कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७३ दिनदेखि स्वास्थ्यकर्मी धर्नामा

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ७३ दिनदेखि धर्नामा छन् । कोरोना महामारीकै समयमा नगरपालिकाले आफूहरूलाई हाजिर नदिएको भन्दै ४६ स्वास्थ्यकर्मी धर्नामा बसिरहेका हुन् ।

७३ दिनदेखि स्वास्थ्यकर्मी धर्नामा

स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरूलाई नगरपालिकाले केही पद रिक्त भएको भन्दै सहमतिपत्र दिएको थियो । पत्रमा तत्काल हाजिर भई कामकाज गर्न उल्लेख गरिएको छ । सबै कर्मचारी समायोजन मिलनसम्बन्धी मापदण्ड–२०७७ बमोजिम नै सरुवा भई आएका हुन् । ‘यहाँ स्वास्थ्यकर्मीको दरबन्दी थिएन भने किन हामीलाई दरबन्दी खाली छ भन्दै पठाइयो ?,’ जनस्वास्थ्य निरीक्षक चर्तुभुज गौतमले भने, ‘खाली भएको सिफारिस दिएर अहिले दरबन्दी छैन भनिएपछि आन्दोलन गर्न बाध्य भएका हौं ।’

उनले ७३ दिनदेखि नगरपालिका अगाडि पीपलचौतारामा धर्ना बसिरहेको बताए । उनी वैशाख ६ गते लेकबेंसीबाट रमाना लिएर वीरेन्द्रनगरमा हाजिर हुन आएका हुन् । स्वास्थ्यकर्मीअनुसार नगरपालिकाले चैत २७ गतेसम्म दरबन्दी पद रिक्त भएको भन्दै सिफारिसपत्र दिएको थियो । ‘हामी कार्यरत रहेको स्थानीय तह र नगरपालिकाको सहमतिअनुसार नै यहाँ आएका हौं,’ दैलेखको गोगनपानीबाट सरुवा भएर आएकी अनमी निशा रिजालले भनिन्, ‘स्वास्थ्यकर्मीको अभाव रहेकै बेला हामीलाई काम गर्न दिइएन ।’

कोरोना महामारीकै अवस्थामा पनि आफूहरू कामविहीन बन्नुपरेको उनले गुनासो गरिन् । आन्दोलनरत स्वास्थ्यकर्मीले ३ महिनासम्म तलब खान नपाएको गुनासो गरेका छन् । चाहिनेभन्दा बढी कर्मचारी आएपछि काममा लगाउन समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । ‘अहिले यहाँ कार्यरत कर्मचारीलाई पनि तलब खुवाउन समस्या छ,’ उनले भने । उनका अनुसार नगरपालिकामा ३८ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले थप ५३ स्वास्थ्यकर्मी सरुवा भएर आएपछि समस्या भएको उनले सुनाए । नगरपालिकाले सहरी स्वास्थ्य क्लिनिकका लागि १६ जना माग गरेकोमा ५३ जनालाई पठाइएको ढकालको भनाइ छ ।


प्रकाशित : असार १८, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?