कपुरकोट बजार जोखिममा

‘वर्षा सुरू भएसँगै आफ्नै घरमा बस्न छाडेका छौं’
विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र कपुरकोट बजार भासिँदै गएको छ । वर्षा सुरु भएसँगै सडक आसपासका घरहरू जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । 

कपुरकोट बजार जोखिममा

एक दशकअघि झरेको कपुरकोट बजारमुनिको खारा पहिरो अहिलेसम्म नियन्त्रणमा नआउँदा बर्सेनि जोखिम बढ्दै गएको हो । पहिरोकै कारण केही परिवार गत वर्ष नै विस्थापित भइसकेका छन् । अहिले बजारका दुई दर्जन घर जोखिममा परेको स्थानीय चन्द्रप्रकाश बुढाले बताए । ‘एकातिर वर्षायाम सुरु भयो, अर्कोतर्फ निरन्तर ठूला गाडी सडकमा गुड्दा सडकको भाग भासिँदै गएको हो,’ उनले भने, ‘वर्षा सुरु भएसँगै आफ्नै घरमा बस्न छाडेका छौं ।’ उनका अनुसार स्थानीयवासी भासिएका घरमा दिनभर व्यवसाय चलाएर राति अन्तै बास बस्न जाने गरेका हुन् ।

वर्षा लागेसँगै खाराभीरमा पहिरो खस्न सुरु भएको स्थानीय भीमबहादुर भण्डारीले बताए । सामान्य पानी पर्दासमेत नदेखिने गरी जमिन भासिन थालेकाले ठूलो क्षति हुने जोखिम छ । ६ वर्षअघि उनको पक्की घरसमेत भासिएको थियो । ‘यो वर्ष भर्खर वर्षा सुरु भएको छ, खासै पानी पनि परेको छैन,’ उनले भने, ‘तर घरहरू र सडकको केही भाग फेरि भासिएको अनुमान छ ।’

बस्तीदेखि करिव ४० मिटर दूरीमा रहको खारा पहिरोबाट निरन्तर माटो बगिरहन थालेपछि थप जोखिम रहेको स्थानीयको गुनासो छ । भण्डारीले पहिरोमा ४५ लाख रुपैयाँ लगानी गरेको घर भत्किए पनि क्षतिपूर्ति अझै पाउन नसकेको गुनासो गरे । उनले अहिले भाडाको कोठामा बस्दै आएको दुःखेसो पोखे । उनका अनुसार २०६८ देखि बर्सेनि सडक भासिँदै गएको हो ।

पहिरोका कारण बजार आसपासको सबैजसो खेतीयोग्य जग्गा बगाइसकेको स्थानीय रामबहादुर थापाले बताए । उनका अनुसार खारा पहिरोभन्दा मुनि पातुखोलाको मुहान भएकाले सामान्य वर्षा हुँदासमेत पहिरो खस्ने समस्या छ । ‘सामान्य पानी परे पनि कालो लेसिलो माटो जमिनमुनिबाट बगिरहने समस्या छ,’ उनले भने, ‘जसका कारण आसपासको सडक मात्र नभइ बजार बगाउने खतरा बढ्दै गएको छ ।’ उनले रातिको समयमा घर पछाडि जान डर लाग्ने गरेको सुनाए । पहिरोको जोखिम बढेपछि स्थानीय आसपासका क्षेत्रमा घाँस काट्नसमेत डराउन थालेको उनी बताउँछन् । उनले पहिरो नियन्त्रणका लागि बर्सेनि तारजाली राख्ने र बृक्षरोपण गर्ने गरिए पनि नियन्त्रण नहुँदा समस्या भएको जनाए ।

विगतमा भर्खर पहिरो गएको समयमा नियन्त्रणमा सम्बन्धित निकायले कम चासो दिएकोले क्षति बढ्दै गएको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । ‘बर्सेनि पहिरो नियन्त्रणका लागि बजेट विनियोजन गरिरहेका छौं तर पहिरोको आकार धेरै ठूलो हुँदा बजेट अपुग भइरहेको छ,’ उनले भने, ‘अब त हाम्रो प्रयासले मात्र पहिरो नियन्त्रणमा आउन समस्या हुने देखियो ।’ डिभिजन वन कार्यालयका प्रमुख रमेशकुमार गिरीले अहिले जिल्लामा भूसंरक्षण कार्यालयको काम सुर्खेतबाट भइरहेको बताए । उनका अनुसार कपुरकोट पहिरो नियन्त्रणको लागि गत वर्षदेखि कार्यालयमा बजेट आउन थालेको छ । गत वर्ष र यो वर्ष पहिरो नियन्त्रणका लागि झन्डै १ करोड रुपैयाँ खर्च गरिए पनि बजार सुरक्षित गर्न नसकिएको उनले गुनासो गरे ।

प्रकाशित : असार ६, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?