निषेधाज्ञामा चर्को भाडा असुली- कर्णाली - कान्तिपुर समाचार

निषेधाज्ञामा चर्को भाडा असुली

सल्लीबजारबाट नेपालगन्जसम्मका लागि बसमा ३ सय ५० र साना गाडीमा ४ सयदेखि ५ सय रूपैयाँसम्म भाडा तोकिएकोमा व्यवसायीले प्रतिव्यक्ति दुई हजार रूपैयाँसम्म भाडा लिइरहेको यात्रुको गुनासो
विप्लव महर्जन

सल्यान — निषेधाज्ञाको मौका छोपी जिल्लाका यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा लिन थालेका छन् । विशेषगरी रोजगारीका लागि भारत जानेहरूसँग चर्को भाडा असुल्न थालिएको छ ।

सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाबाट जिल्लाबाहिर जान गाडी चढ्दै यात्रु । तस्बिर : विप्लव /कान्तिपुर

स्थानीय प्रशासनले सार्वजनिक गाडी सञ्चालन गर्न नदिए पनि अनुमतिपत्रका आधारमा यातायात सञ्चालन गर्न दिएको छ । अहिले जिल्लाबाट दैनिक ५ वटासम्म गाडी विभिन्न जिल्लाका लागि छुट्ने गरेका छन् । व्यवसायीले महँगो भाडा लिन थालेपछि मजदुरीका लागि भारत जाने विपन्न नागरिकलाई मर्का परेको छ ।

गाउँमा खेतबारीको काम सकिएको भन्दै एक सातायता भारत जानेहरूको संख्या बढेको छ । सल्लीबजारबाट नेपालगन्जसम्मका लागि बसमा ३ सय ५० र साना गाडीमा ४ सयदेखि ५ सय रुपैयाँसम्म भाडा तोकिएको छ । तर व्यवसायीले प्रतिव्यक्ति दुई हजार रुपैयाँसम्म भाडा लिइरहेको यात्रुको गुनासो छ ।

गाउँमा रोजगारी नपाइँदा भारत जानुको विकल्प नभएको बन्गाडकुपिण्डे नगरपालिका–५ का रामबहादुर रोकाले बताए । उनले ५ दिनदेखि नेपालगन्ज जान खोजे पनि भाडा महँगो हुँदा जान नसकिएको बताए । ‘एक त गाडी पाइँदैन,’ उनले भने, ‘पाइए पनि भाडा अचाक्ली महँगो छ ।’ उनी कोरोना महामारीकै कारण गत वर्ष भारतबाट रोजगारी गुमाएर फर्किएका हुन् । बाटोमा चेकजाँच नहुँदा यातायात व्यवसायीको मनोमानी बढिरहेको बामेका लालबहादुर बुढाले बताए ।

बामेबाट नेपालगन्जसम्मका लागि ५ सय रुपैयाँ भाडा तोकिए पनि २ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता भएको उनको गुनासो छ । जरुरी काममा बाहिर जानेहरूका लागि अनुमतिपत्र लिएर गाडी सञ्चालन गरिरहेको भेरी–राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष इन्द्र पुनले बताए । उनका अनुसार यातायात व्यवसायीलाई नियमअनुसार नै भाडा लिन निर्देशन दिइएको छ । ‘नियमित गाडी सञ्चालन नभएकाले केहीले रिजर्वमा गाडी लिइरहेका छन्,’ उनले भने, ‘बढी भाडा लिएको पाइए व्यवसायीलाई कारबाही गरिनेछ ।’

उनका अनुसार सल्लीबजारबाट नेपालगन्ज, जाजरकोट, चौरजहारीलगायत ठाउँमा दैनिक ५/६ वटा गाडी सञ्चालन भइरहेका छन् । इलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी नायब निरीक्षक विनोद रेग्मीले पास लिएर सञ्चालन भएका गाडीलाई ठाउँठाउँमा चेकजाँच गरिरहेको बताए ।

