कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्णालीमा कोरोना संक्रमण घट्दै

पहिलो लहरमा ३१ जनाको मात्रै मृत्यु भएको कर्णालीमा दोस्रो चरण सुरू भएपछि वैशाखमा मात्रै १ सय ३ जनाको मृत्यु
चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोनाको पहिलो लहर नेपाल प्रवेश गरेको करिब ५ महिनापछि गत वर्ष जेठ ५ गते कर्णालीमा पहिलो संक्रमित फेला परे । पहिलो संक्रमित फेला परेको महिनाभित्र ९ सय ५७ संक्रमित भेटिए । तीमध्ये तीन जनाको मृत्यु भयो । 

कर्णालीमा कोरोना संक्रमण घट्दै

गत वर्ष असारमा पनि ३ जनाको मृत्यु भयो । त्यसलगत्तै साउन र भदौमा संक्रमणको दर उही रहे पनि मृतकको संख्या भने शून्य रह्यो । तर असोजमा भने संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो ।

एकै महिनामा २ हजार ११ कोरोना संक्रमित भेटिए भने ६ जनाको मृत्यु पनि भयो । गत वर्ष कात्तिक र मंसिरमा ५/५ जना, पुसमा ६ जना र माघमा ३ जनाको मृत्यु भयो । भारतबाट प्रवेश गर्नेहरूको संख्या घटेको भन्दै गत वर्ष कात्तिकमा प्रदेश सरकारले १५ स्थानमा सञ्चालनमा रहेका ठूला क्षमताका ४० हजार ५० बेड क्वारेन्टाइन पनि हटाउन निर्देशन दियो । फागुन र चैतमा संक्रमणको दर न्यून भएसँगै मृत्यु हुनेको संख्या पनि शून्यमा झर्‍यो ।

कोरोनाको पहिलो चरणमा ३१ जनाको मात्रै मृत्यु भएको कर्णालीमा दोस्रो चरण सुरु भएपछि वैशाखमा मात्रै १ सय ३ जनाको मृत्यु भयो । चैतसम्म प्रदेशभरि कुल संक्रमितको संख्या ७ हजार ७ सय ८० रहेकोमा वैशाखमा दोब्बर भयो । वैशाखमा मात्रै ७ हजार ९ सय २० जना कोरोना संक्रमित भेटिए । जेठमा पनि ११ हजार ९९ संक्रमित फेला परे भने १ सय ५७ जनाको मृत्यु भयो । यसबीचमा देशैभरजस्तै कर्णालीमा पनि गम्भीर लक्षणसहितको बिरामी अस्पताल भर्ना भए । अस्पतालमा बेड मात्र नभई अक्सिजनको समेत अभाव भयो ।

प्रदेश अस्पतालले केही समय संक्रमितको चाप थेग्न नसकी भर्ना लिनसमेत अस्वीकार गर्‍यो । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअनुसार कोरोना भाइरसको दोस्रो लहर सुरु भएलगत्तै दुई महिनामा संक्रमण दर ९८ प्रतिशतसम्म पुगेको थियो । पहिलो लहरको तुलनामा संक्रमण र मृत्युदर बढेपछि संक्रमणको साङ्लो तोड्न (चेन ब्रेक) भन्दै कर्णालीका सबै जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे ।

निषेधाज्ञापछि जथाभावी भीडभाड, आवतजावतमा नियन्त्रण भएपछि जेठ पहिलो सातासम्म संक्रमणको दर घटेर ४० प्रतिशतसम्म झर्‍यो । कर्णालीका स्थानीय तहले पनि कोरोना परीक्षण थालेपछि जेठको बीचतिर संक्रमणको दर बढेर ४४ प्रतिशत पनि पुग्यो ।तर असार लागेसँगै भने संक्रमणको दर र मृत्युदरको ग्राफ घटेको देखिन्छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय परीक्षण गरिएकामध्ये २० प्रतिशतमा मात्रै संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक कोरोना संक्रमितको मृत्यु भएको कर्णालीमा जेठ ३१ गते दुई महिनामै पहिलो पटक मृतकको संख्या शून्य रह्यो । असार ३ गते पनि कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन । आइतबार र सोमबारको बीचमा एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । योसँगै हालसम्म कर्णालीमा ३ सयको कोरोना संक्रमणबाट मृत्यु भएको छ । निर्देशनालयका अनुसार हालसम्म प्रदेशभरि १ लाख ५२ हजार १ सय २६ जनाको कोरोना परीक्षण गर्दा २७ हजार ३ सय ४१ जना संक्रमित फेला परेका छन् । यीमध्ये २४ हजार ३ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १ हजार ५ सय ८२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सोमबार अद्यावधिक गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा १ सय ८ जना संक्रमित फेला परेका छन् । परीक्षण गरिएको कुल संख्याको यो २९ प्रतिशत हो । हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा बढी संक्रमित सुर्खेतका छन् । सुर्खेतमा अहिलेसम्म १० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७५ जनाको मृत्यु भएको छ । दैलेखमा २ हजार ७ सय ६६ जना संक्रमितमध्ये २१ जनाको मृत्यु भएको छ । सल्यानमा १ हजार ६ सय २४ संक्रमितमध्ये ४९ जना, रुकुम पश्चिममा ८ सय १६ संक्रमितमध्ये २८ जना, जुम्लामा ८ सय २३ संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ ।

यस्तै, डोल्पामा ६४ संक्रमितमध्ये ५ जनाको मृत्यु हुँदा हुम्लामा ९० संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । यसैगरी जारकोटमा ७ सय ३७ संक्रमितमध्ये ३ जनाले ज्यान गुमाएका छन् भने कालीकोटमा ६ सय ४६ संक्रमितमध्ये ३ जनाको ज्यान गुमेको छ । मुगुमा ५८ जना संक्रमित हुँदा २ जनाको मृत्यु भएको छ । अन्य प्रदेशका ४ जनाले कर्णालीमा ज्यान गुमाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

सोमबार प्रदेश अस्पतालको आइसोलेसनमा २६ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय संक्रमण पुष्टि भएकामध्ये अधिकांश होम आइसोलेसनमा नै बस्ने गरेको प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले बताए । उनका अनुसार अहिले अस्पतालमा उपचाररत बिरामीहरू पुरानै अवस्थाका हुन् । कर्णालीमा पछिल्लो २४ घण्टामा १ सय ८ जना संक्रमित फेला पर्दा ३ सय ९२ जना निको भएर घर फर्किएका छन् ।

यसले पनि कर्णालीमा संक्रमणको दरभन्दा निको हुनेको दर दोब्बर–तेब्बर हुँदै छ । तर पनि जोखिम भने कायमै रहेकाले सजग रहन स्वास्थ्य सेवा निर्देशनालयले आग्रह गरेको छ । निर्देशनालयका निर्देशक डा. रविन खड्काले निषेधाज्ञा खुकुलो हुँदै जाँदा विस्तारै भीडभाड बढ्ने भएकाले सजग रहन आग्रह गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गर्ने गरौँ,’ उनले भने, ‘संक्रमण गत वर्ष पनि घटेको थियो अहिले यस्तो अवस्था आउला भन्ने सोचिएको थिएनौं, त्यसैले अझै पनि जोखिम छैन भन्न सकिँदैन ।’

प्रकाशित : असार ८, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?