२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बाग्चौरमा अक्सिजन प्लान्ट

सल्यान — बाग्चौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले झन्डै २० लाख रुपैयाँको मिनी अक्सिजन जडान गरेको हो । 

बाग्चौरमा अक्सिजन प्लान्ट

केन्द्रको सहयोगमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताए । उनका अनुसार प्लान्ट जडान गर्न केन्द्रबाट सात जना प्राविधिकको टोली आएको थियो । ‘अब कोही पनि कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने छैन,’ उनले भने, ‘अन्य स्वास्थ्य समस्याका बिरामीलाई पनि अक्सिजन आवश्यक भए तत्काल दिन सक्छौं ।’

अक्सिजनको अभावका कारण विकट क्षेत्रका बिरामी र संक्रमितको ज्यान गएको भन्दै केन्द्रले बाग्चौरसहित ५ स्थानीय तहलाई मिनी अक्सिजन प्लान्ट दिएको हो । प्लान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटक १२ बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए ।

आइसोलेसनमा अहिले पाँच जना संक्रमित उपचाररत छन् । अक्सिजनकै अभावमा नगरभित्रका २५ कोरोना संक्रमितले ज्यान गुमाएका थिए । ‘अब तेस्रो लहरको संक्रमण देखिए पनि उपचार सम्भव हुनेछ,’ उनले भने, ‘यसअघि अक्सिजन अभाव हुँदा अधिकांश संक्रमित जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो ।’ नगरपालिकाका अनुसार बाग्चौरमा अहिलेसम्म २ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : असार २२, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?