चार वर्षदेखि खानेपानी आयोजना अधुरै- कर्णाली - कान्तिपुर समाचार

चार वर्षदेखि खानेपानी आयोजना अधुरै

सदरमुकामवासी खोलाको धमिलो पानी पिउन बाध्य
भीमबहादुर सिंह

जाजरकोट — सदरमुकामस्थित खलंगा सहलगानी खानेपानी आयोजनाको काम चार वर्षदेखि अधुरै छ । सदरमुकाम खलंगाका बासिन्दालाई खानेपानी सुविधा पुर्‍याउन थालिएको आयोजना बजेट अभावले अलपत्र परेको हो । 

जाजरकोटको खलंगा सह–लगानी खानेपानी आयोजनाको रानागाउँस्थित पानी प्रशोधन केन्द्र र पानी ट्यांकीलगायतका संरचना । तस्बिर : भीमबहादुर/कान्तिपुर

अहिलेसम्म आयोजनाको झन्डै ८५ प्रतिशत काम पूरा भएको छ । तर सवा करोड बजेट नपुग हुँदा खानेपानी आयोजना अलपत्र परेको हो । समयमै आयोजना सम्पन्न नहुँदा वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका खलंगावबासी खोलाको धमिलो पानी पिउन बाध्य छन् । सदरमुकामका १ हजार घरधुरीलाई दैनिक ८ लाख लिटर शुद्ध खानेपानी वितरण गर्नका लागि आयोजना सुरु भएको हो ।

खलंगामा पानीको अभाव बढेपछि १० किमि टाढाको पोखरा, ५ किमि दूरीको बुद्बुदी र ३ किमि टाढाको भेरी नदीबाट पानी ल्याउने गरी आयोजनाको डिजाइन स्वीकृत भएको थियो । आयोजनाले दुई वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा ७५ प्रतिशत सरकारी लगानी र २५ प्रतिशत उपभोक्ताले व्यहोर्नुपर्नेछ ।

उपभोक्ताले व्यहोर्नुपर्ने १ करोड १९ लाख रुपैयाँ नपुग हुँदा निर्माण अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष वसन्तप्रसाद शर्माले बताए । उनका अनुसार आयोजनाका लागि ६ वटा ट्यांकी, पोखरा–बुदबुदी पाइपलाइन, प्रशोधन केन्द्रलगायतको काम पूरा भइसकेको छ । पाइपलाइन वितरण र धारा जडानलगायतको काम पनि सकिएको उनले जानकारी दिए । आयोजनामा अहिलेसम्म १२ करोड ७९ लाख रुपैयाँको काम भइसकेको छ ।

आयोजनामा करिब १९ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । पहिलो चरणको काम सकिएको निर्माण कम्पनी लुम्बिनी/केशव शाह जेभीले जनाएको छ । उपभोक्ताले ३ करोड १८ लाख रुपैयाँ व्यहोर्नुपर्नेमा अहिलेसम्म उपभोक्ताबाट ३३ लाख र अन्य निकायबाट डेढ करोड रुपैयाँ बजेट जुटेको कम्पनीले जनाएको छ । थप १ करोड १९ लाख रुपैयाँ जुट्न नसक्दा आयोजना लथालिङ्ग भएको उपभोक्ता समितिका अध्यक्ष शर्माले बताए ।

आयोजना नबन्दा खानेपानी समस्या चुलिएको भेरी नगरपालिका–३ थाप्लेकी सुष्मा शाहले बताइन् । ‘कहिलेकाहीँ आउने पानी पनि धमिलो हुन्छ, खोलाको पानी नछानेरै डाइरेक्ट धारोमा खसाल्दा खान समस्या भयो,’ उनले भनिन्, ‘त्यस्तो धमिलो पानी कसरी पिउने ?’ अब आयोजनामा पानी वितरण लाइन विस्तार र फिटिङ घेराबारको काम मात्र बाँकी रहेको अध्यक्ष शर्माले बताए ।

उपभोक्ताले आयोजनामा लगानी गर्न नसक्दा र अन्य निकायले सहयोग नगर्दा आयोजना अलपत्र परेको उनको भनाइ छ । आयोजनामा उपभोक्ताका तर्फबाट लगानी नहुँदा समस्या भएको संघीय खानेपानी आयोजना फिल्ड कार्यालयका इन्जिनियर रामसुन्दर चौधरीले वताए । ‘आयोजनाको डिजाइन र बजेटको तालमेल नहुँदा पनि काम अलपत्र पर्‍यो,’ उनले भने, ‘डिजाइनमा वितरण टंकी राख्ने स्थान यकिन नहुँदा पनि समस्या छ ।’ उनका अनुसार पहिलो चरणको काम हस्तान्तरण भएपछि दोस्रो चरनको काम सुरु हुनेछ । दोस्रो चरणमा भेरी नदीको पानी पम्पिङ गरी खलंगामा पुर्‍याउने उल्लेख छ ।

प्रकाशित : असार २२, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

बाग्चौरमा अक्सिजन प्लान्ट

कान्तिपुर संवाददाता

सल्यान — बाग्चौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले झन्डै २० लाख रुपैयाँको मिनी अक्सिजन जडान गरेको हो । 

केन्द्रको सहयोगमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताए । उनका अनुसार प्लान्ट जडान गर्न केन्द्रबाट सात जना प्राविधिकको टोली आएको थियो । ‘अब कोही पनि कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने छैन,’ उनले भने, ‘अन्य स्वास्थ्य समस्याका बिरामीलाई पनि अक्सिजन आवश्यक भए तत्काल दिन सक्छौं ।’

अक्सिजनको अभावका कारण विकट क्षेत्रका बिरामी र संक्रमितको ज्यान गएको भन्दै केन्द्रले बाग्चौरसहित ५ स्थानीय तहलाई मिनी अक्सिजन प्लान्ट दिएको हो । प्लान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटक १२ बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए ।

आइसोलेसनमा अहिले पाँच जना संक्रमित उपचाररत छन् । अक्सिजनकै अभावमा नगरभित्रका २५ कोरोना संक्रमितले ज्यान गुमाएका थिए । ‘अब तेस्रो लहरको संक्रमण देखिए पनि उपचार सम्भव हुनेछ,’ उनले भने, ‘यसअघि अक्सिजन अभाव हुँदा अधिकांश संक्रमित जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो ।’ नगरपालिकाका अनुसार बाग्चौरमा अहिलेसम्म २ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : असार २२, २०७८ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×