‘डोजर’ सडकले सास्ती

कर्णालीका अधिकांश ग्रामीण सडक बन्द

दैलेख/मुगु/कालीकोट — स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकनबिनै डोजरमार्फत खनेका सडकले गाउँमा सास्ती भएको छ । वर्षाका कारण कर्णालीका अधिकांश ग्रामीण सडक बन्द छन् । जथाभावी सडक निर्माण हुँदा गाउँमा पहिरोको जोखिम बढेको छ । 

‘डोजर’ सडकले सास्ती

गत बिहीबार दुल्लु नगरपालिका–९ मा १२ घर भत्किए । एकै दिन दर्जन घर भत्किनुको कारण हो– गाउँमुनि खनिएको सडक । यो वर्ष गाउँमा ४५ लाखको लगानीमा सडक निर्माण भएको थियो । तर गाडी चल्न नपाउँदै सडक अवरुद्ध भइसकेको छ । सडकका कारण गाउँ जोखिममा परेको जनप्रतिनिधि नै स्विकार्छन् । ‘सडककै कारण अधिकांश गाउँ पहिरोको जोखिममा छन्,’ द्ल्लु–१२ का वडाध्यक्ष रणबहादुर बोहोराले भने, ‘विकास पुर्‍याउँदा विनाश पो निम्तियो ।’ उनका अनुसार प्यादुरा र धामीगाउँका १२ घर एकै दिन भत्किएका हुन् । उनले दुवै गाउँका झन्डै दुई दर्जन घर जोखिममा रहेको बताए । भैरवी गाउँपालिकामा पनि अधिकांश सडक बन्द छन् । गाउँपालिकाले डाँडीमाडीदेखि डोक्रा जाने सडक खनेको १५ दिन पुगेको छैन । तर १ करोड ४० लाख रुपैयाँ खर्च गरी निर्माण गरिएको साढे ५ किमि सडकको अधिकांश ठाउँमा पहिरो खसेको छ ।

त्यस्तै, ६ नम्बर वडाको सोल्टी मोडदेखि कुर्माकोट जोड्न १ करोड ३० लाख खर्चेर बनाइएको ५ किमि सडक पनि सुरु नहुँदै बन्द भयो । ‘करोडौं खर्चेर बनेका सडकले सुविधाभन्दा बढी सास्ती दियो,’ स्थानीय लक्ष्मण विकले भने, ‘सधैं असार आएपछि मात्र सडक खन्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ ।’ नाला नबनाई सडक खन्दा खेतबारीमा भल पसेको उनको भनाइ छ । अधिकांश सडकमा डोजर चालक नै प्राविधिक बन्ने गरेकाले पनि सडकमा गाडी गुड्न नसकेको विकले बताए । ‘आफूलाई जता सजिलो लाग्छ, उतैबाट डोजर चालकले बाटो छिराउँछन्,’ उनले भने, ‘प्राविधिक स्टिमेटविपरीत गरिएको विकासमा पनि कसरी रकम निकासा हुन्छ खै ?’ उनले प्राविधिक स्टिमेटअनुसार सडक खन्न सके वर्षायाममा पनि गाडी चल्न समस्या नहुने बताए । भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाले भने सडक निर्माण गरिएका अधिकांश ठाउँमा नाली बनाइएको दाबी गरे ।

घरघर र टोलटोलमा जसरी डोजर पुर्‍याइयो त्यसरी नै बस्ती सखाप पार्न थालिएको भैरबी–४ सिलंगीका ७५ वर्षीय मयाराम थापाले बताए । ‘ठूलो मेसिनले बाटो खन्दा आधा घर त सडक निर्माणकै बेला चर्किसकेका हुन्छन्,’ उनले भने, ‘अब त न खेतबारी जोगिने भो न घर नै ।’ जिल्लाका ११ वटै स्थानीय तहले यो वर्ष निर्माण गरेका अधिकांश सडक बन्द भएको उनले बताए । उनका अनुसार यातायात बन्द भएपछि स्थानीयलाई घण्टौं हिँडेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ ।

घरमाथि खनिएको सडकबाट बग्ने पानीले हरेक वर्ष पहिरोको जोखिम बढेको नारायण नगरपािलका–४ भिरमौराका सुमन मल्लले बताए । ‘पोहोरको पहिरोले खेतबारी लग्यो,’ उनले भने, ‘यो वर्ष घर जोगाउन मुस्किल छ ।’ स्थानीय तहले डोजर प्रयोगका नाममा मनपरी गरेको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए । उनका अनुसार गत वर्ष जिल्लाका ९० वडामा सडक खन्न ९८ वटा डोजर प्रयोग गरिएको थियो । ‘सडक खोलिएका अधिकांश स्थानमा बस्ती भासिएका छन्,’ उनले भने, ‘सबै पालिकाले सडकको नाममा बर्सेनि करोडौं छुट्याउँछन्, तर उपलब्धि सधैं शून्य ।’ करोडौं खर्चिएर खनिएका सडक बन्द हुँदा स्थानीय उत्पादनले बजार पाउन नसकेको र दैनिक उपभोग्य वस्तुको ढुवानीमा सास्ती भएको उनको भनाइ छ ।