प्रकाशित : असार १७, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा ४६ प्रतिशत रोपाइँ

यस वर्ष सजिलै मल, बीउ पाएको र पर्याप्त पानी परेकाले धान धेरै फल्ने किसानको अनुमान
सन्जु पौडेल, कमल पन्थी

लुम्बिनी/बर्दिया — रूपन्देहीको तिलोत्तमा–६ का टीकाराम चापागाईं मंगलबार बिहान बाँकी रोपाइँ सक्न खेतमा पुगे । धान दिवस पर्ने भएकाले उक्त खेत रोप्न असार १५ पर्खेको उनले बताए । ‘असार १५ किसानका लागि विशेष दिन हो,’ उनले भने, ‘रोपाइँ सकिने दिनका रूपमा मनाउने गरिएको छ ।’ यस वर्ष सजिलै मल, बीउ पाएको र पर्याप्त पानी परेकाले धान धेरै फल्ने उनले अनुमान सुनाए । 

दाङको तुलसीपुर–७ खर्चवामा मंगलबार धान रोपिँदै। तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

सैनामैना–७ देउवापारका ठाकुरप्रसाद न्यौपानेलाई पनि अहिलेको रोपाइँ र असार १५ खल्लो लाग्यो । आफू १२ वर्षको हुँदादेखि नै कृषिमा लागेका उनले टपरीमा खाइने दही–चिउरा, हिलाम्य हुने अन्तिम रोपाइँ अहिले नदेखिने बताए । ‘समय परिवर्तन भयो भन्ने कि मानिस,’ उनले भने, ‘अहिले त रोपाइँ पनि देखावटीजस्तो भयो ।’ उनले रोप्दै फोटो खिच्दै गर्ने प्रचलन बढेको देख्दा खास किसानले त्यति गर्न पनि नभ्याउने सुनाए ।

नयाँ पुस्ताले भने धान रोपाइँसँगै अन्य पर्व, दिवस आदिलाई फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने अवसरका रूपमा लिएको पाइन्छ । धान रोपाइँ भइरहेको खेतमा बीउ हातमा लिई तस्बिर खिच्ने, रोपाइँको ब्लग नै बनाएर युट्युबमा राख्ने युवाको जमात सञ्जालमा प्रशस्तै देखिन्छ । युवा पुस्ताले कृषि विषय लिएरै पढेको भए पनि कृषिका काम प्रयोगात्मक परीक्षाका लागि सीमित राख्ने गरेका छन् ।

बर्दियामा मंगलबारसम्म करिब ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असार पहिलो सातासम्म जिल्लामा मनसुन सक्रिय नभएका कारण रोपाइँ ढिलो भएको हो । जिल्लाको सिँचाइ हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा झन्डै ९० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।

राजापुर पश्चिम नेपालको धान उत्पादन हुने भण्डार मानिन्छ । राजापुर टप्पुको १४ हजार हेक्टरमा सिँचाइ सुविधा भएका कारण रोपाइँ असार चौथो साताभित्र शतप्रतिशत हुने अनुमान गरिएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले हालसम्म बर्दियामा करिब ६१ प्रतिशत रोपाइँ भए पनि असार महिनाभित्र सकिने बताए । बर्दियाको करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनले जनाए । यहाँका ७० प्रतिशत किसानले हलोबाट जोत्ने गरेका छन् । सिँचाइ सुविधा भएको मधुवन नगरपालिकाको केही क्षेत्रलगायत ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा ५५ प्रतिशत रोपाइँ भएको छ ।

रूपन्देहीमा असार ११ गतेसम्मको तथ्यांक हेर्दा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको थियो । रूपन्देहीमा कुल ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ६९ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका अधिकृत दीनबन्धु पौडेलले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशमा रहेको कुल ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ३४ हजार ६ सय ७५ हेक्टरमा धान खेती हुन्छ । समग्र प्रदेशमा यस वर्ष करिब ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशभरि धान खेती हुने कुल ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

प्रकाशित : असार १७, २०७८ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×