२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सल्यानका पाँच स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउन सकेनन्

विप्लव महर्जन

सल्यान — जिल्लाका १० स्थानीय तह रहेको सल्यानमा बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, छत्रेस्वरी, कपुरकोट र कुमाख गाउँपालिका गरी पाँच स्थानीय तहले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएनन् । असार १० गतेभित्र पेस गरिसक्नुपर्ने प्रावधान भएपनि तयारी नपुगेको भन्दै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् ।

सल्यानका पाँच स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउन सकेनन्

विषयगत छलफल भइरहेपनि अन्य तयारी नपुगेकाले नीति तथा कार्यक्रम तोकेको समयमा ल्याउन नसकेको र तयारी नपुग्दा सार्वजनिक गर्ने मिति समेत तय गर्न नसकेको बन्गाड कुपिण्डे नगरपालिका उपप्रमुख मन्जु यरीले बताइन् । सार्वजनिक गर्नका लागि मिति तोक्न अझ केही दिन लाग्ने उनले जानकारी गराइन् ।

बाग्चौर नगरपालिकाभित्र अझै कोरोना संक्रमित धेरै भएका र आइसोलेसनमा पनि बिरामी उपचाररत भएकाले बिरामीको उपचारमै ध्यान केन्द्रित भएका कारण नीति तथा कार्यक्रम सार्वजनिकका लागि समय दिन नसकेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बताएका छन् ।असार २० पछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।

कोरोना महामारीका कारण समयमै बैठक बस्न नसकेको र कार्यालयको कामकाज समेत प्रभावित भएकाले योजना, मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको भुक्तानी दिन नसक्दा नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकिएको कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले बताए । असारको २० गते भित्रसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी गराए । कोरोना महामारीका कारण पालिकाको अन्य काम समेत प्रभावित भएको उनको भनाइ छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम समयमै सार्वजनिक गर्न छलफल भइरहेको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । कोरोना महामारीकै कारण बैठक बस्न नसक्दा समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्न कठिनाइ भएको उनले जानकारी गराए । यता छत्रेस्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले पनि छिट्टै नीति तथा कार्यक्रम सार्वजनिक गर्नेका लागि छलफल भइरहेको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्न केही दिन लाग्ने उनले जानकारी गराए ।

जिल्लामा अहिलेसम्म शारदा नगरपालिका, कालीमाटी, त्रिवेणी, सिद्धकुमाख र दार्मा गाउँपालिकाले मात्र नीति तथा कार्यक्रम ल्याएका छन् । दार्मा गाउँपालिकाले ३९ करोड, कालीमाटी गाउँपालिकाले ५२ करोड र सिद्धकुमाख गाउँपालिकाले ३२ करोडको बजेट ल्याएका छन् । नीति कार्यक्रम ल्याएका पाँच स्थानीय तहले महामारी नियन्त्रण लगायत अन्य स्वास्थ्य समन्धी सेवालाई बढि प्राथमिता दिएका छन् ।

प्रकाशित : असार १०, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?