१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एक महिनामै तीन ठाउँ बसाइँसराइ

‘एकै ठाउँमा बसेपछि अन्य समुदायका मान्छेहरुसँग हेलमेल हुन्छ भन्दै छिटो बसाइँ सर्छन्’

काठमाडौं/सुर्खेत — जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरू आफ्नो समुदायमा कुनै घटना नघटेसम्म महिना दिनभन्दा बढी एउटै स्थानमा बस्ने गर्छन् । तर, जेठ महिनायता एकै महिनामा तीन स्थानमा बसाइँ सरेका छन् । जेठको अन्तिम सातामा समुदायकै युवतीलाई यौन दुर्व्यवहार भएपछि उनीहरू एकै महिनामा ३ पटक बसाइँ सर्नुपर्‍यो ।

एक महिनामै तीन ठाउँ बसाइँसराइ

जेठ २१ गते गुर्भाकोट नगरपालिकाको आपसोतीमा राउटे समुदायका दुई युवतीलाई स्थानीय युवकहरूले होटलमा मदिरा खुवाएर यौन दुर्व्यहार गर्नुका साथै भिडियो सामाजिक सञ्जालमा आयो । टिकटक, फोटो र भिडियो बनाउनेको घुइँचो थेग्न नसकेकाले उनीहरू एक महिनामा तीन स्थान बसाइँ सर्न बाध्य भएका हुन् । घटना हुँदा सुर्खेतको गुर्भाकोट–११ भेरी नदी किनारा पारि बस्थे । घटनापछि वारि सरे । असार १० गते सल्यानको कालीमाटी गाउँपालिकाको कोल्टे जंगलमा बस्न पुगेका छन् । ‘यौन दुर्व्यवहारको घटनापछि राउटेहरूले तीन ठाउँ फेरेका छन्,’ मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका सूचना अधिकारी किरण बराम भन्छन्, ‘अहिले उनीहरू सल्यानको कालीमाटी गाउँपालिको कोल्टे जंगलमा छन् ।’

तीन वर्षयता राउटे समुदायमा सहजर्ता भएर काम गर्दै आएकी दुर्गा खत्रीका अनुसार गत वर्षको वैशाखबाट यता २२ स्थानमा सरिसकेका छन् । दुर्व्यवहारको घटनापछि प्रदेश सरकार, स्थानीय पालिका, प्रशासन, मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोगलगायत निकायले स्थलगत निरीक्षण गरेका छन् । फिरन्ते जाति राउटेको जीवनशैलीमाथि बाहिरका अनावश्यक मानिसको जथाभावी प्रवेशलाई निगरानी गर्न प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली खटाएको छ ।

‘एकै ठाउँमा बसेपछि अन्य समुदायका मान्छेहरूसँग हेलमेल हुन्छ भन्दै छिटो बसाइ सर्छन्,’ उनले भनिन् । आफ्नो समुदायमा प्रहरी देखेपछि झनै आत्तिएर बसाइँ सरेको हुन सक्ने सहजकर्ता खत्रीको अनुमान छ । एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने राउटे समुदायको मान्यता छ । पैसा छोएमा पाप लाग्छ भन्ने समुदायमा अहिले पैसाका लागि सम्झौता गर्न तयार भएका छन् । बाह्य समुदायसँग घुलमिल र मदिराको लत नभएको भए यो घटना नघट्ने स्थानीयवासी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख डा. युवराज लुइँटेल राउटे समुदायले एक महिनामै तीन ठाउँमा सरेप्रति संशय प्रकट गर्छन् । ‘राउटेहरू फिरन्ता हुन् भन्ने सबैलाई थाहा छ,’ दुई दशकभन्दा बढी समयदेखि निरन्तर राउटेको अनुसन्धानमा संलग्न लुइँटेल भन्छन्, ‘राज्य र अन्य समुदायबाट टाढा रहने उनीहरूको स्वभाव हो । पछिल्लो घटनाले उनीहरूलाई थप तनाव पैदा गरेको हुन सक्छ । नत्र एक ठाउँमा तीन महिनासम्म बसेर अन्यत्र सर्छन् ।’

