भीरबाट लडेर वडा सदस्यको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — भीरबाट लडेर भेरी नगरपालिका २ नं.वडाका वडा सदस्य सुशीला नेपालीको मृत्यु भएको छ । मंगलबार भीरबाट लडेर गम्भीर घाइते भएकी वडा सदस्य नेपालीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडास्तरीय योजना तर्जुमा गोष्ठीमा वडा कार्यालय बाहुनथानतर्फ आउने क्रममा नेपाली भेरी नगरपालिका २, डिङ्गा गाउँको ढ्याङ्ग्रे भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । भीरबाट लड्दा नेपालीका दुवै हात र खुट्टा भाँचिएको थियो भने टाउकोमा गहिरो चोट लागेको थियो । शरीरमा गहिरो चोटपटक लागी बेहोस अवस्थामा रहेकी उनलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा सुर्खेतको औलझ्याममा मृत्यु भएको वडाध्यक्ष कालीबहादुर वलीले वताए ।

भेरी नगरपालिकाको नगरसभाको पूर्वसन्ध्यामा वडा सदस्य नेपालीको निधनले ठूलो क्षति पुगेको वडाध्यक्ष वलीले बताए । वडा सदस्य नेपालीको निधनमा नगरपालिकाले बुधबार शोकसभा गरेको छ ।

प्रकाशित : असार ९, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?