कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ खोप अपर्याप्त

जनकबहादुर शाही

हुम्ला — सरकारले चीनसँग सीमा जोडिएका स्थानीय तहका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउन परिपत्र गरे पनि हुम्लामा निकै कम खोप आइपुगेको छ । यसले गर्दा सीमा क्षेत्रका बासिन्दा भएर पनि खोपबाट वञ्चित हुने भएका छन् ।

चिनियाँ खोप अपर्याप्त

हुम्लामा ७ स्थानीय तहमध्ये नाम्खा, सिमकोट, खार्पुनाथ र चंखेली गाउँपालिका चीनसँग जोडिएका छन् । ती स्थानीय तहमा करिब २८ हजार जनसंख्या छ । जिल्ला खोप समन्वय समितिले भने नाम्खा गाउँपालिका वडा नं. ५ र ६ का नागरिकलाई मात्र खोप लगाउने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका सदस्यसचिव एवं स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एकातिर जिल्लाभर खोप लगाउनेको संख्या यकिन नभएको र अर्कोतिर खोप अपुग भएकाले सरकारको निर्देशनअनुसार सीमा क्षेत्रका सबै स्थानीय तहका नागरिकलाई खोप लगाउन नसकिएको बताए । उनका अनुसार सरकारले पर्याप्त खोप नपठाउँदा जिल्ला खोप समन्वय समितिले सीमा जोडिएका केही वडाका नागरिकलाई मात्र लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि गरेको परिपत्रको बुँदा नं. ४ मा चीनसँग सीमा जोडिएका स्थानीय तहका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन निर्देशन दिइएको छ । परिपत्रको बुँदा नं. ३ मा हिमाली जिल्लाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन भनिएको छ । चीनसँग सीमा नजोडिएका हिमाली क्षेत्रमा पर्ने यहाँका अन्य ३ स्थानीय तहको जनसंख्या करिब २३ हजार छ । उक्त क्षेत्रमा ५५ वर्षमाथिका नागरिक पनि खोपबाट वञ्चित हुने भएका छन् ।

जिल्ला खोप समन्वय समितिका अनुसार पहिलो चरणमा भारतीय खोप (कोभिसिल्ड) ६ हजार ७ सय २१ जनाले र दोस्रो डोज ३ हजार ९ सय ८१ जनाले लगाएका छन् । यसपटक भेरोसिल भने १ हजार ६ सय ८० डोजमात्र आएको छ । जिल्ला खोप समन्वय समितिका अनुसार शनिबारसम्म भेरोसिलको पहिलो डोज ३ सय ९ जना र दोस्रो डोज ११ जनाले लगाएका छन् ।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले सरकारले खोप लगाउनेबारे स्थानीय तहसँग कुनै समन्वय नगरेको बताए । ‘सरकारले एकातिर चिनियाँ सीमा जोडिएका स्थानीय तहका सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको छ, अर्कोतिर सोअनुसार खोप नपठाउँदा वञ्चित हुने अवस्था छ,’ उनले भने, ‘सरकारले निर्णय एउटा व्यवहार अर्कै गर्दा समस्या देखिएको छ ।’

यसैबीच, हुम्लामा वैशाख २१ देखि जारी निषेधाज्ञा छैटौं पटक ७ दिनका लागि थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा ७५ प्रतिशत खुकुलो पार्दै असार १७ गतेसम्मका लागि लम्ब्याएको हो ।


प्रकाशित : असार १३, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?