आदिवासी जनजाति आयोगकी सदस्य रिना रानामगर राउटेले परम्परागत जीवनशैलीमा बाँच्न चाहेको बताइन् । ‘राउटे समुदायको जीवनशैली जटिल अवस्थामा छ,’ स्थलगत अनुगमन गरी फर्किएकी रानामगरले भनिन्, ‘खानपान अव्यवस्थित र कष्टपूर्ण छ । परम्परागत जीनशैली त्यागेर बाहिर आउन चाहेका छैनन् । यसरी रहने हो भने लोप हुन धेरै लाग्दैन ।’ उनीहरूको मौलिक पहिचान जोगाउन बृहत् दीर्घकालीन योजना बन्नुपर्ने उनले बताइन् ।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राउटे समुदाय न्यूनतम मानव अधिकारबाट वञ्चित रहेको बताइन् । ‘राउटे घुमन्ते समुदाय हुन् त्यसैले राज्यले आवास निर्माण गराएर स्थायी बसोबास गराउनु चुनौती छ,’ स्थलगत अनुगमनबारे अनुभव सुनाउँदै अध्यक्ष पराजुलीले भनिन्, ‘काउन्सेलिङ गरेर व्यवस्थित बसोबास गराउन सकिन्छ । उनीहरू आधुनिक समाजबाट प्रभावित भएका छन् । विस्तारै रूपान्तरण हुने देखिन्छ ।’ दुई युवतीमाथि भएको यौनहिंसाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनले बताइन् ।

सामाजिक विकास मन्त्रालयकी सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवालीका अनुसार राउटे समुदायमा युवतीमाथि के भएको भन्ने बारेमासमेत थाहा छैन । उनले बस्तीलाई जानकारी नगराएरै युवतीहरूलाई न्याय दिन कानुनी प्रक्रिया थालिएको बताइन् । सामाजिक सुरक्षा बुझ्ने लोपोन्मुख फिरन्ते समुदाय राउटेको जनसंख्या १ सय ४६ मात्रै छन् । समुदायमा ७५ महिला र बालिका छन् ।

भत्तामा पुनर्विचार गर्न जरुरी : युवराज लुइँटेल

राउटेको परम्परागत जीवनशैलीमा केही फरकपन आएको छ । सय वर्ष, पचास वर्षअघि सामाजिक कानुन थियो होला । तर अहिलेचाहिँ राउटेहरूमा त्यस्तो कानुन रहेको प्रमाण बाहिर आएको छैन । त्यो भनेको मान्छेलाई जिउँदै मार्ने, गाडिदिने, भीरबाट झारिदिने भन्नेजस्तो परम्परागत मिथ सुनिन्थ्यो । उनीहरूको व्यवहारमा त्यो देखिँदैन ।

गत महिना दुई राउटे युवती दुर्व्यवहारमा परे । उनीहरू अहिले पनि जस्ताको तस्तै हिँडिराखेका, खाइराखेका, बाहिरी संसारसँग सम्पर्कमा रहेको फोटोहरू आइराखेका छन् । उनीहरू खुसी नै छन् । त्यो घटनाको बारेमा राउटे मुखियालाई मात्र होइन, अरूलाई पनि थाहा छ । घटना भएको केही दिनमा युट्युबरहरू छेउछाउमा गएर तिमीहरूको बस्तीमा यस्तो भयो नि थाहा छ कि छैन ? भनेर सोधेको, छलफल गरेको युट्युबहरू बाहिर आएको थियो । त्यसकारण त्यो समाजलाई ठ्याक्कै थाहै छैन भन्ने होइन थाहा छ । खुला रूपमा सबैलाई थाहा नहुन सक्छ । निश्चित व्यक्तिलाई थाहा छ । त्यसकारण राउटेलाई नकारात्मक रूपमा लिनुपर्ने कुरा होइन ।

तर फेरि पनि कसैले निगरानी राख्नुपर्ने हुन सक्छ । अहिले अलिक छिटो ठाउँ छोडिरहेका छन् । एक ठाउँमा टिकेर बस्न सकिरहेका छैनन् । त्यसको कारण बाहिर आएको छैन । तर बाहिर जो भनिन्छ, ती दुई युवतीको जिन्दगी जोखिममा छ । हामीले थाहा नपाई समाप्त पारिदिन्छ भन्ने त्योचाहिँ राउटेहरूप्रतिको नकारात्मक अफवाह मात्रै हो । व्यवहारमा त्यो देखिँदैन । अन्य व्यवहारमा पनि देखिन्न । यसपालि पनि त्यो देखिएको छैन । घटनापछि प्रशासन राज्यबाट टाढा हुनेहरू निरन्तर प्रहरीको निगरानीमा हुनुपर्दा उनीहरूलाई दबाब महसुस भएको हुन सक्छ । पुलिसले छोड्छ कि भनेर चाँडो ठाउँ छाडेको हुन सक्छ । बर्खामास पनि छ । छानेको ठाउँ राम्रो भएन भने पनि अलिकति सुक्खा ठाउँ खोज्दै हिँड्नु परेको हुन सक्छ । उनीहरू प्रायः तीन महिनासम्म एकै ठाउँमा बस्छन् । अहिले त्यो घटना घटेपछि अलिक धेरै छिटो सरेका छन् ।

