कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमण बढ्दै, छैन सावधानी

ज्योति कटुवाल

दैलेख — स्थानीयले सुरक्षा सावधानी नअपनाउँदा दैलेखमा कोरोना संक्रमण बढेको छ । परीक्षण गराएकामध्ये आधा व्यक्तिमा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

संक्रमण बढ्दै, छैन सावधानी

कार्यालयका अनुसार निषेधाज्ञा खुकुलो भएपछि स्थानीयहरू जथाभावी हिँडडुल गर्दा कोरोना संक्रमण बढेको हो । एक साताको अवधिमा ९९ जनाको स्वास्थ्य परीक्षण गर्दा ५० जनामा कोरोना देखिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । ‘निषेधाज्ञा जारी हुँदा केही समय संक्रमित घटे, तर लकडाउन खुल्नासाथ संक्रमण दर आधा बढ्यो,’ उनले भने, ‘दैनिकजसो संक्रमित बढे नियन्त्रण गर्न गाह्रो हुन्छ ।’

संक्रमण दर मात्रै होइन, दैलेखमा दुई सातायता मृत्युदर पनि बढिरहेको छ । गत आइतबार कांग्रेस दैलेखका पूर्वसभापति जगजंग थापाको कोरोना संक्रमणबाट मृत्यु भयो । त्यसको ३ दिन नबित्दै बुधबार डुगेश्वर गाउँपालिका–२ लाँकुरीका ६१ वर्षीय वडा सदस्य तेजबहादुर थापाले ज्यान गुमाए । संक्रमितको धमाधम मृत्यु भएपछि ग्रामीण क्षेत्रमा त्रास छाएको छ । ‘त्रास बढ्यो तर सावधानी भएन,’ रेग्मीले भने, ‘भीडभाड बढेपछि धमाधम संक्रमित थपिन थाले ।’ उनका अनुसार अहिलेसम्म जिल्ला अस्पतालको आइसोलेसनमा मात्रै २७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या ३ हजार ३ सय ६१ पुगेको छ ।

संक्रमितहरू आइसोलेसनमा नबस्दा संक्रमण फेरि बढ्न थालेको नारायण नगरपालिका–१ का मनोज थापाले बताए । ‘लकडाउन हुँदासम्म स्थानीयहरू बाहिर निस्कनसमेत डराउँथे,’ उनले भने, ‘अहिले त संक्रमित नै खुलमखुला हिँडिरहेका छन् ।’

संक्रमित व्यक्तिले नै लापरबाही गर्दा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनुप श्रेष्ठले बताए । ‘धमाधम मृत्यु बढे पनि सावधान भएन,’ उनले भने, ‘बजार क्षेत्रमा जथाभावी हिँड्नेलाई कडाइ गरिरहेका छौं ।’

उनले मास्क लगाएर र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र अत्यावश्यक काममा निस्कन स्थानीयलाई आग्रह गरिएको बताए । संक्रमित बढेपछि जिल्ला प्रशासनले असार १७ गतेदेखि विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत धार्मिक तथा सामाजिक कार्यमा बढीमा १५ जना मात्रै सहभागी हुन पाउने सूचना जारी गरेको छ ।

प्रकाशित : असार २६, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?