१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड

बिहीबार बसेको नगरसभामा उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै चालूतर्फ १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६ सय ३५ रुपैयाँ र पुँजीगततर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाले स्वास्थ्य, कृषि, रोजगार, शिक्षा, पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आवको बजेट ल्याएको हो ।

नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष तथा नगर अस्पताल सञ्चालनका लागि २ करोड बजेट विनियोजन गरेको छ । हालको कटकुवा स्वास्थ्य चौकीको कोभिड अस्पताललाई १५ शय्याको नगर अस्पतालको रुपमा आधारभूत तथा चिकित्सकीय सेवा सहित सञ्चालन गर्ने उनले जानकारी दिइन् । नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी अन्य अस्पताललाई पनि सप्लाई गर्ने भन्दै चालु आवमा नै काम सुरु गरिसकेको उनको भनाइ छ । यसका लागि १ करोड २३ बजेट विनियोजन गर्ने उपप्रमुख ढकालले जानकारी दिइन् । वीरेन्द्रनगर–१ मा ठूलो क्षमताको सुर्खेत बसपार्क स्थापनाका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत समन्वय गर्ने लक्ष्यलाई पनि प्राथमिकतामा राखिएको उनले बताइन् ।

नगरपालिकाले सामाजिकतर्फ कूल १३ करोड २४ लाख ७२ हजार ४ सय ७० रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधारतर्फ १८ करोड २२ लाख ७२ हजार ८ सय ६८ रुपैयाँ छुट्याएको नगरपालिकाले वातावरण विपद्तर्फ २ करोड ५१ लाख ३ हजार ४ सय २० रुपैयाँ विनियोजन गरेको छ । यस्तै, सार्वजनिक सेवा तथा सुशासनतर्फको कूल ६ करोड ९८ लाख १६ हजार बजेट छुट्याएको उपप्रमुख ढकालले जानकारी दिईन् । नगरपालिकाले आर्थिक विकासतर्फ ४ करोड ८९ लाख ६३ हजार छुट्याएको छ ।

नगरपालिकाले उप–महानगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पुरा गरेको भन्दै उप महानगरपालिकाको रुपमा घोषणाका लागि प्रदेश सरकारमार्फत संघीय सरकारलाई अनुरोध पनि गरिएको उपप्रमुख ढकालको भनाइ छ । नगरपालिकाका १० लाख भन्दा ठूला पूर्वाधार विकासका आयोजनामा कम्तिमा ३ प्रतिशत रकम वातावरण संरक्षण्मा योगदान पुग्ने कार्य अनिवार्य गराउने गरी डिजाइन स्टिमेट कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । प्रत्येक वडा र नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन कोष कार्यविधि बमोजिम गरी नगरभित्र हुने विपद्का लागि तत्काल राहतको व्यवस्था मिलाउने नीति लिएको उनले बताइन् ।

नगरपालिकाको सुब्बाकुनादेखि फँलाटेसम्म सहायक राजमार्गको नक्सांकनलाई निरन्तरता दिँदै निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी संघ र प्रदेश सरकारसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पक्की सडकहरु मर्मतका लागि छुट्टै निर्माण दल गठन गरी वडास्तरमा विनियोजित सडक मर्मत बजेट कार्यालयमार्फत परिचालन गर्नुका साथै सडक मर्मत कोष समेत बनाइने लक्ष्य नगरपालिकाले लिएको छ । महिला स्वास्थ्य स्वमसेविकालाई संघीय सरकारले उपलब्ध गराउने १२ हजार रकममा नगरपालिकाले १२ हजार थप गरी २४ हजार पुर्‍याउने योजना अघि सारिएको छ । कोभिड–१९ संक्रमितलाई आईसोलेसन तथा अक्सिजनसहितको चिकित्सकीय सेवा प्रदान गर्न २५ बेडको कोभिड आईसोलेसन अस्पताल संचालन गरी सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिने नीतिमा उल्लेख छ ।

नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीको लागि १५ हजार रुपैयाँ तलब सुनिश्चित गर्ने गरी बजेट विनियोजन गरेको जनाएको छ । ‘छोरीलाई स्यानेटरी आमालाई सीप र स्वरोजगारी’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

नगरपालिकाले खाद्यान्न आयातलाई न्युनिकरण गर्दै आधारभुत खाद्यान्नमा आत्मनिर्भर बनाउने भन्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि आवश्यक पर्ने न्युनतम कृषि सामग्रीहरु खरिद तथा पूर्वाधार निर्माणमा कम्तिमा ५० प्रतिशत अनुदानको व्यवस्था पनि गरेको छ । नगरभित्रै गुणस्तरीय खाद्यान्न बीउ उत्पादनका लागि एक वडा एक सामुदायिक बीउ बैंक स्थापना गरिने कार्यक्रममा उल्लेख छ । नगरपालिकाले वडास्तरमा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरी कृषि प्राविधिक जनशक्तिको व्यवस्थापन गर्ने, एक सहकारी एक उत्पादन वा एक गाउँ एक उत्पादन तथा जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिउँ भन्ने अभियान अगाडि सार्ने नीति लिएको छ । यस्तै, कृषि व्यवसायिकता, युवामा उद्यमशीलता कार्यक्रम सञ्चालन गरी आगामी आवमा कम्तिमा ५० जना युवा तथा व्यवसायिक कृषकलाई यस कार्यक्रममा समेटिने बजेटमा उल्लेख छ ।

वीरेन्द्रनगर नगरपालिकासहित सुर्खेतका अन्य स्थानीय तहले पनि बिहीबार आगामी आवका लागि बजेट सार्वजनिक गरेका छन् । लेकवेशी नगरपालिकाले ६३ करोड १६ लाख ८४ हजार १ सय ४५ रुपैयाँको बजेट ल्याएको छ । बिहीबारदेखि सुरु भएको नगरसभामा सार्वजनिक बजेटमध्ये चालूतर्फ २२ करोड २ लाख ७९ हजार ४ सय ६४ रुपैयाँ र पुँजीगततर्फ ४१ करोड १४ लाख ४ हजार ६ सय ८१ रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको छ । यस्तै, भेरीगंगा नगरपालिकाले पनि स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै ५९ करोडको बजेट ल्याएको छ ।

प्रकाशित : असार १०, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?