कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुरानै नीति र कार्यक्रमलाई निरन्तरता

‘विकासभन्दा जनताको जीवन बचाउनु ठूलो कुरा हो, हाम्रो बजेट त्यसैमा केन्द्रित छ’

कालीकोट, रुकुम पश्चिम र हुम्ला — कर्णालीका अधिकांश स्थानीय तहले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । सबैजसो स्थानीय तहले कोभिड नियन्त्रण तथा रोकथाममै बजेट केन्द्रित गरेको पाइएको छ ।

पुरानै नीति र कार्यक्रमलाई निरन्तरता

कालीकोट सदरमुकामस्थित खाडाचक्र नगरपालिकाले ५१ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रतिकूल अवस्थामा बजेट ल्याउनु परेकाले महत्त्वाकांक्षी नीति तथा कार्यक्रम नल्याइएको नगर उपप्रमुख विजया विष्टले बताइन् । ‘विकासभन्दा जनताको जीवन बचाउनु ठूलो कुरा हो,’ उनले भनिन्, ‘हाम्रो बजेट त्यसैमा केन्द्रित छ ।’

नगरपालिकामा एक घर एक धारा, सडक पुग्न नसकेका सबै वडा केन्द्रमा सडक पुर्‍याउने, निर्माण भइसकेका सडकको स्तरोन्नति गर्ने, नांगा डाँडामा वृक्षरोपण गर्नेलगायत कार्यक्रम अघि सारेको छ । पचालझरनाले पनि गत वर्षकै ‘खरका छानामुक्त अभियान’ र ‘गोठालो भत्ता’ लाई निरन्तरता दिएको छ । शुभकालिका गाउँपालिकाकाले सामाजिक विभेद कम गर्न ‘उपाध्यक्ष बालिका संरक्षण कार्यक्रम’ लाई जोड दिँदै गाउँपालिका केन्द्रसम्म यस वर्षभित्र सडक पुर्‍याउने लक्ष्य लिएको छ । रास्कोट नगरपालिकाले गत वर्ष चर्चामा आएको श्रम रोजगार बैंकलाई निरन्तरता दिए पनि बजेट अभावमा यस वर्ष वर्षभरि युवालाई रोजगारी दिन नसकेको जनाएको छ । कोभिड महामारीसँग जुध्न कालीकोटका सबै पालिकाहरूले ५० लाखदेखि २ करोड रुपैयाँसम्म विनियोजन गरेका छन् ।

कतै नेट चलेन

डोल्पाका आठमध्ये दुई स्थानीय तहले मात्रै निर्धारित समयमा नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाले मात्रै नगर तथा गाउँसभामा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याएका हुन् । बाँकी ६ स्थानीय तहले भने तोकिएको दिनभित्र नीति तथा कार्यक्रम र बजेट पेस गर्न सकेनन् । स्थानीय सरकार सञ्चालन ऐनमा हरेक स्थानीय तहले असार १० गतेभित्र गाउँ तथा नगरसभामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पास गरिसक्नुपर्ने प्रावधान छ । सदरमुकामको ठूलीभेरी नगरपालिका, जगदुल्ला, मुड्केचुला, काइके, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले बजेट पेस गर्न नसकेका हुन् ।

गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण बिहीबार बजेट प्रस्तुत गर्न नसकिएको काइके गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले बताइन् । ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले पनि नगरप्रमुख अस्वस्थ भएर बाहिर गएकाले नगरसभा बस्न नसकेको जानकारी दिए ।

जगदुल्ला गाउँपालिकाले भने इन्टरनेट समस्याका कारण गाउँसभा बस्न नसकेको जनाएको छ । ‘अरू सबै तयारी छ,’ अध्यक्ष नारासिंह रोकायले भने, ‘तर नेट ठप्प भएकाले नीति तथा कार्यक्रम र बजेट पेस गर्न सकिएन ।’ डोल्पोबुद्ध गाउँपालिकामा भने कर्मचारी नै नभएका कारण गाउँसभा हुन नसकेको हो ।

चार पालिकाले मात्र ल्याए बजेट

हुम्लाका ७ गाउँपालिकामध्ये चारवटाले मात्र बजेट ल्याएका छन् । स्थानीय तहहरूले २७ करोडदेखि ४६ करोड रुपैयाँका बजेट बिहीबार सार्वजनिक गरेका हुन् ।

बिहीबार सिमकोट, खार्पुनाथ, अदानचुली र तााजाकोट गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । सिमकोटले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४६ करोड ४६ लाख, खार्पुनाथले ३६ करोड ६९ लाख, तााजाकोटले ३१ करोड १९ लाख र अदानचुलीले २७ करोड ९८ लाखको बजेट ल्याएका छन् ।

नाम्खा गाउँपालिका–६ लिमीका जनप्रतिनिधि गाउँपालिकाको केन्द्रमा आउन नसकेपछि असार १८ गते गाउँसभा गर्ने तयारी गरिएको छ । चंखेलीको गाउँसभा १५ गते हुने भएको छ ।

प्रकाशित : असार १२, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?