२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वीरेन्द्रनगरमा धमाधम पार्क बन्दै

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाले यो वर्ष पार्क निर्माणमा ठूलो रकम खर्चिएको छ । चालु आवमा वीरेन्द्रनगर–८ मा सात वटा पार्क निर्माणाधीन छन् ।

वीरेन्द्रनगरमा धमाधम पार्क बन्दै

नगरपालिकाले संघीय र प्रदेश सरकारको समन्वयमा पार्क निर्माणको योजना अघि सारेको हो । यो वर्ष वीरेन्द्रनगरमा मात्रै १२ वटा पार्क निर्माण भइरहेका छन् । अधिकांश पार्क निर्माण भइसकेका छन् । केहीको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकामा यो वर्ष बाल उद्यान, सहिद, भानु , भानुभक्त र बुलबुले उद्यान पार्कमा रकम विनियोजन गरिएको छ । त्यस्तै गडी, मुस्कान, गुराँस, संगम, चौगान, सिटी पार्क र गुरुङचौक पार्क निर्माणाधीन छन् । प्रदेश, संघ र नगरको झन्डै ३ करोड रुपैयाँको लागतमा यी पार्क बन्न लागेका हुन् ।

८ नम्बर वडाको खुलामञ्चमा पार्क बनाउन वीरेन्द्रनगर–६, ७ र ८ नं. वडाले १ करोड रुपैयाँ विनियोजन भएको छ । सोही वडामा मुस्कान, गुराँस, संगम र सिटी पार्कको निर्माण सम्पन्न भइसकेको छ । थप चार पार्क अन्तिम चरणमा पुगेका छन् । नगरपालिकाले गत वर्ष ४ नम्बर वडामा १ करोड १३ लाख रुपैयाँ खर्च गरी सहिद स्तम्भ र पानीको फोहोरा बनाएको थियो । यस वर्ष सोही पार्कमा पर्खाल र स्वागतद्वार निर्माणको काम भइरहेको छ । वीरेन्द्रनगरमै २१ करोड रुपैयाँको लगानीमा चौंघान पार्क निर्माणाधीन छ । उपत्यका नगर विकास समितिमार्फत बन्ने पार्क ५५ रोपनीमा क्षेत्रफलमा निर्माण भइरहेको हो । सहिद पार्कमा अघिल्लो वर्ष वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले गत वर्ष २ करोड ५० लाख र यो वर्ष ७२ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, चौघान पार्कमा गत वर्ष १ करोड छुट्याइएकोमा यो वर्ष १ करोड ७२ हजार रुपैयाँ खर्च हुँदै छ ।

यो वर्ष संगमपार्कमा २५ लाख, गुराँसपार्कमा १५ लाख र भानुपार्कमा १० लाख रकम विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । ‘स्थानीयको माग र नगरपालिकाको सुन्दरताका लागि पार्क निर्माण गरिरहेका हौं,’ उनले भने, ‘पर्यटकीय विकासका लागि पनि पार्क अनिवार्य छ ।’ उनले पुराना र ऐतिहासिक महत्त्वका पार्कलाई थप व्यवस्थित बनाइने बताए । गुरुयोजनाअनुसार पार्क निर्माण भइरहेको उनको भनाइ छ ।

यसैबीच, वीरेन्द्रनगरको खुलामञ्चमा निर्माणाधीन पार्कको काम रोक्न भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले नगरपालिकाले नगर गुरुयोजनाविपरीत पार्क निर्माण गरेको भन्दै यसलाई रोक्न रिट दर्ता गराएका हुन् । सुर्खेत उपत्यका नगर विकास समितिसहित ६ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरिएको छ । उनले सार्वजनिक खुला क्षेत्रमा पार्क निर्माण गरी कुरुप हुनबाट रोक्न रिट निवेदन दर्ता गरिएको बताए ।

प्रकाशित : असार २७, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?