पीसीआर ल्याब प्रदेश मातहत- कर्णाली - कान्तिपुर समाचार

पीसीआर ल्याब प्रदेश मातहत

१ करोड २३ लाख रुपैयाँमा स्थापना भएको ल्याबको सम्पूर्ण व्यवस्थापन चौरजहारी नगरपालिकाले गरिरहेको छ
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले सञ्चालन र व्यवस्थापन गरिरहेको पीसीआर ल्याब अब कर्णाली प्रदेश मातहत रहने भएको छ । चौरजहारी नगरपालिका–२ मा स्थापना गरिएका ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया थालिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमै यो प्रयोगशाला प्रदेशको व्यवस्थापनमा सञ्चालन हुने उल्लेख गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ल्याएको बजेटमा चौरजहारीको पीसीआर प्रयोगशाला प्रदेशको व्यवस्थापनमा सञ्चालन हुने जनाइएको छ । कोरोना भाइरसको पहिलो भेरिएन्ट चलेका बेला नगरपालिकाले उक्त ल्याब स्थापना गरेको थियो । सुरुमा १ करोड २३ लाख रुपैयाँमा स्थापना भएको यो ल्याबको सम्पूर्ण व्यवस्थापन चौरजहारी नगरपालिकाले गरिरहेको छ ।

ल्याब ५७ लाख रुपैयाँ घाटामा चलिरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार अनुसार हालसम्म उक्त ल्याब सञ्चालनमा २ करोड ७० लाख ६१ हजार रुपैयाँ खर्च भइसकेको छ । प्रदेश सरकार तथा पीसीआर परीक्षण गराएका स्थानीय तहबाट २ करोड १५ लाख २२ हजार रुपैयाँ प्राप्त भएको उनले जनाए ।

गत वर्ष पीसीआर परीक्षणका लागि सुर्खेत, नेपालगन्ज र दाङ पठाउँदा पनि समयमै परीक्षण नहुने भएपछि चौरजहारी नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो । चौरजहारीमा प्रयोगशाला स्थापना गरेपछि छिमेकी जिल्लाको समेत पीसीआर परीक्षणमा सजिलो भएको थियो । ल्याबमा रुकुम पश्चिमसहित रुकुम पूर्व, सल्यान र जाजरकोटबाट पीसीआर परीक्षणका लागि स्वाब आउने गरेका छन् । ‘हामीले आफ्नै लगानीमा ल्याब सञ्चालन गर्‍यौं, तर अन्य जिल्ला र स्थानीय तहको स्वाब परीक्षण गरिए पनि सहयोग पर्याप्त भएन,’ नगरप्रमुख विशाल शर्माले भने, ‘प्रदेश सरकारले केही बजेट दिए पनि त्यो पर्याप्त थिएन ।’ बजेट भाषणमै यो कुरा सम्बोधन भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।

ल्याबबाट अहिलेसम्म झन्डै १५ हजार स्वाब परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । जसमध्ये झन्डै १ हजार २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ल्याब व्यवस्थापनका लागि खर्च अभाव भएपछि झन्डै ६ महिना बन्द भएको ल्याब कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएसँगै सुचारु भएको हो ।

प्रकाशित : असार ७, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमणमुक्त भएपछि पनि समस्या

विनोद भण्डारी

विराटनगर — उपचारपछि संक्रमणमुक्त भए पनि खाँदबारीकी ज्ञानुमाया राई अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । संक्रमण पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या भएर तीन साताअघि विराटनगरको नोबेल अस्पतालमा भर्ना भएकी थिइन् ।

दुई सातापछि कोरानामुक्त भएको रिपोर्ट आयो । तर चिकित्सकले ‘पोस्ट कोभिड उपचार केन्द्र’ को आईसीयूमा राखेर उनको थप उपचार गरिरहेका छन् । विराटनगरकी पुलदेवी मण्डल पनि कोरोनामुक्त भएर एक सातादेखि पोस्ट कोभिड उपचार केन्द्रको आईसीयूमा छिन् ।

संक्रमितको उपचार टोलीका संयोजक डा. मुक्ति आचार्यका अनुसार पछिल्लो समय कोरोना संक्रमित कोरोनामुक्त भए पनि फोक्सोमा समस्या देखिएर थप उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दो छ ।

संक्रमणमुक्त भएपछि केन्द्रमा थप तीन साता उपचार गराएर ५ जना डिस्चार्ज भएको उनले बताए । आईसीयूमा २२ जना र फोक्सो वार्डका आईसीयूमा १८ जना संक्रमणमुक्त भएका बिरामी उपचारार्थ छन् ।

‘उनीहरू सबै कोरोनामुक्त हुन्,’ आचार्यले भने, ‘निमोनियाका कारण फोक्सोमा उच्च संक्रमण देखिएकाले आईसीयूमा राखेर उपचार गर्नुपरेको हो ।’ सबैलाई अहिले पनि अक्सिजन दिनुपरेको छ । नोबेलमा बिहीबारसम्म ९ सय ६९ जना संक्रमित भर्ना भएको तथ्यांक छ । तीमध्ये १ सय ७५ जनाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । हाल अस्पतालमा ९० जना संक्रमित भर्ना छन् । ३९ जना आईसीयू, ५ जना भेन्टिलेटर र ४६ जना जनरल वार्डमा उपचारार्थ छन् ।

विराट शिक्षण अस्पतालमा पोस्ट कोभिड केन्द्रमा ६ जना कोरोनामुक्त बिरामी छन् । अस्पतालको तथ्यांक शाखा प्रमुख निरज श्रेष्ठका अनुसार ३८ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये २६ भेन्टिलेटर र १२ जना आईसीयूमा छन् ।

कोसी कोभिड अस्पतालमा ५३ र कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा ६२ जना संक्रमितको उपचार भइरहेको महानगर कोभिड प्रमुख हैदर अलीले बताए ।

प्रकाशित : असार ७, २०७८ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×