१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

घरभित्र पानी चुहिँदा सकस

राजबहादुर शाही

मुगु — बर्खामा पानी चुहिँदा सोरु गाउँपालिका–४, रावलबाडाका बिर्जन शाहीलाई घरभित्र बस्नै गाह्रो छ । एक सातादेखि उनको परिवारले राम्ररी सुत्नसमेत पाएको छैन ।

उक्त गाउँमा बिर्जनमात्र होइन, अन्य परिवार पनि यस्तै सकसमा छन् । पानी चुहिँदा दिनरात बिताउन निकै गाह्रो भएको स्थानीय बिर्ख शाहीले बताए । ‘घरमा पानी चुहिन थालेपछि ओढारमा गएर बस्नुपरेको छ,’ उनले भने, ‘भकारीमा राखेको अनाज कसरी जोगाउने भन्ने चिन्ताले पनि सताइरहन्छ ।’

गाउँमा ढुंगा र काठले बनाइएका कच्ची पुर्ख्यौली घरहरू छन् । ठूलो वर्षा हुँदा ती घरमा सहजै पानी चुहिन्छ । गाउँका करिब ३५ घरमध्ये झन्डै ९० प्रतिशत चुहिने गरेका स्थानीयवासीको भनाइ छ । यसले गर्दा गाउँलेको उठिबास भएको स्थानीय दानसिंह नेपालीले बताए । ‘केही मान्छेहरू जस्तापाताले छाएको स्कुलमा ओत लागेका छन् भने केही मान्छे नजिकका ओढारमा गएका छन्,’ उनले भने, ‘ओढारमा गएकालाई पनि पहिरोको डरले सताइरहेको छ ।’

परम्परागत घरको छतमा अनाज सुकाउन, चुट्न र अन्य काम गर्न सजिलो हुने भएकाले स्थानीयवासीको आकर्षण अझै पनि जस्तापाताका घरमा जान सकेको छैन । बर्खाको समयमा भने यी घरले त्रास दिने गरेका छन् । कर्णाली प्रदेश सरकार र संघीय सरकारले खरका छाना भएका कच्ची घर बनाउने नीति ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाल सरकारको आर्थिक सहयोगमा गत वर्ष जनता आवास कार्यक्रमअन्तर्गत मुगुमा ३ सय ५० घर बनेका छन् । बजेट अभावमा कार्यक्रम कार्यान्वयनको अवस्था नाजुक रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धराला बताउँछन् ।


प्रकाशित : असार ६, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?