पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध

तुलाराम पाण्डे

कालिकोट — पहिरोले कर्णाली करिडोर खुलालु-हुम्ला-सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध कर्णाली करिडोर अन्तर्गत लालीघाट सान्नीगाड खण्डको छहरा खोलामा आएको भेल । भेलले सडक बगाएपछि स्थानीय ज्यान जोखिममा राखेर तर्दै । तस्बिर : तुलाराम/कान्तिपुर

कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा व्यवसायी आफैंले यात्रुबाहक जीप चल्ने लिग बनाएपनि मालबाहक गाडी चल्नसक्ने अवस्था छैन । यहाँको भौरेकुना, रेगिंल, कोट, आमतडालगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै भात्तडी-भुराबगर-जारकोट खण्ड र बाजुरा खण्ड अवरुद्ध छ ।

वर्षाले खोला बढेपछि नेपाली सेनाले निर्माण गरेको फूगाड बेलिब्रिज गत वर्षको पहिरोले बगाएपछि गाडी र यात्रुआवत जावत गर्न पनि कठिन छ । करिडोरको ठाउँ ठाउँमा पहिरो गएकाले पहिरो हटाउन मेसिन नहुँदा समस्या भएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

वर्षाले कालीकोटका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक बेला बेलामा अवरुद्ध भए पनि सडक डिभिजन कार्यालय जुम्ला र खाडाचक्र नगरपालिकाले पहिरो हटाउँदै सुचारु गरिरहेको भए पनि स्थानीय तहले खनेका सडक अवरुद्ध छन् ।

वर्षाले यहाँका स्थानीय तहले खनेका सबैजसो ग्रामीण सडकमा पहिरो झरेको छ । डोजरले खनेका सडक पानीले गलाएपछि पहिरो खसेको हो । पहिरो नझेरेको ठाउँमा पनि हिलाम्मे भएकाले गाडी गुड्न सक्ने अवस्था छैन ।

वर्षाले थामकोट-बल्लेकाध हुँदै सालडाँडा जोड्ने सडक, शुभकालिकाको सेरिघाट-भर्ता र सुकाटिया जोड्ने सडक, नरहरिनाथको कोटवाडा कुमालगाउ सडक, सान्नी त्रिवेणीको सान्नीगाड-मेहेलमुडी, स्युना रास्कोट हुँदै मुम्रा सडक, आरसीपी बजार-फूकोट सडक, खाडाचक्रको पिली-पाखा सडक, तिलागुफाको बाली-छाप्रे, गाल्जे-जुविथालगायतका सडक पनि पहिरोले अवरुद्ध छ ।

प्रकाशित : असार ८, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलामा नदीले बगाउँदा दुई बालकको मृत्यु

मनोज बडू

दार्चुला — दार्चुलामा नदीले बगाउँदा दुई बालकको मुत्यु भएको छ । महाकाली नगरपालिका-४ स्थित लास्कु खोलामा मंगलबार दिउँसो पौडी खेल्नेक्रममा नदीले बगाएर ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा ब्यास गाउँपालिका–४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र खलंगा आर्मी गेट नजिक बस्ने दुहु गाउँपालिका–४ ब्रह्मदेवका १२ वर्षीय रमित कुँवर रहेका छन् ।

महाकाली लोकमार्गको दार्चुला–तिंकर सडक खण्डको लास्कु गाडमा निर्माणाधिन पुल नजिक पौडी खेलेका बालकहरु नदीमा तल बगेको र पुलमुनि राखिएको होम पाईपभित्र अड्किएर मृत्यु भएको दार्चुला प्रहरीको सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए । डोजरको सहायताले बालकका शव ह्युम पाइपबाट निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×