कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विद्यार्थीलाई खेतमा भ्याइनभ्याइ

वैशाखयता खेतबारीमा अभिभावकलाई सहयोग गर्दै आइरहेका बालबालिका इन्टरनेटको पहुँचमा नभएकाले सिकाइमा समस्या
तुलाराम पाण्डे

कालीकोट — खाडाचक्र–३ ताडीका नवीन पाण्डे दिनहुँ बारीमा व्यस्त छन् । कक्षा ११ मा अध्ययनरत उनको विद्यालय सञ्चालन नभएको झन्डै ४ महिना पुग्यो । ‘पढाइभन्दा खेतबारीमै काम गर्न ठिक्क छ,’ उनले भने, ‘कहिले रोपाइँको हली र खेतालो लाग्ने, कहिले मकै गोड्ने र कोदो भित्र्याउने काम व्यस्त हुनुपरेको छ ।’ 

विद्यार्थीलाई खेतमा भ्याइनभ्याइ

उनी बिहान छिमेकीको मकै गोड्न जान्छन् भने दिउँसो प्रधानमन्त्री रोजगार कार्यक्रमको सडक खन्ने काममा ज्याला मजदुरी गर्छन् । उनले निषेधाज्ञामा फलाता पानी ट्यांकी निर्माणमा काम गरेको बताए ।

सुर्खेतस्थित सेन्ट मेरिज स्कुलमा अध्यनरत हिमाल पाण्डेको दिनचर्या पनि आजभोलि यस्तै छ । उनी घरमै आमाबाबुलाई खेतीकिसानीमा सहयोग पुर्‍याउँछन् । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको खबर गरे पनि इन्टरनेट नहुँदा पढ्न नपाएको उनले गुनासो गरे ।

गत वर्ष चैतदेखि सुरु भएको लकडाउनले मंसिरसम्म बालबालिकाको पढाइ प्रभावित भयो । यसपटक वैशाख १७ देखि विद्यालय बन्द हुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । विद्यालयमा भर्ना खुला गरे पनि असारमा खेतीपातीको सिजन भएकाले विद्यार्थी भर्ना हुन नआएको जनजीवन मावि ताडीका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए । उनले कोभिड महामारीको प्रकोप कम भएपछि पढाइ सञ्चालन गरिने बताए ।

वैशाखयता खेतबारीमा अभिभावकलाई सहयोग गर्दै आइरहेका ग्रामीण भेगका बालबालिकाहरू इन्टरनेटको पहुँचमा नभएकाले सिकाइमा समस्या छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले विद्यालय शिक्षाको निरन्तरताको लागि सरोकारवालासँग छलफल भइरहेको बताए ।

८० प्रतिशत रोपाइँ

समयमै पानी परेकाले यस वर्ष कालीकोटमा हालसम्म ८० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । पानी नपरेको वर्ष जिल्लामा साउन पहिलो हस्तासम्म रोपाइँ चल्थ्यो । यो वर्ष असार १५ मै अधिकांश खेतमा रोपाइँ सकिएको खाडाचक्र नगर कृषि शाखा प्रमुख परशुराम काफ्लेले बताए । उनका अनुसार चिल्खाया, जुविथा, राचुली, फोई, ओदा, गेला, सेरा, बत्तीस, मेहेलमुडी, मुम्रा, रास्कोट, थिर्पुलगायतका जिउलोमा धान रोपाइँ सकिएको छ ।


प्रकाशित : असार २०, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?