तीन ठाउँबाट जोडिँदै सडक

त्रिदेशीय सडकमा जोडिँदा एकतिर स्थानीयवासी खुसी छन् भने एर्कोतिर सडक निर्माण सुस्त हुँदा निराश
ज्योति कटुवाल

दैलेख — भारतीय सीमा नाका जमुनाहा हुँदै चीन छुने सडकको २०७६ जेठ ७ गते शिलान्यास भयो । सडक शिलान्यास भएको ३ वर्ष नबित्दै दैलेखको ३ स्थानबाट सडक खोलिएका छन् । 

तीन ठाउँबाट जोडिँदै सडक

तीन स्थानबाट त्रिदेशीय सडकमा जोडिँदा एकतिर स्थानीयवासी खुसी छन् भने एर्कोतिर सडक निर्माण सुस्त गतिमा हुँदा उनीहरूको निराशा छाएको छ । माथिल्लो डुगेश्वर–बैक–दुल्लु हुँदै कुशापानीबाट कालीकोटको भर्ता भएर नाग्म जोडिने गरी सुरुमा सर्भे गरिएको सडक अब थप दुई स्थानबाट जोडिने भएको हो ।

कर्णाली प्रदेशका ५ जिल्ला जोड्नका लागि दैलेखका तीन स्थानबाट सडक खनिएको हो । अहिले तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्मा, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडिन बाटो खनिएका छन् ।

यी तीन वटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्ममा जोडिने छन् । चालु आर्थिक वर्षमा यी ३ वटा सडकमा केन्द्र सरकारबाट झन्डै ४० करोड रकम विनियोजित भएको छ । तर सडकमा बर्सेनि बजेट आए पनि फ्रिज हुने गरेको छ । भैरबी गाउँपालिका अध्यक्ष प्रेम बुढाले आफ्नो पायक पर्ने स्थानबाट नेताहरूले सडक खुलाएको आरोप लगाए । फरकफरक निर्वाचन क्षेत्र बनाएर सडक खोल्न्भुन्दा एउटै स्थानबाट गतिलो सडक बनाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार संघीय सरकारले गत वर्ष माथिल्लो डुगेश्वर हुँदै नाग्म जोडिने सडकमा ५६ करोड रुपैयाँ छुट्याएको थियो । तर ६ करोड रुपैयाँको मात्र काम भयो ।

उनले यी सडकको नाममा प्रत्येक वर्ष बजेट आउने गरे पनि दैलेखबाट काम सुरु नगरेरै यो आयोजनाले अन्य जिल्लाबाट काम सुरु गरेको बताए । ‘नाम दैलेखको आउँछ, काम अन्तबाट हुन्छ,’ उनले भने, ‘दैलेखलाई हेपाहा प्रवृत्ति भयो ।’ साविक ३ वर्षमा यी सडकमा ५६ करोड, ३० करोड र २० करोड रुपैयाँ विनियोजन भएको छ । सुर्खेत सडक डिभिजनका इन्जिनियर तुलाराम शर्माले यो वर्षमा सोचेअनुसार काम हुने दाबी गरे । ‘त्रिदेशीय सडकलाई दैलेखबाट जोड्न निकै छिटो र कम समय लाग्छ,’ उनले भने, ‘सुर्खेतबाट कर्णाली राजमार्गको बाटो हुँदै कालीकोटको नाग्म पुग्न २ सय किमि छ । दैलेखको महाबुबाट जाँदा ६० किमि छोटो हुन्छ ।’

अहिले यी ३ वटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रेको काम भइरहेको छ । केही ठाउँमा ठूला भीरमा चट्टान फोड्ने काम पनि जारी छ । अहिले दैलेखको महाँबुमा ११ किलोमिटर कडा चट्टान भेटिएको छ । कालीकोटको भैंसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म ८ किलोमिटरमा चट्टान छ । यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुने सडक डिभिजन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा विकास गतिविधि कसैका कारण अवरोध हुन नदिने बताए । ३ स्थानबाट सडक सञ्चालनमा आए दैलेखको आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने उनको भनाइ छ ।

प्रकाशित : असार १६, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?