कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जताततै अखाद्य वस्तु

‘व्यवसायीले म्याद नाघेका खाद्यवस्तु बिक्री गरी उपभोक्ताको स्वाथ्यमा खेलवाड गरिरहेका छन्’
भीमबहादुर सिंह

जाजरकोट — सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा निषेधाज्ञाको मौका छोपी म्याद नाघेका अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो । 

जताततै अखाद्य वस्तु

म्याद नाघेका खाद्यवस्तु फेला परेपछि भेरी नगरपालिका–४ शान्तिचौतारास्थित मल्ल ब्रदर्स एन्ड सप्लायर्सको गोदाम सिल गरिएको छ । अन्य साना व्यापारीलाई चेतावनी दिइएको प्रशासनले जनाएको छ । उक्त सप्लायर्सलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार सप्लायर्सबाट चेवनप्रास, हजमोला, तेल, मन्जन, जुसलगायत सामग्री बरामद गरी नष्ट गरिएको हो । बजार अनुगमनको सूचना पाएर ब्रदर्सका प्रोपराइटर कृष्ण मल्लले केही अखाद्य सामग्री गाडीमा राखेर ४ किमि टाढा बोहरागाउँ पुर्‍याएको भेटिएको थियो । टोलीले बोहरागाउँ पुगेर चाउचाउ, बिस्कुटलगायत सामग्री पनि नष्ट गरेको प्रशासकीय अधिकृत देवकोटाले बताए । लकडाउनका कारण बिक्री गर्न नपाउँदा खाद्यवस्तुको म्याद नाघेको सञ्चालक मल्लले दाबी गरे ।

लकडाउनको फाइदा उठाउँदै जिल्लाका व्यापारीले अखाद्य वस्तु बिक्री गरिरहेको भेरी नगरपालिका–४ का वडाध्यक्ष खम्बजंग शाहले बताए । ‘जुन पसलमा अनुगमन गरियो, त्यसैमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो,’ उनले भने, ‘व्यवसायीले म्याद नाघेका खाद्य वस्तु बिक्री गरी उपभोक्ताको स्वाथ्यमा खेलवाड गरिरहेका छन् ।’ उनले कैफियत भेटिएका पसलमा मूल्यसूची राख्न, अखाद्य वस्तु बिक्री नगर्न र म्याद नाघेका वस्तु नष्ट गर्न निर्देशन दिइएको बताए ।

अनुगमन टोलीले शान्तिचौतारास्थित गोरख रावतको खाद्य पसलबाट पनि ठूलो परिणाममा बिस्कुट, दाललगायत सामग्री बरामद गरी नष्ट गरेको छ । रावतको गोदाममा पनि सिल गरिएको टोलीले जनाएको छ ।

सदरमुकाम खलंगाबाट सुरु अनुगमनलाई जिल्लाभर पुर्‍याइने प्रशासकीय अधिकृत देवकोटाले बताए । ‘अन्य व्यापारिक केन्द्रमा पनि कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अखाद्य वस्तुको बिक्रीवितरण गर्ने गरेको गुनासो आइरहेको छ,’ उनले भने, ‘केही किराना तथा खाद्य पसलमा मदिरा र सूर्तीजन्य पदार्थसमेत सँगै राखेर बेच्ने गरेको पाइयो, उनीहरूलाई पहिलोपटक चेतावनी दिएको छ ।’


प्रकाशित : असार १८, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?