गोपनीयताका कारण चाँडै हिँडेको हुन सक्छ । तर हामीले बुझ्नुपर्ने पहिलाजस्तो अहिलेको राउटे होइन । उनीहरू गाउँपालिका, नगरपालिकामा गएर आफ्नो कुरा प्रस्टसँग राख्न सक्छन् । प्रहरी प्रशासनसँग कुरा गर्न सक्ने अवस्थामा पुगिसकेका छन् । त्यो घटनापछि विभागका तर्फबाट हामीले अनलाइनबाट छलफल राख्यौं । गुराँस गाउँपालिकाका अध्यक्ष, एनजीओका प्रतिनिधि, स्थानीय गैरराउटे समुदाय, जानकारमाझ छलफल गर्‍यौं । त्यसबाट आएका कुरालाई लिएर मन्त्रालय र सरकारको नीति अध्ययन संस्थासँग बसेर राउट नीति निर्माण कार्यक्रम गर्नेछौं ।

खासगरी सरकारले दिँदै आएको भत्ताले उनीहरूको जिन्दगीमा धेरै असर गरेको देखियो । त्यसका बारेमा पुनरावलोकन र प्रतिबिम्बन गरेर वैकल्पिक उपाय केही हुन सक्छ कि भन्नेबारे छलफल गर्ने विभागको योजना छ । छलफलबाट केही विकल्प आएका छन् । पहिलो, अहिले जे छ त्यसैलाई निरन्तरता दिने । दोस्रो, उनीहरूले दस–बाह्र वर्षदेखि घुम्ने गरेको रुट पत्ता लगाएर ‘राउटे रुट’ भनेर घोषणा गर्ने र त्यहाँ अरू मानिसको प्रभाव रोक्ने । राउटे पूरै जंगलमा पनि बस्न सक्दैन, पूरै बस्तीमा पनि बस्न सक्दैन । पानीको स्रोत पनि चाहिन्छ । उनीहरू बगेको पानीमात्र खान्छन् । कुवाको जमेको पानी खाँदैनन् । सबै परिबन्द मिलाएर उनीहरूलाई उपयुक्त हुने मौसमअनुसारको अल्टिच्युट पनि मिलाएर ठूलो क्षेत्रलाई राउटे परिभ्रमण क्षेत्र घोषणा गर्न सकिन्छ । त्यहाँ उनीहरूलाई संरक्षित रूपमा र बाहिरी प्रभाव नपर्ने गरी घुम्न दिन सकिन्छ ।

अर्कोचाहिं जीवित संग्रहालय बनाउने भन्ने छ । उनीहरूलाई ठूलो जंगलमा बस्न दिने । हाम्रो जस्तो घरजम गरेर बस्न भन्न मिल्दैन । ठूलो जंगलमा जस्तो जनावरलाई चिडियाघर बनाइन्छ । त्यहाँ जोकोही जान पाउँदैन । राउटेको ठूलो जंगलमा पनि अरू मान्छे जान पाउँदैन । उनीहरू आलोपालो गरेर, सिकार खेलेर, कन्दमूलहरू खाएर त्यहींको छिमेकी बस्तीहरूसँग आफ्नो काठको सामानहरू (कोसी) बेचेर जीविकोपार्जन गर्न सक्छ । अर्को राउटेले उत्पादन गरेको काठको सामान बनाउने सीप छ, त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सक्यो भने त्यसबाट केही पैसा आउँछ । त्यसबाट राउटेको जीविकोपार्जन चल्छ भन्ने कुरा छ । तर अहिले सरकारले राउटेलाई पर्याप्त मात्रामा हेरिरहेको छ । कुनै गुनासो छैन मलाई । अहिले एक जना राउटे जन्मेपछि मासिक पाँच हजार रुपैयाँ पाउँछ । एउटा परिवारमा चार सदस्य भएमा महिनामा २० हजार रुपैयाँ पाउँछन् । त्यो सानो रकम होइन, राउटेका लागि ।

प्रकाशित : असार २४, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?