छन् । यसअघि सबै राजनीतिक दल ४ नम्बर वडाको ठाराढुंगामा केन्द्र राख्न सहमत भएका थिए । त्यतिबेला पनि कांग्रेसले मानेको थिएन । ठाराढुंगा हाल केन्द्र कायम गर्ने निर्णय गरिएको सेरीगाउँ भन्दा २ किलोमिटर टाढा पर्छ ।

प्रकाशित : असार २७, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?