गुणस्तरहीन सडक भन्दै विरोध- कर्णाली - कान्तिपुर समाचार

गुणस्तरहीन सडक भन्दै विरोध

स्थानीय विरोधमा उत्रिएपछि निर्माणको काम रोकिएको छ
कान्तिपुर संवाददाता

सल्यान — मोख्ला–दमाचौर हुँदै रोल्पाको झ्याम जोड्ने सडकको स्तरोन्नति गुणस्तरहीन भएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि निर्माणको काम रोकिएको छ । सडकमा ग्राभेलका नाममा माटो मात्र हालिएको भन्दै स्थानीयले विरोध गरेपछि स्तरोन्नतिको काम रोकिएको हो ।

सडक निर्माण गुणस्तरहीन भएको भन्दै विरोधमा उत्रिएका सल्यानको मोख्ला र दमाचौरका बासिन्दा । तस्बिर : कान्तिपुर

ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले ठाउँठाउँमा नाला भत्काएका छन् । उनीहरूले सडक निर्माणमा खटिएका प्राविधिकलाई समेत हातपातको प्रयास गरेका थिए । पूर्वाधार विकास कार्यालयले उक्त सडकको ५ किमि खण्ड स्तरोन्नति गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको छ । जसका लागि गत वर्ष साउनमा टेन्डर भएको थियो । कार्यालयले सडक स्तरोन्नतिको जिम्मा बागेश्वरी कन्ट्रक्सन एन्ड सप्लायर्सलाई दिएको छ ।

ठेकेदारले इस्टिमेटअनुसार काम नगरी माटो मात्रै हालेकाले सडकमा यातायात सेवा बन्द भएको स्थानीय कमल शर्माले बताए । उनका अनुसार दुई महिनाअघि ग्राभेल हालिएको सडक हिलाम्य बनेको छ । नाली गुणस्तरहीन हुँदा खेतबारीमा भल पसेको उनले बताए । ‘ठेकेदारले सडकमा गिट्टी–बालुवा नै नराखी माटो मात्र पटान गरे,’ उनले भने, ‘जसका कारण दुई महिनामै सडक काम नलाग्ने भएको छ ।’ उनले ठेकेदारले रकम सिध्याउन झरीमा समेत काम गरिरहेको आरोप लगाए ।

निर्माण कार्यमा संलग्न प्राविधिक र ठेकेदारको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको बाग्चौर नगरपालिका–१० का शेरबहादुर बुढाथोकीले बताए । ‘धेरै वर्षको संघर्षपछि सडकमा बजेट पर्‍यो,’ उनले भने, ‘तर कामै नगरी रकम पचाउने नियत देखियो ।’ गुणस्तरयुक्त काम गर्ने प्रतिबद्धता नगर्दासम्म ठेकेदारलाई काम गर्न नदिइने उनको भनाइ छ । उनले बजेट अपुग भएमा आफूहरू श्रमदान गर्नसमेत तयार रहेको बताए ।

स्थानीयको विरोधपछि सडक निर्माणको काम रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोदक्मुार पुनले बताए । उनका अनुसार ठेकेदारले पहिलो चरणको कामअनुसार सडकमा माटो हालेर खाल्डाखुल्डी पुरेका हुन् । नाली बनाउने काम पनि जारी रहेको बेला स्थानीय विरोधमा उत्रिएको उनको भनाइ छ । स्थानीयको सहमतिपछि काम सुचारु गरिने उनले बताए । अहिलेसम्म सडकमा करिब ४० प्रतिशत काम सकिएको कार्यालयले जनाएको छ ।


प्रकाशित : असार ११, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्

नाग्मा–गमगढी सडक अवरुद्ध

राजबहादुर शाही

मुगु — पर्यटकीय मार्गका रूपमा रहेको रारा पुग्ने गमगढी–नाग्मा सडक बर्खा लागेसँगै अवरुद्ध भएको छ । यसले हिमाली जिल्ला मुगुको सडक सम्बन्धविच्छेद भएको छ । घुच्चीलेकको सातमोडमा पहिरोसँगै रूख ढलेका छन् । 

माथिल्लो मोडमा आएको पहिरो चौथो मोडमा पुगेको छ । ताल्चा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको छ । जुम्लाको सिँजास्थित रोकायाबाडाको सडक पनि हिलाम्मे भएको छ । डिभिजन सडक प्रमुख लीलाबहादुर भण्डारीले सशस्त्र प्रहरी बलको सहयोगमा सडक खुलाउने काम भए पनि निकै गाह्रो भएको बताए । ‘मुस्किलले पहिरो पन्छाए पनि माथिबाट फेरि खस्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा त्यहाँ सवारी साधन चलाउन सकिने अवस्था छैन ।’ बिहीबारसम्म सडक खुलाउने गरी काम भए पनि वर्षा नरोकिएकाले समस्या भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा बिरामीलाई एम्बुलेन्सबाट जुम्ला, नेपालगन्जतर्फ लिन पनि गाह्रो भइरहेको छ । करिब दुई दर्जन मालवाहक सवारीसाधन बाटोमै अलपत्र छन् । सुर्खेत र नेपालगन्जदेखि कार्गो गरी ल्याइएका सामान बाटोमै रोकिँदा गमगढीमा महँगी पनि चुलिन थालेको छ । ‘पसलमा बेच्ने सामान छैन, नेपालगन्जदेखि ल्याएको सामान बाटोमै छ,’ छायानाथरारा नगरपालिका–१ का पदमराज मल्लले भने, ‘यस्तै हो भने त केही दिनमा महँगीले आकाश छोउलाजस्तो छ ।’

बजेट अभाव

पर्याप्त बजेट नहुँदा गमगढी–नाग्मा सडक निर्माण कार्य प्रभावित हुँदै आएको छ । चालु आर्थिक वर्षमा ग्राबेल, ढल र पर्खाल बनाउन संघीय सरकारबाट ९ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेटअनुसारको काम असोजमै सकिएको छ । डिभिजन प्रमुख भण्डारीका अनुसार उक्त कामका लागि २० लाख रुपैयाँ आवश्यक पर्नेमा बजेट अभावमा काम अधुरै छ ।

भण्डारीका अनुसार हालसम्म उक्त सडकको ३४ किमि मात्र ग्राबेल भएको छ । ५९ किमि ग्राबेल हुन सकेको छैन । गमगढीदेखि नाग्मासम्म सडक ग्राबेलका लागि विभिन्न ७ वटा निर्माण कम्पनीले जिम्मा लिएका छन् । चालु आर्थिक वर्षभित्र पूरै (९३ किमि) ग्राबेल गर्ने लक्ष्य राखिएको भए पनि बजेट अभावले अधुरै रहेको डिभिजन सडक प्रमुख भण्डारीले बताए । उनका अनुसार सडक कालोपत्रेका लागि करिब ३ अर्ब रुपैयाँ माग गरिएको छ ।

प्रकाशित : असार ११, २०७८ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×