२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२० प्रतिशत छुटमा चामल

रुकुम पश्चिम — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ । लामो समयसम्म भएको लकडाउनले बजारमा सहजै चामल पाउन मुस्किल भएपछि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरेको हो ।

जेठ २१ गतेबाट सुपथ मूल्यमा चामल बिक्री भइरहेको शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार कम्पनीमा पाइने सबै चामल छुटमा बिक्री भइरहेको छ ।

अहिले निषेधाज्ञाअघिभन्दा बढी चामल बिक्री भइरहेको उनले जनाए । कम्पनीमा छुटको चामल लिँदा भने उपभोक्ताले केही मापदण्ड पूरा गर्नुपर्ने छ । चामल लिन जाने उपभोक्ताले परिचय खुल्ने सरकारी कागजातको प्रतिलिपि अनिवार्य देखाउनुपर्ने व्यवस्था छ । एक जनाले ३० किलोसम्म चामल किन्न पाइने खड्काले बताए । लकडाउनभन्दा पहिला कम्पनीको शाखा कार्यालयबाट स्टिम जिरा चामल प्रतिक्विन्टल ६ हजार ४ सय रहेकोमा अहिले ५ हजार १ सय २० मा बिक्री भइरहेको छ ।

त्यस्तै सोना मन्सुली ४ हजार ८ सयमा बिक्री हुने गरेकोमा हाल ३ हजार ८ सय ४० मा र पहिले ४ हजार ६ सय मूल्य रहेको मोटा चामल अहिले ३ हजार ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको कार्यालयले जनाएको छ ।

सुपथ मूल्य सेवा सञ्चालन भएसँगै पहिलाको भन्दा ५ गुणा बढी चामल बिक्री भइरहेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार २१ गतेयता झन्डै डेढ सय क्विन्टल चामल वितरण भइसकेको छ । गत वर्षको लकडाउनमा खाद्यले सहुलियत दरमा ९ सय क्विन्टल चामल बिक्री गरेको थियो ।

प्रकाशित : असार ९, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?