स्थानीय तहले बजेटको झन्डै ४० देखि ६० प्रतिशत बजेट सडक निर्माणमै खर्चिएको जिल्ला समन्वय समितिको तथ्यांक छ । स्थानीयको पहिलो माग नै सडक भएकाले सडकलाई प्राथमिकता दिइएको डुगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताए । ‘सबै नागरिकको बुझाइ नै विकास भनेको सडक नै भन्ने छ,’ उनले भने, ‘छिटो र कम खर्चमा निर्माण सक्न डोजर प्रयोग गरिएको हो ।’

पहिरोले ग्रामीण सडक तहसनहस


अविरल वर्षाका कारण मुगुका सबैजसो ग्रामीण सडक तहसनहस बनेका छन् । वर्षासँगै खसेको पहिरोले एक महिनायता अधिकांश ग्रामीण सडक अवरुद्ध भएका हुन् । सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउ गर्न मुस्किल भएको छ । अधिकांश सडकमा ठूलाठूला पहिरो खसेकाले हिँड्नसमेत समस्या भएको स्थानीयको गुनासो छ । गमगढीदेखि सोरु गाउँपालिका जोड्ने ४१ किलोमिटरको सिपतारापानी–सोरुकोट सडक पहिरोका कारण तहसनहस भएको स्थानीय मञ्जन कार्कीले बताए ।

उनका अनुसार सडकका झन्डै २० ठाउँमा ठूलो पहिरो खसेपछि एक दिन पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता छ । ‘सडकमा हिँड्न पनि जोखिम छ,’ उनले भने, ‘जताततै ठूलाठूला पहिरो खसेका छन्, हिँड्दाहिँड्दै पहिरोले पुर्ने हो कि भन्ने पीर छ ।’ उनले डोजरमार्फत खनिएका ग्रामीण सडकले यात्रुलाई सुविधाभन्दा बढी सास्ती दिएको गुनासो गरे ।

मुगुमकार्मारोङ गाउापालिका लाई सडक सञ्जालमा जोडेको गमगढी–छाइल सडक पनि एक महिनादेखि अवरुद्ध छ । पहिरोले सडक तहसनहस पारेको गाउँपालिकाका इन्जिनियर प्रेम बुढाले बताए । ‘पहिरोका कारण एक गाउँदेखि अर्को गाउँ जानसमेत मुस्किल छ,’ उनले भने, ‘विशेष कामले सदरमुकाम पुग्नेहरू दुई दिन हिँडेर गमगढी पुग्न बाध्य छन् ।’ उनका अनुसार विभिन्न खोलामा आएको बाढीले मुगमकार्मारोङका करिब एक दर्जन काठेपुल भत्काएको छ । पुल भत्किएपछि गाउँहरूको सम्बन्ध टुटेको उनले जानकारी दिए । उनका अनुसार वर्षाका कारण गमगढी–रोवा, गमगढी–बालै, पिना–रइसेडीलगायत ग्रामीण सडक लामो समयदेखि बन्द भएका छन् ।

सडक बन्दले आउजाउ ठप्प

वर्षाका कारण स्थानीय तहले निर्माण गरेका सबै सडक बन्द भएपछि कालीकोट सदरमुकाम मान्मसँग यहाँका अधिकांश गाउँको सम्बन्ध टुटेको छ । डोजरले खनेका सडक पानीले गलाएपछि ठाउँठाउँमा पहिरो खसेको हो ।

पहिरो नझेरेको ठाउँमा पनि सडक हिलाम्मे भएकाले गाडी गुड्न सक्ने अवस्था छैन । वातावरणीय प्रभाव मूल्यांकन नगरी स्थानीय तहले जथाभावी सडक खनेकाले थोरै वर्षा भए पनि पहिरोले घरखेत बगाउने अवस्था रहेको नागरिक अगुवा वीरेन्द्रबहादुर बुढाले बताए । ‘छिटो सडक पुर्‍याउने नाममा सबैले डोजर चलाए,’ उनले भने ‘कमजोर भूगोल भएको ठाउँ पुरै बग्ने अवस्था आयो ।’ सडकका कारण पहिरोको जोखिममा रहेका लालुको सितला, कुमालगाउँको गोठी, रास्कोटको बडोलतलालगायतका बस्ती सानुपर्ने अवस्था रहेको उनले बताए ।

अविरल वर्षाका कारण ताडी–तिलाकर्णाली बहुमुखी क्याम्पस, थामकोट–बल्लेकाध हुँदै सालडाडा, शुभकालिकाको सेरिघाट–भर्ता र सेरीघाट–सुकाटिया सडक बन्द भएका छन् । त्यस्तै, लालीघाट– कोटवाडा, सान्नीगाड–मेहेलमुडी लगायतका सडकका ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो खसेकाले तत्काल सडक सञ्चालनमा ल्याउन समस्या भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

प्रकाशित : असार ९, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?